ghar sansar

सुदूरपश्चिममा उप निर्वाचन : माओवादी हात खाली, रास्वपाको जोगिएन जमानत

गोकुल जोशी
महेन्द्रनगर । सुदूरपश्चिमका ६ स्थानमा भएको स्थानीय तह उपचुनावमा नेकपा माओवादी केन्द्र हात खाली भएको छ । उपचुनाव भएका ६ स्थानमध्ये ०७९ को चुनावमा एउटा वडाध्यक्ष जितेको माओवादी केन्द्र उप चुनावमा भने शून्य भएको हो ।

सुदूरपश्चिमका ६ स्थानमा भएको स्थानीय तह उपचुनावमा नेपाली कांग्रेसले ५ स्थानमा जितेको छ । ०७९ को स्थानीय तह चुनावमा नेपाली कांग्रेसले उपचुनाव भएकामध्ये ४ स्थानमा मात्रै जितेको थियो ।

lotus institite

यद्यपि ०७९ मा जितेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष कांग्रेसले गुमायो । अघिल्लो हारको बदला लिँदै नेकपा एमालेले स्वामीकार्तिक खापरको उपाध्यक्ष जितेर एमाले खाली हात हुनबाट जोगियो ।

नेकपा एमालेकी सुलोचनकुमारी भण्डारी १७४० मतसहित दोस्रो प्रयासमा स्वामीकार्तिक खापरको उपाध्यक्ष बनिन् । कांग्रेसकी पुल्तीसरा शाहीले १४७४ र नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत ल्याइन् ।

नेकपा एमालेले ०७९ को स्थानीय तह चुनावमा जितेको बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षको सिट कांग्रेसले खोस्यो । यहाँ नेपाली कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतका साथ विजयी भए ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका लखीचन्द्र बोहराले ४८७ र नेकपा माओवादी केन्द्रका पुष्करबहादुर बोहराले १७ मत ल्याए । नेकपा माओवादी केन्द्रले जितेको दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्ष नेपाली कांग्रेसका धनसिंह कुँवरले ३७६ मतका साथ जिते ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका मानसिंह बडालले ३५८ र नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत मात्रै ल्याउन सके। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ र डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसले जित दोहो¥याएको छ ।

भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द ११०७ र पूवीचौकी गाउँपालिका–६ मा मोहन थापा ४६८ निर्वाचित भए । भीमदत्त–६ मा निकटतम प्रतिस्पर्धी एमालेका बहादुर चन्द ४८७ र पूर्वीचौकी गाउँपालिका–६ मा एमालेका देवबहादुर थापा ३०१ मतमा रोकिए ।

daimond public

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसकी टीकाकुमारी चौधरी भुल यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् ।

सुदूरपश्चिमका ५ स्थानका १३ जना उम्मेदवारको जमानत जफत भएको छ । ५ स्थानीय तहको उपचुनावमा २६ उम्मेदवार थिए । माओवादी केन्द्रका ३ र राष्ट्रिय स्वतन्त्र पार्टी २ उम्मेदवारको जमानत जफत भएको छ ।

माओवादी केन्द्रले बाजुराको स्वामीकार्तिक खापर बाहेक अन्य ४ स्थानमा उम्मेदवारी दिएको थियो । दार्चुलाको दुहुँ गाउँपालिका–५ मा मात्रै माओवादीको जमानत जोगिएको हो । रास्वपाले दुई स्थानमा उठाएका आफ्ना उम्मेदवारको जमानत जफत भएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा अध्यक्षकी उम्मेदवार बनेकी रास्वपाकी जानकी कुमारी खड्का कुँवरले ३१ मत मात्रै ल्याउन सकिन्। खसेको ८३९ मतमध्ये १३ मत बदर भएको थियो ।

जमानत फिर्ता पाउन सदर मतको १० प्रतिशत मत कटाउनु पर्छ । यहाँ ८२६ मत सदर थिए। पूर्वीचौकी गाउँपालिका–६ मा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत मात्रै ल्याएर जमानत बचाउन सकेनन् ।

बझाङको सुर्मा गाउँपालिका–४ मा नेकपा माओवादी केन्द्र उम्मेदवार पुष्करबहादुर बोहराको जमानत जफत भएको छ। बोहराले १७ मत मात्रै ल्याए। खसेको ११७८ मत ११६१ मत सदर थिए ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरको जमानत जफत भएको छ। ८५७ सदर मतमा उनले २५ मत मात्रै ल्याए ।

सबैभन्दा बढी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा ९ ना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ १२ जना उम्मेदवार थिए । खसेको २९९१ मतमध्ये सदर मत २९३७ थियो। निर्वाचन कार्यालयका अनुसार ५४ मत बदर थिए ।

नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, स्वतन्त्र थानेश्वर लेखक, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौरा, नेकपा माओवादी केन्द्रका नानाराम कोली, स्वतन्त्र युवराज चन्द, राप्रपा नेपालका दिलबहादुर धामी, नेमकिपाका दलबहादुर बोहरा र जनमत पार्टीका यादवबहादुर चन्दले जमानत जोगाउन सकेनन् ।

Himal dental
सम्बन्धित
Loading...