

महेन्द्रनगर । ‘यो गुन र सम्मानका लागि म सधैं आभारी हुनेछु, म यहीं संस्थाबाट अघि बढेर यहाँसम्म पुगेको हुँ, आज अभिनन्दन हुनु पाए ।’
निजी तथा आवाशीय विद्यालय संगठन (प्याब्सन) कञ्चनपुरको १९ औँ वर्षिक साधारण सभा तथा १५ औँ अधिवेशन उद्घाटन समारोहमा अभिनन्दनपछि सुदूरपश्चिम प्रदेश सरकार नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्दले मन्तव्यका क्रममा माथिको धारणा राखेका हुन् ।
प्याब्सन केन्द्रीय सल्लाहकार चन्दलाई उद्घाटन समारोहमा प्रदेश सरकारको नीति तथा योजना आयोगको सदस्य भएर महत्वपूर्ण जिम्मेवारी पाएको भन्दै अभिनन्दन गरिएको छ । कार्यक्रममा प्याब्सन निवर्तमान अध्यक्ष भट्टले उनलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरी सम्मान गरे ।
अभिनन्दन गरिएका डा. चन्दले प्रमुख अतिथिको रुपमा मञ्चमा मन्तव्य राख्ने क्रममा प्याब्सनका कारण आफू प्रदेश सरकारको नीति योजना आयोगसम्म पुगेको बताए ।

‘म यहाँसम्म पुग्नमा प्याब्सनको ठूलो भूमिका छ, म अरु पनि धेरै संघसंस्थामा जोडिएको छु’ उनले भने,‘निजी क्षेत्रबाट अघि बढेर यहाँसम्म पुगे, अहिले राज्यको जिम्मेवारी छु, मेरो अझै पनि यो क्षेत्रसित उत्तिक्कै सम्बन्ध छ, लगाव छ, म यस क्षेत्रका लागि सक्दो सहयोग गर्छु ।’
सुदूरपश्चिम प्रदेश सरकारले केही दिन अघि चन्दलाई नीति योजना आयोग सदस्यमा नियुक्त गरेको हो । एमाले राजनीतिमा सक्रिय उनी गड्डाचौकीस्थित डाईमण्ड एकेडेमीका सञ्चालक हुन् । उनी २९ वर्षदेखि विद्यालय सञ्चालन गर्दै आएका छन् ।
भारत उत्तराखण्डको कुमाउँ विश्व विद्यालयबाट गत वर्ष राजनीति शास्त्रमा विद्यावारिधि (पिएचडी) गरेका उनी ५ विषयका स्नातकोत्तर हुन् । समाजशास्त्र, शिक्षाशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र र योग विज्ञानमा स्नातकोत्तर गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट बिएड र कानूनमा एलएलबी अध्ययन गरेका छन् । प्याब्सन कञ्चनपुरको सदस्य हुँदै जिल्ला र प्रदेश नेतृत्व गर्दै उनी दुई कार्यकाल उपाध्यक्ष भएका थिए । हाल उनी प्याब्सन केन्द्रीय सल्लाहकार छन् ।
शिक्षण बाहेक डा. चन्द सामाजिक सेवा आवद्ध संघ संस्थामा पनि आवद्ध छन् । लाइन्स क्लब अफ महाकाली सिटी, एमनेष्टी इन्टरनेशनल शुक्लाफाँटा ग्रुप ७४ को नेतृत्व गरेका उनी समाज कल्याण अञ्चल बाल अनाथालयका उपाध्यक्ष छन् ।
प्रदेश सरकार नीति तथा योजना आयोग सदस्य भएपछि डा. चन्दले जिम्मेवारीलाई आफ्नो क्षमताका पूर्ण प्रयोग गरी पूरा गर्ने बताए । ‘यो जिम्मेवारीलाई आफ्नो बुद्धि, विवेक र बर्कतले भ्याएसम्म कुशलतापूर्वक निर्वाह गर्ने छु’ डा. चन्दले भने ।
