ghar sansar

सगरमाथा संवाद :  नेपालबाट विश्वलाई शान्ति र सह अस्तित्वको सन्देश

khasi

–ईश्वरी प्रसाद खरेल

२१औं शताब्दीको विश्व एक गम्भीर मोडमा उभिएको छ। एकातिर प्रविधिको प्रगति चुलिँदै छ, अर्कातिर मानवीय सम्बन्ध, वातावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय विश्वासको धरातल खस्कँदै गएको छ । शक्ति प्रदर्शन, युद्ध र प्रतिस्पर्धाले विश्व समुदायमा अस्थिरता बढाउँदै लगेको छ । यिनै चुनौतीहरूका बीच, एउटा सानो, शान्तिप्रिय मुलुक—नेपालले विश्व समुदायलाई नयाँ बाटो देखाउने कोसिस गरेको छ—सगरमाथा संवादको आयोजना मार्फत ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घोष गरेझैं, “नेपाल सदा—खोजकर्ताहरूको थलो रहँदै आएको छ ।
विजेताहरूको होइन—चिन्तकहरूको, युद्धको होइन—संवादको।“ नेपालको यो सांस्कृतिक बिम्ब केवल इतिहासमा सीमित छैन, यो आजको यथार्थ हो, र भविष्यका लागि मार्गदर्शन पनि हो।

संवाद संस्कृतिको जरोमा बसेको देश

नेपालको सभ्यता युद्धजस्ता हिंसात्मक प्रतिस्पर्धाबाट होइन, बौद्धिक सहकार्य, धैर्य र सहिष्णुताबाट बनेको हो। हाम्रो परम्पराले सधैं ’सत्य’ खोज्न आग्रह गरेको छ—नारा लगाएर होइन, आत्मबोध मार्फत। प्रधानमन्त्री ओलीले भनेझैं, “हाम्रो परम्परा, आदरपूर्वक— आत्मबोध गर्ने सँस्कृतिमा अडेको छ। सच्चा मनले— बोल्नेमा, र सँगसँगै— सत्य खोज्नेमा।“

आज जब संसारका धेरै देशहरू सैन्य, आर्थिक वा राजनीतिक वर्चस्वको होडमा लिप्त छन्, नेपाल सगरमाथाको छायाँबाट सोच्न आग्रह गर्दैछ—हामीले संवाद गर्नुपर्छ। हामीले चिन्तन गर्नुपर्छ। हामीले साझा भविष्यको कल्पना गर्दै समाधानको बाटो खोज्नुपर्छ।

सगरमाथा संवाद : विचारको सगरमाथा

“सगरमाथा संवाद“ शब्द आफैंमा गहिरो अर्थ बोकेको छ। सगरमाथा भौतिक उचाइको मात्र होइन, आध्यात्मिक उचाइको प्रतीक हो । यो संवाद हाम्रो सांस्कृतिक पुनरागमन हो—हामी फेरि एकपटक सोचिरहेका छौं, सुन्दैछौं, र समाधानतर्फ लम्किरहेका छौं ।

नेकपा एमालेका श्रदेय अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भनाइ “पृथ्वीको भविष्य सुनिश्चित होस् । मानव जातिको भविष्य सुनिश्चित होस् ।“ यही उद्देश्यका साथ सगरमाथा संवाद १६–१८ मे २०२५ मा काठमाडौंमा आयोजना गरिएको हो । यो केवल सम्मेलन होइन, यो अभियान हो—विश्व समस्याको साझा समाधानतर्फको एक महत्वपूर्ण पाइला ।

dirghayi clinic

साझा समस्या, साझा प्रयास

आज विश्वका समस्या सिमानाले थामिएका छैनन्—जलवायु परिवर्तन, खाद्य असुरक्षा, स्वास्थ्य संकट, प्रविधिसँग जोडिएका नैतिक चुनौतीहरू, आप्रवासन, युद्ध र आतंक । यस्ता समस्या कुनै एक देशको समाधानले हट्दैन । प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा भन्नुभएको छ, “विश्वको साझा समस्या समाधान गर्न विश्वले साझा प्रयास अगाडि बढाउनु पर्नेछ । त्यसका निम्ति … एक ठाउँमा बसेर छलफल गरौं … समस्याहरू पहिचान गरौं र … समाधान निकाल्ने प्रयास गरौं।“

सगरमाथा संवादले यसैको बाटो खोलेको हो—विचार विनिमयको, ज्ञान साझेदारीको, र विश्वास निर्माणको ।

नेपालको भूमिका र विश्व सन्देश

विश्व राजनीतिमा सानो, शक्तिहीन देशहरूले के गर्न सक्छन् भन्ने प्रश्न उठाइन्छ। तर नेपालले देखाएको छ—संस्कृति, दर्शन र मूल्यमान्यताको शक्तिले विश्वलाई दिशा दिन सक्छ। हामी सन्देश दिन सक्छौं कि शक्ति होइन, सहकार्यले मात्र स्थायित्व ल्याउन सक्छ ।

नेपालको तर्फबाट यो पहल केवल कूटनीतिक प्रयास होइन, यो एउटा दार्शनिक अपील हो—शान्तिको, सहिष्णुताको र साझा भविष्यको ।

सगरमाथाबाट सुरु भएको साझा यात्रा

सगरमाथा संवाद केवल तीन दिनको औपचारिक कार्यक्रम होइन । यो दीर्घकालीन सोच हो—विश्वका सबै भूभागका, सम्प्रदायका र संस्कृति भएका मानिसहरूबीच आत्मीय संवाद गराउने माध्यम। यो त्यो प्रयास हो जसले नेपाललाई संवादको केन्द्र बनाउँछ, विचारको हिमशृङ्खला बनाउँछ, र सहअस्तित्वको यात्रामा मानव जातिलाई अगाडि बढाउँछ ।

प्रधानमन्त्री ओलीको आह्वान छ—“यो मानव जातिको भविष्य, धर्तीको भविष्यसँग जोडिएको साझा समस्याको समाधानका लागि । आउनुहोस्, सगरमाथा संवादलाई सफल बनाऔं ।“

यसैले, आउनुहोस्—नेपालको यो प्रयासलाई साथ दिऔं। सगरमाथा संवादमार्फत एउटा नयाँ अध्याय लेखौं—शान्ति र चिन्तनको, सहकार्य र समाधानको ।

(खरेल नेकपा एमाले केन्द्रीय लेखा आयोग सचिवालय सदस्य हुन् ।)

Himal dental
सम्बन्धित
Loading...