
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिह सार्कीेले जिल्ला कारागार कञ्चनपुरमा रहेका रहेका कैदीबन्दिलाई सामाग्री हस्तान्तरण गरेका छन् ।
आईतबार कैदीहरुलाई खेलकुद योग, ध्यान तथा सकारात्मक सोच सम्बन्धी तालिमको उद्दघाटन गर्नुहुँदै मन्त्री शार्कीले खेलकुद लगायत शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।

पाँच दिने योग शिविरमा पतंजली योग समिती नेपाल कञ्चनपुरका सचिव पवन कुमार पनेरु, महिला पतंजली योग समिति कञ्चनपुरका अध्यक्ष कमला पाण्डे र युवा नेपाल समिति कञ्चनपुरका अध्यक्ष गणेश दत्त भट्टले प्रशिक्षण गराइरहनुभएको छ । कारागारमा हाल क्षमता भन्दा झण्डै चारगुणा बढी कैदीबन्दि रहेका छन् ।
९५ जनाको क्षमता रहेको कारागारमा हाल २५ महिला र ४२८ पुरुष गरि ४ सय ५३ कैदीबन्दी रहेका छन् । विस. २०२४ सालमा निर्माण गरिएको उक्त कारागार भवन अहिले जिर्ण अवस्थामा रहेको छ ।
तालिमको उद्दघाटन गर्दै मन्त्री शार्कीले कारागारको नयाँ भवन निर्माणका लागी मन्त्रालयले यसै वर्षदेखी प्रक्रिया थाल्ने प्रतिबद्धता जनाए । तालिममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी खड्क बहादुर खत्री र प्रहरी नायव उपरीक्षक डिएसपी सागर बोहरा सहितको उपस्थिती रहेको थियो ।
गत आर्थिक वर्षमा मन्त्रालयले ३४ कोठे नयाँ कारागार भवन निर्माणका लागि भन्दै रातोकिताबमा ५० लाख बिनियोजन गरिएको थियो । तर भवन निर्माणका लागि ठेक्का प्रक्रिया समेत अगाडि बढन नसक्दा कैदी व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनका जेलर रामदत्त जोशीले बताए ।
भवन निर्माण प्रक्रिया सिघ्र अगाडि बढाउन उनले आग्रह गरे । कारागारमा रहेका कैदीहरुले मुडा, फर्निचर, पलङ्ग, दराज, मुर्ती, मन्दिर लगायतका सामाग्रीहरु बनाउने गरेका कारागारका नाइके टेकराज जोशीले जानकारी दिए ।
विगत ४ वर्षयता पहिलो पटक यसै वर्ष १५ जना कैदीहरुलाई तालिम पनि प्रदान गरिएको कारागारका नाइके जोशीले जानकारी दिए । कैदीहरुले बनाएका सामाग्रीहरु समय समयमा बाहिर बिक्रिका लागी समेत पठाउने गरिएको जनाइएको छ ।
