

महेन्द्रनगर । कञ्चनपुर एमालेका नेताहरुलाई अहिले भ्याइ नभ्याई छ । एमालेका सबै नेताहरु तीन महिने महिने जरा अभियान अन्र्तगत पार्टी प्रशिक्षण, भेला, बैठक अधिवेशनमा व्यस्त छन् । एमाले वडादेखि केन्द्रीय कमिटी सदस्यसम्म सबै नेता जरा अभियान संलग्न छन् ।
एमालेले टोल टोलमा पार्टी संगठनलाई सुदृढ बनाउने तीन महिने जरा अभियान सञ्चालन गरेको छ । एमाले केन्द्रीय कमिटी सदस्यले जरा अभियानको नेतृत्व गरेका छन् । पार्टी प्रशिक्षणमा एमाले स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्यसम्म सहभागी छन् ।
जरा अभियान अन्र्तगत बेदकोट नगरपालिकामा नगर स्तरीय प्रशिक्षण सकिएको छ । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य कञ्चनपुर इन्चार्ज निरुदेबी पाल, केन्द्रीय सदस्यद्वय नर बहादुर धामी र कृपाराम राना, सुदूरपश्चिम प्रदेश कमिटी कमिटी सदस्यद्वय रामसिंह धामी र पार्वती जोशी, जिल्ला कमिटी अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लबराज भट्ट र अशोक चन्द लगायत नेताहरु सहभागी भए ।

कार्यक्रममा सदस्यताको अनलाइन अपडेट, सूचना प्रविधि र यसको उपयोग, समावेशी सिद्धान्त, कम्युनिष्ट आन्दोलनको इतिहास र हाम्रो दायित्व, जनताको बहुदलीय जनवाद, राजनीतिक दलहरूको तुलनात्मक अध्ययन र शक्ति सन्तुलन, राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थिति, माक्र्सवादी, लेनिनवादी विश्व दृष्टिकोण र नेपाली समाजको अध्ययन, पार्टी र जननिर्वाचितहरूको अन्तरसम्बन्ध, बेदकोटको विकासमा पार्टीको भूमिका, राजनीतिक सन्दर्भ, बेदकोटको कम्युनिष्ट आन्दोलनको इतिहास र हाम्रो अभिभारा लगायतका विषयमा प्रशिक्षण दिइएको छ ।
एमालेमा जरा अभियान सुरु भएपछि नेता कार्यकर्ताको असन्तुष्टि पनि बाहिर आउन थालेका छन् । प्रेस चौतारीको आठौं अधिवेशनमा जबरजस्ती समिति घोषणा गरिएपछि चौतारीका निवर्तमान सह सचिव दिनेश राज ओझा संगठन छाडेर बाहिरिएका छन् । उनले मिसन ८४ मा आफ्नो शक्ति देखाउने चुनौती एमालेलाई दिएका छन् ।
चौतारीका सबैभन्दा पुराना ओझाले सचिवमा उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता नगरी समिति घोषणा गरिएपछि उनी असन्तुष्ट छन् । चौतारीको अध्यक्षका उम्मेदवार लक्ष्मण पन्त आफैं असन्तुष्ट छन् । प्रदेश सचिव बनाउने भन्दै अध्यक्ष बाहिर राखिएका उनलाई प्रदेश अधिवेशनबाट कोषाध्यक्ष बनाइएको छ ।
पन्तलाई कोषाध्यक्षमा रोक्न एमालेका केही नेताले कार्यकर्ता खटाएका थिए । उनलाई प्रदेश कोषाध्यक्षमा पनि रोक्न अन्तिमसम्म प्रयास गरिएको थियो । उम्मेदवार नपाएपछि पन्तलाई कोषाध्यक्ष बनाएको छ ।

चौतारीका निवर्तमान अध्यक्ष पन्तलाई दोहोरिन नदिन एमाले जिल्ला नेतृत्वले पन्त विरुद्ध केही महिनादेखि मोर्चाबन्दी गरेको थियो । त्यसका लागि एमाले प्रचार विभाग प्रमुख र चौतारीका केही नेतालाई जिम्मेवारी दिइएको थियो ।

प्रेस चौतारी कञ्चनपुरका पूर्व अध्यक्ष कर्ण बहादुर चन्दले जरा अभियानको सामािजक सञ्जालमा कटाक्ष गरेका छन् । उनले जरा अभियान भारतीय सीमावर्ती सहर पिलभितसम्म फैलिएको भन्दै फेसबुकमा लेखेका छन् ।
भूमि आयोगको अध्यक्ष हुन नसकेपछि चन्द असन्तुष्ट छन् । एमाले जिल्ला कमिटीले भूमि आयोग अध्यक्षका लागि चन्द सहित सात जनाको नाम पठाएको थियो । एमालेले ती सात जनालाई वेवास्ता गरी जिल्लाबाट सिफारिश नभएका नेत्रप्रकाश पन्तmाई अध्यक्ष बनाएको छ ।
माओवादी पृष्ठभूमिका पन्तलाई एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले अध्यक्ष बनाएका हुन् । एमाले केन्द्रीय सचिव भएका भट्ट अध्यक्ष ओलीसम्म पहुँच भएका नेता हुन् ।
भट्ट अघि एमाले पोलिटब्युरो सदस्य एबम् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले डा. हिरा चन्दलाई सुदूरपश्चिम नीति तथा योजना आयोग सदस्य बनाए । पूर्व मुख्यमन्त्री रावलले चन्दलाई आयोग अध्यक्ष बनाउन सहयोग गर्ने एमाले नेता कार्यकर्ताको अपेक्षा थियो ।
एमाले नवौ जिल्ला अधिवेशनमा सचिवका उम्मेदवार चन्द सहमतिपछि पछि हटेका थिए । उनलाई रावलले राजनीतिक नियुक्ति दिलाउने आश्वासन दिएर जोगबुडा लगेर अध्यक्ष ओलीलाई भेट गराएका थिए ।
एमाले इन्चार्ज भट्ट र पोलिटब्युरो सदस्य रावल प्रदेश अधिवेशन अघि एकै गुटमा थिए । अहिले भट्ट र रावलको छुट्टाछुट्टै गुट छन् । एमाले जिल्ला कमिटी कर्ण थापाको बर्चश्व छ । राजनीतिक नियुक्तिमा थापा गुट कमाजोर बनेको छ । रावल र भट्ट दुबै महासचिव ईश्वर पोखरेल नजिकका हुन् ।
चन्द एमालेमा २०४८ देखि सक्रिय छन् । एमाले आठौ अधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उप सचिव भएका उनी भूमि आयोग अध्यक्ष नभएपछि असन्तुष्ट छन् । चौतारीको पूर्व अध्यक्ष चन्द चौतारीको आठौं अधिवेशनमा समेत सहभागी भएनन् ।
चौतारीमा दुई दिनसम्म सहमति नभएर अन्यौल बढेपछि चन्दले लुट्नेहरु संगठनम हावी भएर चौतारी बर्बाद हुन लागेको फेसबुकमा पोष्ट गरेका थिए ।
