

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली विद्युत लाइन नआएपछि मन्तव्य रोकेर मञ्चबाट आशनमा फर्किएका छन् ।
प्रधानमन्त्री ओलीले विश्वविद्यालय कुलपतिको हैसियता समारोहलाई सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले सम्बोधन गरेको झण्डै आधा घण्टापछि विद्युत लाइन गएको थियो । त्यसपछि केही समय मञ्चमा उभिएका प्रधानमन्त्री ओली विद्युत नआएपछि मञ्च फर्किएका हुन् ।

प्रधानमन्त्री ओली मञ्चबाट आशनमा फर्किएपछि जेनेरेटर सञ्चालन गरी विद्युत आपूर्ति गरिएको थियो । जेनेरेटर चलाएर विद्युत आपूर्ति भएपछि प्रधानमन्त्री ओलीले फेरि मञ्चमा फर्किएर उपकुलपति डा. हेमराज पन्तलाई समारोहको बाँकी कार्यक्रमको अध्यक्षता हस्तान्तरण गरे ।

‘म यो बाँकी कार्यक्रमको अध्यक्षतामा यस विश्वविद्यालयका उपकुपतिज्यूलाई हस्तान्तरण गर्न चाहन्छु’ प्रधानमन्त्री ओलीले भने ।
उपकुलपतिलाई अध्यक्षतामा हस्तान्तरण गरी उनी समारोहबाट बाहिरिएका छन् । प्रधानमन्त्री ओली महेन्द्रनगरबाट धनगढी प्रस्थान गर्ने कार्यक्रम छ । धनगढीमा उनले सुदूरपश्चिम प्रदेश सभालाई विशेष सम्बोधन र धनगढी सभा गृहको उद्घाटन गर्ने कार्यक्रम छ ।
विश्वविद्यालय दीक्षान्त समारोहमा प्रधानमन्त्रीको सम्बोधनका क्रममा बत्ती गएर मन्तव्य रोकिनु राम्रो नभएको एमाले केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य ईश्वरी प्रसाद खरेलले बताए । ‘प्रधानमन्त्रीज्यू सहभागी हुने कार्यक्रम व्यवस्थित हुनु पथ्र्यो, यो अवस्था आउने कार्य राम्रो भएन’ उनले भने ।
प्रधानमन्त्री ओली दीक्षान्त समारोहमा आउन अघि विश्वविद्यालयमा सत्तारुढ काँग्रेस सम्बन्ध प्राध्यापक आन्दोलित भएका थिए । प्रधानमन्त्री ओलीले केन्द्रीय कार्यालयको नव निर्मित भवन उद्घाटन गर्ने कार्यक्रम विरुद्ध उनीहरु उभिएका थिए । उनीहरुले विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार दुबैलाई कार्यकक्षमा थुनेका थिए ।
प्राध्यापकहरुको विरोधपछि भवन निर्माण कार्य स्थगित गरिएको छ । विश्वविद्यालय केन्द्रीय कार्यालयमा दीक्षान्त समारोह गरिएको छ । समारोह व्यवस्थापन सन्तोसजनक नभएको सहभागीहरुले बताए ।
