ghar sansar

जबरजस्ती समिति घोषण गरिएको भन्दै एमालेको प्रेस चौतारीमा चर्कियो विवाद, अध्यक्षका उम्मेदवार पन्तद्वारा अस्वीकार, सचिवका उम्मेदवार ओझाको चौतारीमै नबस्ने घोषणा

khasi

महेन्द्रनगर । निर्वाचन समितिले जबरजस्ती नयाँ समिति घोषणा गरेपछि एमाले सम्बद्ध प्रेस चौतारी कञ्चनपुरमा विवाद चर्किएको छ । तीन दिन अघि सुरु चौतारीको आठौं जिल्ला अधिवेशनमा नेतृत्वमा सहमति हुन नसकेपछि एमाले कञ्चनपुरको प्रचार विभागले हस्तक्षेप गरी नयाँ समिति घोषणा गरिएको छ । प्रचार विभागले प्रचार विभाग अध्यक्ष मण्डलसित बसेर नयाँ समिति बनाएर निर्वाचन समिति मार्फत घोषणा गरिएको बताइएका छ ।

नयाँ समिति घोषणामा चौतारीको अध्यक्षका दाबेदार लक्ष्मण पन्तले असहमति राखेका छन् । उनले आफूले उम्मेदवार फिर्ता नलिई जबरजस्ती समिति घोषणा गरिएको बताए । ‘मैले अझै पनि उम्मेदवारी फिर्ता लिएको छैन, जबरजस्ती घोषणा गरिएको छ, यो मलाई मान्य छैन’ उनले भने ।

पन्त चौतारीका निवर्तमान अध्यक्ष हुन् । निवर्तमान समिति मदन गिरी र पन्त अध्यक्षका उम्मेदवार थिए । उनीहरुबीच सहमति जुटाएर नेतृत्व चयनका लागि मंगलबार उद्घाटनपछि पटक पटक छलफल गरिएको थियो ।

बुधबार दिनभर एमाले पार्टी कार्यालयमा सहमतिको प्रयास गरिएको थियो । निर्वाचन अध्यक्ष मण्डलले सहमति जुटाउन नसकिएपछि निर्वाचन समितिलाई जिम्मा दिएको थियो । त्यसपछि निर्वाचन समिति बिहीबार विहान ८ बजेदेखि चुनाव हुने भन्दै पार्टी कार्यालयबाट बाहिरिएको थियो ।

चुनाव गर्ने भन्दै बाहिरिएको समितिले बिहीबार एकाएक मदन गिरीको अध्यक्षतामा समिति घोषणा गरेपछि चौतारीमा व्यापक असन्तुष्टि देखिएको छ । चौतारीका निवर्तमान सह सचिव दिनेशराज ओझाले चौतारी छाडेको बताएका छन् । उनले विहान निर्वाचन समितिलाई पत्र पठाउँदै एकलौटी रुपमा समिति घोषणा गरिए मान्य नहुने बताएका थिए ।

ओझा पनि अध्यक्षका दाबेदार थिए । अध्यक्षका दुई जनाबीच सहमति गराउन उनलाई सचिव पदमा उम्मेदवारी दिन लगाइएको थियो । सचिवका उम्मेदवार ओझाले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् ।

‘म अहिले घरमा छु, नयाँ समिति चयन भयो भन्ने सुने, मलाई यसबारे केही थाह छैन’ उनले भने,‘यो एकलौटीको विरोध हुन्छ, यस्तो संगठनमा बस्नु भन्दा नबस्ने निर्णय लिँदैछु ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि पन्तलाई चौतारीको अध्यक्ष बनाइएको थियो । सातौ अधिवेशनमा पन्त नेतृत्वमा सर्वसम्मत समिति गठन गरिए पनि आठौंमा उनलाई कुनै पनि हालतमा अध्यक्षमा रोक्न एमाले कञ्चनपुरको नेतृत्व सुरुदेखि लागेको थियो । त्यसको जिम्मा एमाले प्रचार विभाग प्रमुख जनकराज अवस्थीलाई दिइएको थियो । अवस्थीले पार्टी निर्देशन अनुसार गिरीको नेतृत्वमा सहमति गराउन उद्घाटनपछि सक्रियता देखाएका थिए । एमाले कञ्चनपुरलाई चौतारीका केही केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले पनि साथ दिएका थिए ।

dirghayi clinic

चौतारीका केन्द्रीय अध्यक्ष वस्नेतले पन्तलाई साथ दिए । उनले अनौचारिक रुपमा पन्तको नेतृत्वमा समिति बनाउन निर्देशन दिएका थिए । चौतारीका एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष बस्नेतले पन्त बाहेक अन्यलाई अध्यक्ष बनाए अनुमोदन नगर्ने चेतावनी दिएका थिए ।

अध्यक्ष बस्नेतको चाहना अनुसार अध्यक्ष मण्डलले मंगलबार राति पन्तको नेतृत्वमा समिति बनाएको थियो । त्यसमा केही केन्द्रीय सदस्य र प्रचार विभाग प्रमुखले असन्तुष्टि जनाएपछि घोषणा रोकिएको थियो ।

चौतारी अध्यक्ष बस्नेतले पन्त नेतृत्वको समितिले महासंघ निर्वाचनमा चौतारीलाई जिताएको र उनी आफू पनि शोकमा भएकाले एक पटक मौका दिनु पर्ने पक्षमा उभिएका थिए । केन्द्रीय अध्यक्ष बस्नेतको निर्देशनपछि चौतारीका सुदूरपश्चिम इन्चार्ज लोग्श्वरी कुँबरले पनि पन्त नेतृत्वमा सहमति गरी समिति बनाउन एमाले कञ्चनपुरका नेताहरुसित पहल गरेकी थिइन् ।

कञ्चनुर एमालेमा स्थायी कमिटी सदस्य कर्ण थापा समूह हाबी छ । एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनपछि लेखराज भट्ट र दामोदर भण्डारीका दुई छुट्टै गुट बनेपछि दुबै समूह निरीह छन् । कञ्चनपुर एमालेको पदाधिकारीमा अशोक कुमार चन्द मात्रै भट्ट र भण्डारी समूहका छन् ।

कञ्चनपुर इन्चार्ज निरुदेबी पाल, अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्ष अवस्थी, सचिव पल्लवराज भट्ट र उप सचिव राजीब खड्का सबै थापा समूहमा छन् । कञ्चनपुर एमालले पालले थापा समूहको नेतृत्व गर्छिन् । कञ्चनपुरमा अर्को समूहको नेतृत्व सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले गरे पनि प्रदेश अधिवेशनपछि रावल मौन छन् ।

चौतारीको अधिवेशन उद्घाटन एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले गरेका थिए । त्यसमा रावल लगायतका नेता सहभागी भएनन् । पछिल्लो पटक पन्तलाई रावल समूह नजिक भएको आरोप लागेको थियो । अधिवेशन उद्घाटनमा लेखराज भट्टलाई प्रमुख अतिथि बनाएपछि उनीमाथि थापा समूह झन कडा हुन पुगेको नेताहरु बताउँछन् ।

एमाले कञ्चनपुर इन्चार्ज पालले पन्तलाई मनाएर गिरीको नेतृत्वमा समिति घोषणा गर्न प्रचारु विभागलाई निर्देशन दिएको नेताहरु बताउँछन् । एमाले कञ्चनपुुर अध्यक्ष बुढाले पनि चौतारी नेतृत्व चयनको जिम्मा प्रचार विभागलाई दिएको बताएकी थिइन् ।

चौतारीका केन्द्रीय सदस्य राजेन्द्र सिह धामीको अध्यक्षतामा निर्वाचन समितिले बिहीबार दिउँसो नयाँ समिति घोषणा गरेको छ ।
नयाँ समितिको अध्यक्षमा मदन गिरि, उपाध्यक्ष भुपाल केसी, उपाध्यक्ष लक्ष्मी सेठ्ठी सचिव धन बहादुर बोहरा, सह सचिव माधव पौडेल, सह सचिव बिमल बिक कोषाध्यक्ष – भवानी दत्त भट्ट (भुवन) चयन भएका छन् ।

यसैगरी सदस्यमा पवन जोशी, सुरेश भट्ट,गणेश जोशी, बिरेन्द्र बाग, सन्तोष धानुक छन् । अध्यक्षका उम्मेदवार पन्त सहित धन बहादुर बिक, यमकला पाण्डेय प्रदेश सदस्य भएका छन् । चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष राजेन्द्र बिष्ट, सुरेश धामी र महेश्वरी जोशी (माया) केन्द्रीय प्रतिनिधि भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...