

महेन्द्रनगर । सत्तारुढ काँग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सबै वडामा वडा सम्मेलन गर्ने भएको छ । काँग्रेस कञ्चनपुरको पार्टी कार्यालयमा बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले निर्वाचन क्षेत्र नं. ३ का सबै ३० वडामा पुस २५ गतेभित्र वडा सम्मेलन गर्ने निर्णय गरेको हो ।
निर्वाचन क्षेत्र नं. ३ मा भीमदत्त नगरपालिकाका १९, दोधारा चाँदनीका १० र बेदकोट नगरपालिका ८ नम्बर नम्बर वडा पर्छन् । काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशव चन्दले काँग्रेस सय दिने साँगठनिक विशेष अभियान अन्र्तगत वडा सम्मेलन गर्न लागिएको बताए ।

‘कञ्चनपुरमा काँग्रेसको सय दिने साँगठनिक विशेष अभियान सञ्चालनमा छ, यस अन्र्तगत क्षेत्र नं. ३ का सबै ३० वडामा पुस २५ गतेभित्र सम्मेलन गर्ने निर्णय गरिएको छ’ क्षेत्रीय सभापति चन्दले भने ।


कञ्चनपुसरमा सय दिने अभियानको जिम्मेवारी केन्द्रीय सदस्य एबम् धनगढी उप महानगरपालिकाका निवर्तमान मेयर नृप बहादुर ओडलाई दिइएको छ । उनी केही महिनादेखि कञ्चनपुरमा छन् ।
काँग्रेसको १४ औं महाधिवेशनपछि वडा सम्मेलन गर्न लागिएका हुन् । दुई वर्ष अघि काँग्रेसको १४ औं महाधिवेशन भएको थियो । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ काँग्रेस केन्द्रीय सदस्य एबम् गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र हो ।
काँग्रेस क्षेत्रीय सभापति कार्यतालिका बनाएर सबै वडामा सम्मेलन गरिने बताए । ‘आज बैठकले वडा सम्मेलन गर्ने निर्णय गरेको छ, बैठकको निर्णयका आधारमा कार्यतालिका बनाएर वडा सम्मेलन गर्छौ’ उनले भने,‘पुस २५ गतेभित्र सबै वडाका सम्मेलन सक्ने गरी अघि बढ्छौ ।’

क्षेत्रीय सभापति केशव चन्दको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य ओड, प्रदेश सह महामन्त्री महामन्त्री गोपाल भट्ट लगायत वडा सभापतिहरु सहभागी भएका छन् ।
