

महेन्द्रनगर । सांसद तारा लामा तामाङले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका नागरिकहरूको पुनःस्थापनाको माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले विस्थापित नागरिकहरू विगत २०५८ सालदेखि नै पुनःस्थापनाको पर्खाइमा रहेकाले उनीहरुको सिघ्र पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।


कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का सांसद तामाङले अनुसार हालसम्म सरकारले ३२ वटा आयोग गठन गरे पनि पीडितहरूको समस्या समाधान हुन सकेको नसकेको बताए ।
“ढक्का शिविर लगायतका स्थानहरूमा पीडितहरू असहज र जोखिमपूर्ण जीवन बिताइरहेका छन्,” सांसद तामाङले भने, “आरक्ष प्रशासनको कारबाही, जंगली जनावरको आक्रमण, सर्पबिच्छीको टोकाइ, हावाहुरी र वर्षाले हुने क्षति तथा भूमि नपाउने चिन्ताले उनीहरूको जीवन झनै कष्टकर बनेको छ।”
उनले विस्थापित परिवारहरूका बालबालिकाको भविष्य अन्योलमा परेको भन्दै मानवीय आधारमा तत्काल राहत र पुनःस्थापनाको व्यवस्था मिलाउन आग्रह गरे । उनले भूमि ऐन ल्याई दीर्घकालीन समाधान सुनिश्चित गर्न सरकारसँग कडा रूपमा माग गरे ।
“सरकारले अब ढिलो गर्नु हुँदैन,” सांसद तामाङको भनाइ थियो, “आरक्षपीडितको न्यूनतम आवश्यकता पूरा गर्न स्पष्ट नीति र तत्परता आवश्यक छ’ उनले भने ।
