
बेलडाँडीमा उपाध्यक्ष नाथले टारिन् ठूलो संकट

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकास्थित श्री रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्रवेशद्वार नजिकै ढलेर अर्को रूखमा अड्किएको ठूलो सालको रूख हटाउन छ महिनाभन्दा बढी समय लागेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भएकाले क्याम्पस प्रशासन, बेलडाँडी गाउँपालिका लगायतका निकायले पटक–पटक अनुरोध गरे पनि निकुञ्जबाट रूख हटाउन कुनै चासो दिइएको थिएन ।
चौतर्फी दबाबपछि अन्ततः निकुञ्जका प्रतिनिधि, उपभोक्ता गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, क्याम्पस प्रशासन, सुरक्षाकर्मी, पत्रकार, विद्युत् प्राधिकरणका कर्मचारी, व्यवसायी र स्थानीय नागरिकहरूको उपस्थितिमा आइतबार साँझ उक्त अड्किएको रूख व्यवस्थित ढङ्गले काटेर ढालिएको छ ।


सोमबार उक्त रूखको नाप जाँच गरी आवश्यक व्यवस्थापन गरिने बताइएको छ । उक्त काठ भने निकुञ्जले नै जिम्मा लिने छ । रूख व्यवस्थापनका लागि बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले नेतृत्व गरेकी थिइन् ।
रूख काट्ने कार्यमा तत्काल रु. २५ हजार खर्च भएको र उक्त रकम क्याम्पसले बेहोर्ने भद्र सहमति भएको छ । उक्त रूखको काठ क्याम्पसमा निर्माणाधीन भवनका झ्याल, ढोका तथा फर्निचरका लागि उपयोग गर्न निकुञ्जसँग माग गरिएको क्याम्पस प्रमुख प्रयागराज जोशीले जानकारी दिए ।

इन्धन खर्च भने गाउँपालिकाले व्यवस्थापन गरेको बेलडाँडी गाउँपालिकाका प्रवक्ता गजबहादुर बिष्टले बताए । छ महिनासम्म जोखिमपूर्ण अवस्थामा रहेको रूख अन्ततः हटाइएपछि क्याम्पस परिवार, स्थानीय व्यवसायी, उक्त सडकमा ओहोरदोहोर गर्ने व्यक्तिहरू तथा स्थानीय बासिन्दाहरू भयमुक्त भएका छन् ।

