
महाकाली नदी चार लेन पुल निर्माण ठेकेदार कम्पनीको दादागिरी, स्थानीयको दबाव भन्दै आफैैंले पहुँच मार्ग भत्काएपछि इन्जिनियर पक्राउ

महेन्द्रनगर । महाकाली नदीको चार लेन पुल निर्माण ठेकेदार कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले पहुँच मार्ग भत्काएपछि इन्जिनियर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ठेकदार कम्पनीका इन्जिनियर किशोर पाण्डेयको नेतृत्वमा पहुँच मार्ग भत्काएपछि उनी सहित दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएका इन्जिनियर पाण्डेय र अर्का अपरेटर दुबैलाई जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटासित छलफलपछि प्रहरी कार्यालयमा कागज गरी छाडिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले प्रशासन कार्यालयमा छलफल गरी प्रहरी कार्यालयमा ल्याएर कागज गरी दुबै जनालाई जिम्मा लगाएको बताए । ‘त्यहाँबाट ल्याएपछि प्रशासन कार्यालयमा छलफल गरी यता(प्रहरी कार्यालय) ल्याएर जिम्मा लगाएका छौ’ प्रहरी नायब उपरीक्षक जोशीले भने ।प्रशासन कार्यालयमा छलफलपछि इन्जिनियर पाण्डेयले स्थानीयको दबावमा पहुँच मार्ग खनेर भत्काएको बताए ।
‘स्थानीयबाट धेरै दबाव आयो, त्यसपछि हामी आफंैले सडक खनेर अवरुद्ध गर्न खोजेका हौ’ इन्जिनियर पाण्डेयले भने ।

कुमार सिएफईसी जोईन्ट भेन्चरले तीन वर्षमा महाकाली नदी र पहुँच मार्ग निर्माण कार्य पूरा गर्ने सम्झौता गरी २०७४ मा पुल निर्माणको ठेक्का लिएको थियो । सम्झौता अनुसार तीन वर्षको काम पूरा नभएपछि पटक पटक ठेक्का म्याद थप भएर फेरि म्याद थप प्रक्रिया अघि बढेको छ ।
ठेक्काको फेरि म्याद थप प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनी आफैंले पहुँच मार्ग भत्काएर निर्माण पुल निर्माण कार्यमा अवरोध गर्ने अवस्थामा पुगेको हो ।
पुल निर्माण ठेक्का सम्झौतापछि ठेकेदार कम्पनी आफैंले पुल निर्माणमा अवरोध गर्न खोजेको हो । पुल निर्माण कार्य अन्तिम चरणमा भएको महाकाली पुल आयोजानका अधिकारीहरु बताउँछन् ।
आयोजना कार्यालयका अधिकारीहरुका अनुसार पुल निर्माणको चौथो भेरिएसन स्वीकृत गराउन दबावका लागि पहुँच मार्ग भत्काएको आशंका गरेका छन् ।
यस अघि ठेकेदार कम्पनीले तीन पटक भेरिएसन गरि सकेका छन् । ठेकेदार कम्पनीले पुस गते पुल बन्द गर्ने चेतावनी दिएको थियो ।
त्यसपछि ९ पुष ०८१मा महाकाली पुल योजना कार्यालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्र पठाउँदै गड्डाचौकीमा सडक अवरोध भएकाले सहजिकरणका लागि पत्राचार गरिएको थियो ।
