
एमाले अखिलले दिपकराज अवस्थीलाई बनायो सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियू सभापति उम्मेदवार

खगेश्वरी पन्त
महेन्द्रनगर । सत्तारुढ नेकपा एमाले सम्बद्ध अनेरास्ववियुले दिपकराज अवस्थीलाई सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु उम्मेदवार बनाएको छ । अखिलका केन्द्रीय उपाध्यक्ष मर्यादा विष्ट सहितको छलफलपछि अवस्थीलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।
उपाध्यक्ष विष्टले अवस्थी सहित सचिव र कोषाध्यक्षका उम्मेदवार घोषणा गरेकी हुन् । अखिलबाट सचिवमा अशोक कुँवर र कोषाध्यक्ष पुष्पा बिष्ट उम्मेदवार बनेका छन् । अखिलका अवस्थी सहित दुई जना स्ववियु अध्यक्ष उम्मेदवारका आकाँक्षी थिए । अखिलमा सभापति उम्मेदवार छनौट गर्न एमाले नेता र विद्यार्थी नेताबीच छलफल भएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयमा चैत २७ गते स्ववियु निर्वाचन हुन लागेको छ । त्यसका लाखि अखिल सहित १० संगठन निर्वाचनका लागि दर्ता भएका छन् । केन्द्रीय क्याम्पसमा ३ हजार ५ सय विद्यार्थी मतदाता नामावली सार्वजनिक गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो । अघिल्लो पटक निर्वाचन हुने भनिए पनि स्थगित भएको थियो । त्रिभुवन विश्वविद्यालयको तत्कालिन आंगिक क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पस अहिले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस बनेको हो ।
तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पस एमाले अखिलको किल्लाका रुपमा लिइएको थियो । एमाले केन्द्रीय सदस्य नर बहादुर धामी, एमाले कञ्चनपुरका पूर्व अध्यक्ष एबम् भीमदत्त नगरपालिकाका पूर्व मेयर सुरेन्द्र विष्ट, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश प्रसाद पन्तले स्ववियु सभापति भएका थिए ।
अहिले अखिललाई विगतको विरासत जोगाउनु पर्ने चुनौती छ । अखिलका स्ववियु सभापतिका उम्मेदवार अवस्थीले विद्यार्थी हक हितका विषयमा प्रभावकारी योजना बनाएर अघि बढ्ने बताए ।
स्ववियु सभापतिका उम्मेदवार अवस्थीकको एमाले पारिवारिका राजनीतिक पृष्ठभूमि छ । दार्चुलाको मालिकार्जुनका अवस्थीकी आमा पुष्पादेबी अवस्थी २०७४ को स्थानीय तह निर्वाचनमा मालिकार्जुन गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी थिइन् । अखिलमा उनी भद्र, नम्र र इमान्दार नेताका रुपमा चिनिन्छन् ।
(प्रशिक्षार्थी पत्रकार)
