

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशी धेरै दिनपछि एकै मञ्चमा देखिएका छन् । भीमदत्त नगरपालिका ३ भाँसीस्थित मोडर्न पब्लिक स्कुलको ३३ र्औ वार्षिकोत्सव समारोहमा दुबै जना सहभागी भएका छन् ।
मेयर पदम बोगटी प्रमुख र उप मेयर जोशी विशिष्ट अतिथिका रुपमा मञ्चमा सहभागी भए । मञ्चमा प्रमुख अतिथि बोगटीपछि उप मेयर जोशीलाई आशन ग्रहण गराइएको थियो ।

कार्यक्रम मेयर बोगटी र उप मेयर जोशीसंगै भीनपा ३ का वडा सदस्य मिना कुँबर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशी, सामाजिक अभियन्ता कृष्णदत्त जोशी बोक्सर, शारदा विद्यापिठका हरिलाल जोशी, समाजसेवी लिलाध्वज वस्नेत, एमाले नेता रबिन्द्र कुँबर, महेन्द्रनगर मावि साधारणका अध्यक्ष विरेन्द्रराज विष्ट, उदयदेब बहुउद्देशीय सहकारी संस्था लि. का प्रमुख कार्यकारी गणेश बहादुर चन्द, महेन्द्रनगर मावि कटानका पूर्व प्रधानाध्यापक चन्द्रकला पन्त लगायत सहभागी भए ।

गत महिना डडेल्धुराको परशुराम नगरपालिकामा भएको मेयर सम्मेलनपछि भीमदत्तका मेयर र उप मेयर एक साथ कार्यक्रममा देखिन छाडेका थिए । भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार बम सहित केहीलाई बोकेर मेयर बोगटी परशुराम गएका थिए ।
उप मेयर जोशीले नगरपालिका कार्यालयको जिम्मेवारी भएकाले आफू सम्मेलनमा सहभागी नभएको बताएकी थिइन् ।
केही दिन अघि मेयर बोगटीको अध्यक्षतामा गरिएको महाकाली बहुप्राविधिक शिक्षालयको कार्यक्रममा उप मेयर जोशी ढिलो सहभागी भएर केही छिनमै बाहिरिएकी थिइन् । शिक्षालयमा उनी उपाध्यक्ष छन् ।
शिक्षालयको कार्यक्रममा उप मेयर जोशीले पुरस्कार वितरण गरेकी थिइन् । दुई महिना अघि भीमदत्त नगरपालिकामा उप मेयर जोशीको अध्यक्षतामा गरिएको उद्यमशिलाता हस्ताक्षर कार्यक्रममा मेयर बोगटी अनुपस्थित भएका थिए । कञ्चनपुर उद्योग बाणिज्य संघ सम्झौता पत्रमा हस्ताक्षर नगरी बाहिरिएको थियो ।
