
२०५४ को स्थानीय चुनावमा काँग्रेसका उम्मेदवारको उम्मेदवारी शुल्कबाट स्थापना गरिएको दोधारा चाँदनीको यो विद्यालय

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–४ मा अवस्थित मालिका आधारभूत विद्यालयको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयको स्थापना कालदेखि योगदान पु¥याउने संस्थापक सदस्य, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा समुदायका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
विद्यालयको स्थापना २०५४ सालको स्थानीय निकाय निर्वाचनमा काँग्रेसका ४७ उम्मेदवारले उम्मेदवारी शुल्क संकलन रकमबाट भएको स्मरण गर्दै, उनीहरूप्रति आभार व्यक्त गरिएको छ ।
कार्यक्रममा लामो समय विद्यालयमा प्रधानाध्यापक तथा शिक्षिकाको रूपमा सेवा पु¥याएका स्व. शोभा चन्द सिंह र तत्कालीन १५ जना नेपाली कांग्रेसका उम्मेदवारहरूलाई मरणोपरान्त सम्मान गरिएको छ ।
सो अवसरमा समाजसेवी स्व. कालु सिंहको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना, बाल विकास कक्षामा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने, गणित पार्क निर्माण गर्ने र सरस्वती मन्दिर स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ ।

कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक नवराज भट्टले गरे । स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद भट्टले राखे । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष करन बहादुर सिंहको सभापतित्वमा कार्यक्रम गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना कार्यक्रमका प्रमुख अतिथि थिए । उनले विद्यालयको शैक्षिक सुधारका लागि प्रदेशस्तरमा पहल गरिने प्रतिबद्धता जनाए ।
विशिष्ट अतिथिका रूपमा नगर उप–प्रमुख गंगा देवी जोशी, संस्थापक अध्यक्ष मृग बहादुर सिंह, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्ट लगायत उपस्थित भए ।
नगर शिक्षा समिति सदस्य खिमा चन्दले विद्यालयलाई आवश्यक पर्ने शिक्षक दरबन्दी व्यवस्थापनमा पहल गरिने बताइन् ।
कार्यक्रममा युनिसेफ नेपाल स्वास्थ्य क्षेत्रमा कार्यरत सिता सुनारले बालविकासदेखि कक्षा ७ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री दिइन् ।
विद्यालय परिवारको सुसज्जित र आकर्षक तयारीमा सम्पन्न उक्त कार्यक्रममा प्रशंसा पत्र वितरण तथा मायाको चिनो प्रदान गरिएको छ ।
