

–ईश्वरी प्रसाद खरेल
नेपाली राजनीतिक सन्दर्भमा “झोले“ भन्ने शब्दलाई सामान्यतया नकारात्मक अर्थमा बुझ्ने गरिन्छ। यस्तो सोचाइले राजनीतिमा समर्पण र सेवा भावलाई उपेक्षित गर्ने प्रवृत्ति बढाएको छ । तर, गहिरो विश्लेषण गर्दा “झोले“ भन्नाले राजनीतिक विचारप्रति निष्ठावान, संगठनप्रति समर्पित र निःस्वार्थ सेवा गर्ने व्यक्तिलाई जनाउन सकिन्छ ।

राजनीतिक आन्दोलनहरूको इतिहास हेर्दा, कुनै पनि परिवर्तनशील आन्दोलन सफल हुन त्यस्ता समर्पित कार्यकर्ताहरूको कारणले सम्भव भएको पाइन्छ । चाहे नेपालमा प्रजातन्त्र स्थापनाको लडाइँ होस् वा गणतान्त्रिक व्यवस्था स्थापना — अग्रपंक्तिमा निरन्तर लागिपरेका कार्यकर्ताहरू नै “झोले“ का प्रतिरूप हुन् ।
सकारात्मक रूपमा हेर्दा, झोले व्यक्ति त्यो हो, जसले कुनै पार्टीको विचारधारा, नीतिहरू, र उद्देश्यलाई आत्मसात गरेको हुन्छ। उसले संगठनका निर्णयहरूको इमानदारीपूर्वक पालना गर्छ, जनसमुदायसम्म पार्टीको सन्देश पु¥याउँछ, र पार्टीका कार्यक्रमहरूमा सक्रियताका साथ सहभागी हुन्छ। यस्ता व्यक्ति राजनीतिमा केवल पद, प्रतिष्ठा वा आर्थिक लाभका लागि होइन, बरु आदर्श, विचार र जनसेवाको भावनाले प्रेरित भएर लागेका हुन्छन् ।

झोले कार्यकर्ता सधैं अग्रपंक्तिमा देखिन्छन् — चुनावी अभियानदेखि जनआन्दोलन, पार्टीका बैठकदेखि विपद् व्यवस्थापनसम्म । उनीहरूको काम सायद चर्चामा नआउला, तर संगठनको मेरुदण्डका रूपमा उनीहरूको उपस्थिति सदैव महत्त्वपूर्ण रहन्छ। उनीहरू आफ्ना व्यक्तिगत स्वार्थभन्दा पार्टी र जनताको हितलाई प्राथमिकता दिन्छन् ।
आजको राजनीतिमा विचारभन्दा व्यक्तिको प्रचार, सेवाभन्दा स्वार्थ, र निष्ठाभन्दा लोकप्रियता बढी मूल्यांकित हुँदै गएको छ। यस्तो अवस्थामा “झोले“ हरू नै संगठनमा विचारको निरन्तरता, सिद्धान्तको रक्षा, र नीतिगत स्थायित्वका संवाहक हुन्। उनीहरूले नै लोकतन्त्रलाई जनस्तरसम्म पु¥याउने काम गरेका छन् ।
यसरी हेर्दा, “झोले“ शब्दलाई केवल व्यंग्यको रूपमा मात्र नहेरियोस्। विचारप्रति समर्पण, संगठनप्रति निष्ठा, र जनताको सेवामा निरन्तर लाग्ने जो कोही व्यक्ति सच्चा “झोले“ हो । उनीहरू राजनीतिका अमूल्य पुँजी हुन्, जसको योगदान बिना कुनै पनि राजनीतिक संस्था स्थायीत्व र विकासको दिशामा अघि बढ्न सक्दैन ।
हामी सबैले “झोले“ भन्ने शब्दप्रति दृष्टिकोण फेरि सोच्नुपर्छ — निन्दा होइन, कदर गर्ने मानसिकता विकास गर्नु पर्छ।
(लेखक एमाले केन्द्रीय लेखा आयोग सचिवालय सदस्य हुन् ।)

