

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले महेन्द्रनगरमा एक जत्थाले व्यवसायीहरुलाई निरुत्साहित पारेको बताएका छन् ।
शुक्रबार संविधान चोकमा सिजी मोटर्सले एक्स्ट्रिम सिरिज अन्तर्गत आयोजना गरेको दुई नयाँ ब्राण्डका मोटरसाइकल सार्वजनिक कार्यक्रममा मेयर बोगटीले व्यवसायीका लागि केही गर्न नदिने गरी जत्था लागि परेको बताएका हुन् ।

मेयर बोगटी कार्यक्रममा प्रमुख अतिथि थिए । उनले व्यवसायीलाई काम गर्न दिनु पर्ने उल्लेख गर्दै आफूले सक्दो सहयोग गर्ने बताए ।
पछिल्लो समय व्यापार व्यवसाय धराशायी बन्दै गएको उल्लेख गर्दै उनले कुनै पनि बहानामा व्यवसायमा अवरोध हुनु नपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, बेदकोट नगरपालिकाका नगर प्रमुख भोज बोहरा, भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशी, होटेल ओपेराका सञ्चालक खगेश्वर बोहरा, सिजी मोटर्सका प्रतिनिधि लगायत सहभागी भए ।
