
महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनीको पोस्टमार्टम रिपोर्ट आएको छ । नगर सभापति कलौनी गत शनिवार बिहान मृत फेला परेका थिए ।
पोस्टमार्टम रिपोर्टमार्फत घटनाको सत्यतथ्य सार्वजनिक हुने अपेक्षा गरिएका बेला पोस्टमार्टम रिपोर्टमा नै मृत्युको ठोस कारण खुल्न नखुलेको प्रहरीले बताएको छ । भीमदत्त नगरपालिकाको मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो ।
शुक्रवार राति ९ः३३ बजेसम्मको सीसीटीभी फुटेजमा देखिएका कलौनी त्यसको केही मिटर पर मृत फेला परेका थिए । परिवारका सदस्यहरूले उनको हत्या भएको आशङ्का गरेका छन। प्रहरीले भने विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
घटना हुनुभन्दा केही समयअघि कलौनी अस्पतालमा ग्यास्टिकको औषधि लिन गएको प्रहरीले ठहर गरेको थियो। उनको साथमा प्रहरीले औषधि पनि भेट्टाएको थियो । मृत फेला परेका कलौनीको बाहिर चोट देखिएको थिएन। पोस्टमार्टम रिपोर्टमा भित्री चोट पनि नदेखिएको प्रहरीको भनाइ छ।
घटनाको भोलिपल्टै भेरी अस्पताल नेपालगञ्जका फरेन्सिक विज्ञसहितको डाक्टरको टोलीले कञ्चनपुर पुगेरै पोस्टमार्टम गरेको थियो । त्यसको रिपोर्ट आज आएको छ। रिपोर्टमा भित्री बाहिरी चोट नदेखिएको, तर ‘अक्लुजन’का कारण मृत्यु भएको हुनसक्ने सङ्केत गरेको छ। ठोस कारण भने रिपोर्टमा छैन ।
पोस्टमार्टमको रिपोर्टबाट मात्रै घटनाको तथ्य सार्वजनिक हुन नसकेपछि प्रहरीले मुटुको थप परीक्षण गर्ने तयारी गरेको छ । कलौनीको मुटु परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने भएको छ ।
त्यस्तै नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगञ्जमा भिसेरा परीक्षणको तयारी गरिएको छ। कलौनीले प्रयोग गर्दै आएको मोबाइल अझैसम्म प्रहरीले फेला पार्न सकेको छैन ।
