

– रनि विवश
केही दिन अघि सहकर्मी दिनेशराज ओझासित कञ्चनपुरको पूरानो सदरमुकाम बेलौरी जाने साइत जु¥यो । नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य एबम् रेडियो बेलौरीका सञ्चालक सदस्य ओझाको मोटरसाइकल पछाडि बसेर यात्रा गरियो ।

शिक्षण पृष्ठभूमिका ओझा प्रष्ट वक्ता र तार्किक क्षमता राख्छन् । महेन्द्रनगरबाट विहान ९ बजे हिँडेका हामी शुक्लाफाँटा नगरपालिकाको कलुवापुर पुग्दासम्म पूर्व पश्चिम राजमार्गमा हुँकिएर गयौ । कलुवापुर पुगेर बेलौरीतिर मोडिन लाग्दा कच्ची सडक आइ हाल्यो । कलुवापुर बजारको दक्षिणी क्षेत्रको सडक दुबैतिर कच्ची छ । कालोपत्रे गर्ने कार्यका लागि सडकका केही स्थानमा गिट्टी बिछ्याइएका छन् । यो सडक निर्माण कार्यको संकेत हो । तर निर्माण कार्य भएको छैन ।
कलुवापुरमा सडक कालोपत्रेका लागि खोका छाप्रो हटाएको पनि वर्ष दिन भन्दा बढी भयो । पूर्वाधार विकास कार्यालय सडक निर्माण ढिलाईको कारण खोका छाप्रालाई देखाउँदै आएको थियो । शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले गत वर्ष सडक कालोपत्रेका लागि खोका छाप्रा हटाई दिए । सडक अझै पनि कालोपत्रे हुन सकेको छैन । सवारी चल्दा कलुवापुर बजार हिउँद र बर्खा याममा छुट्टाछुट्टै किसिमको पीडा खेप्न बाध्य छ । हिउँदमा धुलो धुँलोले धुम्म र बर्खामा हिलोले हिलाम्य हुन्छ । यी दुबैबाट मुक्ति पाउने बाटो सडक कालोपत्रे बाहेक अन्य छैन । जनता सडक कालोपत्रे हुने आश लिएर बाँचेका छन् । उनीहरुको आश कहिले पूरा हुने होला भन्ने सकिने अवस्था छैन ।
कलुवापुरदेखि केही तल पुगेपछि कालोपत्रे सडक आउँछ । यो सडक पनि ठाउँ ठाउँमा भत्किन थालेको छ । शायद कलुवापुर कालोपत्रे हुँदा यो सडक दोस्रो पटक कालोपत्रे गर्न पर्ने अवस्थामा पुग्न सक्छ । जे होस कच्ची सडकको तुलनामा यो सडकमा हिँड्दा सवारीलाई सहज हुन्छ । शुक्लाफाँटा नगरपालिका १२ को स्याली नदी पुग्दासम्म एक हिसाबले दुई पाङ्ग्रे होस वा चार पाङ्ग्रे सबै खालका सवारीलाई आरामदायी यात्रा हुन्छ । स्याली नदीको पुल कटेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरु हुन्छ । २०७४ यस अघि निकुञ्जलाई शुक्लाफाँटा वन्यजन्तु आरक्ष भन्ने गरिन्थ्यो । पछि सरकारले नाम परिवर्तन गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज राखेको हो । आरक्षको नाम फेरिए पनि स्याली नदी तलको सडकको नियति उस्तै छ ।
स्याली नदीको पुलले निकुञ्ज र वस्तीलाई जोडेको छ । पुल मुनिबाट स्याली नदी बगेर दोदा नदीमा मिसिन्छ । झलारी बजार भएर सुनवरा तल पुगेपछि स्याली भएर बग्ने गर्छ । स्यालीको बाढीले किनारका सबै वस्ती बगर बगाई सकेको छ । सरकारले स्याली किनारमा पुनस्र्थापन गरेका मुक्त कमैया परिवार सुकुम्बासी जीवन जिउन बाध्य छन् । उनीहरुको उठीबास लगाएको छ । सरकासित फेरि पुनस्र्थापनका लागि आलापविलाप गर्दै आएका छन् ।
स्याली पुल पार गरेपछि आउँछ फेरि कच्ची सडक । एक छिन अघिसम्मको आरामदायी यात्रा क्षणभरमै कष्टकर हुन थाल्छ । धुलो धुँवाभित्र सवारी चलाउनु पर्ने हुन्छ । निकुञ्जको जङ्गल छ । त्यसभित्र साँघुरो सडक छ, त्यसमा खाल्डाखुल्डी छन् । सडकमा सवारी चल्दा धुलो र धुँवाले मुख छोप्नु पर्ने हुन्छ । गर्मी याममा सडकको धुलोले अनुहार चिन्न नसकिने हुन्छ । बर्खामा सडक हिलाम्य हुन्छ । सवारी चलाउन समस्या हुन्छ । स्यालीदेखि चानदेब बजारसम्म यो सास्तीको श्रृङ्खला चलि रहन्छ ।
स्याली पुल पार गर्ने बित्तिक्कै मैले क्यामेरा खोले । यो सडकको सास्तीको कथा सबैलाई सुनाउन ठिक ठाने । अनि पत्रकार महासंघका सदस्य ओझालाई हिँड्दै सडकमा हिँडडुल गर्दा हुने सास्तीबारे आफ्नो अनुभव सुनाउन आग्रह गरे । उनी मोटरसाइकल चलाउँदै थिए । ओझाले मोटरसाइकल चलाउँदै अनुभव सुनाए । मोटरसाइकलमा अनुभव सुनाउँदै अघि बढ्दै गर्दा एक पछि अर्को अर्को सवारी आए । ती सवारी बेलौरीबाट आएका होलान शायद । ती सवारीको उडाएको धुलोले ओझा र म अछुतो रहन सकेनौ । शिरदेखि तीरसम्म धुलो टम्म भरियो । ओझा भने यस्तो धुलो खाने बानी परि सकेका रहेछन् । उनी आधा महिना अर्थात महिनामा १५ दिन यो सडक प्रयोग गरि रहन्छन् ।
बेलौरी नगरपालिका ७ बरैयाका ओझा केही वर्षदेखि भीमदत्त नगरपालिका ३ मा बस्दै आएका छन् । उनी रेडियोको कामका लागि बेलौरी आउजाउ गरि रहन्छन् । बेलौरी बस्दा उनी काम विशेष मात्रै महेन्द्रनगर आउथे । ओझाले सडक यात्रापछि घर पुगेर एक टिक्की पूरै साबुनले धोएर मात्रै धुँलो निस्कने गरेको सुनाए । बेलौरी क्षेत्रका वासिन्दाको लाइफलाइन मानिएको सडक निर्माणका लागि राजनीतिक दल, नागरिक समाज, स्थानीय सबै वर्षाैदेखि संघर्ष गर्दै आएको ओझाको भनाई छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक अन्य सडक भने कालोपत्रे भई सकेको ओझाले बताए ।
स्याली हुँदै चानदेब पुग्दासम्म यो सडक झण्डै ५ किलोमिटर छ । चानदेउ अघि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको पोष्ट छ । त्यस अघि तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित वासिन्दाको ढक्का शिविर छ । यो शिविर २०६४ मा बसेको हो । कच्ची सडकको धुलो शिविरमा कच्ची घरसम्म पुगेर हैरानी छ । शिविरका वासिन्दालाई गर्मी यामको धुलोले घरभित्रै बस्न नसकिने अवस्था छ । अर्थात यो सडकको धुलोले हिँडनेदेखि शिविरमा बस्ने सबैलाई छाडेको रहेनछ ।
कलुवापुर बेलौरी सडक अहिले बेलौरी भन्सारसम्म विस्तार गरी निर्माण कार्य अघि बढेको हो । सुदूरपश्चिम सरकारले यसलाई गौरबको योजनामा राखेको छ ।गौरबको योजनाको यस्तो हालत छ। अन्य योजनाको हालत कस्तो होला । सहज अनुमान लगाउन सकिन्छ । निकुञ्ज क्षेत्र बाहेक अन्य क्षेत्र लगभग कालोपत्रे भइ सकेको छ । निकुञ्जभित्र पनि केही स्थानमा पानीपिच गरिएको छ । पानी पिच गरिएको स्थानमा झन धुलोको मुस्लो उड्ने गर्छ ।
पत्रकार महासंघका सदस्य ओझा अनुसार चानदेब सकिएर सुरु हुने सामुदायिक वनको क्षेत्रमा पनि सडक निर्माणका क्रममा समस्या देखिएको थियो । रामनगर र कुण्डा क्षेत्रका सामुदायिक वनले सुरुमा सडक कालोपत्रेमा अवरोध गरेका थिए । पछि छलफल गरी सहमति भएपछि सडक कालोपत्रे भएको थियो । निकुञज क्षेत्रको अवरोध अझै हटेको छैन । सडक कालोपत्रे हुन नसकेर जोखिमपूर्ण र कष्टकर यात्रा गर्नु पर्ने बाध्यता छ । निकुञ्जसित पनि अवरोध हटाउन धेरै पटक छलफल भई सकेका छन् ।


शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको ५ किलोमिटर सडक कालोपत्रेका लागि इआए नभएर रोकिएको छ । पूर्वाधार विकास कार्यालयले निकुञ्ज कार्यालयसित समन्वय गरी इआए प्रक्रिया अघि बढाएको थियो । तर अहिलेसमम्म इआए हुन सकेको छैन । इआएर नभएसम्म निकुञ्जले सडक निर्माण गर्न नदिने अडान लिँदै आएको छ । यसका लागि पूर्वाधार विकास कार्यालयले गम्भीरता देखाउन आवश्यक छ ।
कलुवापुर बेलौरी सडक हरेक चुनावमा प्रमुख चुनावी मुद्दा हुने गर्छ । चुनावमा जोडतोड दिइने यो मुद्दा चुनावपछि शिथिल बन्दै जान्छ । एमाले, काँग्रेस, माओवादी लगायत सबै दल कलुवापुर बेलौरी सडक प्रमुख चुनावी मुद्दा बनाउन पछि पर्दैन । स्थानीय, प्रदेश र संघको चुनावमा प्राथमिकता पाउँछ । २०७९ को निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का साँसद एनपी साउँदको प्रतिवद्धता सबैभन्दा बढी चर्चामा रह्यो । पूर्व परराष्ट्र मन्त्री साउँदले आफूले चुनाव जिते ठेकेदारको कान समाएर निर्माण गराउने भाषण गरेका थिए । साउँद चुनाव जितेर साँसद भए, परराष्ट्र मन्त्री भए । अहिले साँसद छन् । सडक जस्ताको त्यस्तै छ । सडकको हालत त्यस्तै छ । त्यसैले त्यस क्षेत्रका मतदाता पूर्व मन्त्री साउँदलाई समय समयमा उनको वाचा स्मरण गराउँछन् । उनी मन्त्री भएर गृह जिल्ला आएको बेलामा कलुवापुरमा स्थानीयले सडक बन्द गरी उनलाई वाचा स्मरण गराएका थिए ।
साउँद यसमा अनुत्तरित छन् । केही महिना अघि ठेक्काको म्याद नै सकिएको छ । म्याद सकिएपछि साउँदले उनलाई कान समातेर काम गराउने सम्भावना सकिएको छ । तर पनि साउँदको चुनावी भाषणा चर्चामा छ । साउँद जस्तै अन्य नेताहरु पनि सडक निर्माणलाई प्राथमिकता दिएको बताउँछन् । काठमाडौं जाने हरेक नेताले मन्त्री, शीर्ष नेतासित भेट गर्दा कलुवापुर बेलौरी सडकको विषय उठान गरेको तस्बिर सार्वजनिक गर्छन् । काठमाडौंमा शीर्ष नेता, सरकारका मन्त्री, साँसद र कर्मचारीहरुसित जति भेट गर्दा पनि सडकको हालत फरक हुँदैन । स्यालीदेखि चानदेबम्मको सडक पनि तिनै तस्बिर हेरेर मात्रै आफू कालोपत्रे हुने दिनको प्रतिक्षामा बसेको हुन्छ होला । दैनिक आउजाउ गर्ने वासिन्दा त कालोपत्रे सडकको सपना देख्न बानी परि सकेका छन् ।
२०१९ सम्म कञ्चनपुर सदरमुकाम बेलौरी थियो । त्यसपछि मात्रै महेन्द्रनगर सदरमुकाम सारियो । अहिलेको बेलौरी बजारबाट हुलाकी मार्ग हुँदै पश्चिम आएपछि सदरमुकामका केही अवशेष भेटिन्छन् । बेलौरीको जेलको अवशेष अहिले पनि देख्न सकिन्छ । बेलौरीको जेललाई त्यस बेला खतरनाक मानिन्थ्यो । देशभरिका कुख्यात अपराधीलाई सजाय दिन यो जेल प्रयोग गरिन्थ्यो । सदरमुकाम महेन्द्रनगर सारिएपछि बेलौरी विस्तारै सुस्ताउन थाल्यो । महेन्द्रनगर आउन समेत सास्ती खाएर आउने अवस्थामा पुग्यो । न भन्सार बनाउन सकियो, न त कलुवापुर बेलौरी सडक बनाउन सकियो । बेलौरी आफ्ना पूराना दिन सम्झिँदै हिनताबोध गर्न बाध्य छ । आफूलाई अपमान गरी सदरमकाम सारेपछि हेपिएको महसुस गर्दैछ । सदरमुमकासम्म जान एउटा कालोपत्रे सडक पाउन समेत बेलौरीलाई धौधौ छ । त्यसैले बेलौरी आफूलाई पूरानो पीडा बिर्साउन पनि यो सडक बनाउन चाहन्छ ।
बेलौरीको तौला राना चोक भएर बेलडाँडी निस्कके हुलाडी सडक पनि त्यस्तै अलपत्र छ । यो बाटो भएर पनि उसलाई आउन त्यस्तै पीडा खेप्नु पर्ने अवस्था छ । अर्थात बेलौरीलाई जता पनि कच्ची बाटो समात्नु पर्ने बाध्यता छ । किनकी बेलौरीको पचुईमा भारतले हुलाकी सडक निर्माणमा अवरोध गरेको छ । केही स्थानमा ठेकेदार कम्पनीको लापरवाहीले सडक निर्माण अलपत्र छ । डोके बजारदेखि दैजीसम्म ९ वर्षमा ४४ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । तर यो सडकको दैजी बेलडाँडी खण्डको निकुञ्ज क्षेत्रमा भने कालोपत्रे भएको छ । बेलौरी कलुवापुर सडक जसरी निकुञ्जका कारण यो सडक निर्माणमा अवरोध आएन ।
बेलौरी नगरपालिका कार्यालयको पूर्व दिशामा अहिले फराकिलो सडक निर्माण गरिएको छ । यो सडक तौला राना चोकमा पुगेर हुलाकी राजमार्गमा जोडिन्छ । चिटिक्क परेको यो सडकले बेलौरीको विकासको संकेत दिन्छ । यो सडक पूरानो बजारको साख जोगाउने बाटो हुन सक्छ । चौडा सडक बनेपछि तौला रानाको नाममा चोक राखिएको छ । तौला राना बेलौरी बजारका संस्थापक हुन् । उनको सम्मानमा यो चोकको नाम तौला राना राखिएको छ ।
कैलाली र कञ्चनपुरमा बस्ने राना समुदायको बेलौरी सबैभन्दा पुरानो बस्ती हो । बेलौरी नगरपालिका आदिवासी जनजाति समुदायको बाहुल्य भएको नगरपालिका हो । पोतिलाल चौधरी दुई पटक मेयर निर्वाचित भइ सकेका छन् । बेलौरी बजारका संस्थापक रानाको सम्मानमा चोक बनाएर बेलौरीले पूर्वजप्रति देखाएको सम्मान अन्यका लागि समेत प्रेरणादायी हुन सक्छ ।
बेलौरीमा प्रमुख दलका सबै शीर्ष नेता पुगि सकेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही दिन अघि मात्रै बेलौरी भएर महेन्द्रनगर आएका थिए । उनी माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा बेलौरी भएर महेन्द्रनगर आएका हुन् । २०७९ को निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलौरी मञ्चमा आएर भाषण गरेका थिए । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का साँसद तारालामा तामाङ्ग, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा, सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्ट, पूर्व मन्त्री विना मगर सबै बेलौरी र दक्षिणी क्षेत्रको विकासका लागि सक्रिय रुपमा लागेको दावी गर्छन् । विष्ट २०७० र मगर २०६५ मा यस क्षेत्रमा संविधान सभा सदस्य निर्वाचित भएका थिए । तामाङ्ग २०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।
एमालेमा सरल, प्रष्ट वक्ता, तार्किक र वादविवाद गर्न नरुचाउने नेतामा पर्छन तामाङ्ग । काँग्रेस माओवादीको गठबन्धलाई हराउँदै उनी निर्वाचित भएका थिए । २०७४ मा तामाङ्गको सहयोगमा मगर निर्वाचित भएकी थिइन् । २०७९ को निर्वाचनमा काँग्रेस माओवादीको गठबन्धन थियो । साँसद तामाङ्गले पछिल्लो पटक संसदमा दक्षिणी क्षेत्रका समस्यालाई निरन्तर उठाई रहेका छन् ।
कलुवापुरदेखि बेलौरी बैशाखासम्म यो सडक २७ किलोमिटर छ । सडक कालोपत्रे भएपछि भन्सार नाका सञ्चालन गर्न सहज हुने स्थानीयको आशा छ । २०७४ अघि यो सडक संघ सरकार मातहत थियो । २०७४ को चुनावपछि यो सडक प्रदेश सरकार मातहत आएर गौरबको योजनामा राखियो । सडक डिभिजनले समेत पूर्वाधार विकास कार्यालयलाई ठेक्का हस्तान्तरण गरेपछि विधिवत रुपमा सडक प्रदेश मातहत आयो । अहिले फेरि यो सडक संघ सरकार मातहत राख्नु पर्ने माग समेत उठ्न थालेको छ ।
एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट २०७४ मा बेलौरी नगरपालिका र २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचन लडे । उनी सीमा सरोकारका विषयका जानकार मानिन्छन् । एमालेमा दोस्रो कार्यकाल सचिव भएका उनी कलुवापुर बेलौरी सडक निर्माण राज्यको प्रमुख प्राथमिकताको विषय हुनु पर्ने बताउँछन् । त्यसका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का जनप्रतिनिधिले सबैभन्दा बढी गम्भीर भएर लाग्नु पर्ने उनको भनाई छ । यो सडक के कारणले कालोपत्रे हुन सकेको छैन, निकुञ्ज क्षेत्रमा के कति कारणले रोकियो भन्ने कुरा जनप्रतिनिधिले जनतालाई जानकारी दिनु पर्ने सचिव भट्टको भनाई छ ।
जनप्रतिनिधि गम्भीर भएर अघि नबढेपछि सडक निर्माण हुने आशमा बस्नको विकल्प छैन । जनप्रतिनिधिले जनताको आवाजलाई चुनावी एजेण्डा मात्रै बनाएर अघि बढ्ने कार्य कदापि राम्रो हुँदैन । चुनाव जितेपछि चुनावी वाचा पूरा गर्न जनप्रतिनिधिले हदैसम्मको प्रयास गर्नु छ । आफ्ना प्रयास सफल नभएको अवस्थामा जनतालाई त्यसको कारण पनि जस्ताको त्यस्तै जानकारी गराउनु पर्छ । भारतीय सीमावर्ती क्षेत्रसम्म पुग्ने सदरमुकाम आउजाउ गर्ने दक्षिणी क्षेत्रका बेलौरी र पुनर्वासका क्षेत्रका जनताको प्रमुख सडक कालोपत्रे कार्य छिटो पूरा भएर सर्वसाधारणको सास्ती अन्त्य गर्ने बाटोमा सबैको ध्यान जाओस ।
धन्यवाद ।
