
बेदकोटमा काँग्रेस कार्यकर्तालाई अवैध रुपमा कर्मचारी नियुक्त गरिएको भन्दै एमाले आक्रोशित, आन्दोलनको चेतावनी सहित मागियो विवरण

महेन्द्रनगर । नेकपा (एमाले) बेदकोट नगर कमिटीले बेदकोट नगरपालिकामा आठ जना कर्मचारी प्रक्रिया बिनै नियुक्त गरिएको भन्दै सूचना माग गरेको छ ।
पार्टी कमिटीले हालै वेदकोट नगरपालीकाले बिना सुचना र बिना कुनै प्रक्रिया पूरा नगरी एकै पटक ८ जना कर्मचारी विभिन्न पदमा नियुक्त गरेको भन्ने सुन्नमा आएकोले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विधि र प्रकृया बिना नै मनपरी तरीकाले नगरपालीकाको आर्थिक भार बढ्ने गरी पार्टी कार्यकर्ताको भर्नामा पार्टीलाई स्वीकार्य नभएको भन्दै नगर कमिटीले नगरपालिकालाई उक्त विषयमा वास्तविक सूचना माग गरेको हो ।

नेकपा (एमाले) बेदकोट नगर कमिटी अध्यक्ष हरी गिरीले नगरपालिकाले प्रक्रिया बिनै मनपरि ढंगले कर्मचारी नियुक्त गरेको भन्दै गत शुक्रबार त्यसको सूचना माग गरिएको बताए ।
कमिटीले माग गरेको सूचनामा ’वेदकोट नगरपालीकामा यस्तो मनपरीतन्त्र के आधारमा चलिरहेको हो ? कार्यालय प्रमुखले धमाधम कुनै पार्टीका कार्यकर्तालाई नियुक्ति दिइरहेको सन्दर्भमा हाम्रो के वहा राणा सासन कालको बडा हाकिम हो ? हुकुमी तन्त्र चलाउन खोजोको हो ? कर्मचारी आवश्यकता सम्बन्धि नगर परीषदको निर्णय छ कि छैन ? आवश्यक कर्मचारी भर्नाका लागि सावर्जानीक सुचना आह्वान गरीएको छ कि छैन ? कर्मचारी भर्ना सम्बन्धि नियमावली र प्रकृया के हो ? २०७९ देखि हालसम्म कति र कुन कुन पदमा कुन विधि र प्रकृयाद्वारा कर्मचारी भर्ना गरीएको छ ? यथार्थ जानकारीको लागि माग गर्दछौं । सत्यतथ्य र यथार्थमा आधारीत सुचनाको अपेक्षा गरेका छौं । झुट्टा, टालटुले र कपोकल्पित सुचना दिएमा र यथार्थतालाई बङ्ग्याउन खोजेमा नगरपालीकाले गम्भीर मूल्य चुकाउनु पर्नेछ भन्ने चेतावनी समेत यसै मागपत्र मार्फत जानकारी गराउन चाहान्छौ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
