

महेन्द्रनगर । गृहमन्त्री एबम् काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएका बेला उनकै निर्वाचनमा क्षेत्रमा काँग्रेसको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको छ ।
काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको समन्वयमा काँग्रेस कञ्चनपुरले उद्योग बाणिज्य संघको सभा कक्षमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको हो ।

कार्यक्रम उद्घाटन काँग्रेस केन्द्रीय सदस्य एबम् पूर्वमन्त्री एनपी साउद गरेका छन् । साँउद कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित काँग्रेस साँसद हुन् । काँग्रेसको १४ औं महाधिवेशनबाट लेखक र साँउद केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
केन्द्रीय सदस्य लेखक र साँउद दुबै काँग्रेस संस्थापन पक्षका हुन् । गृह जिल्लामा भने उनीहरु दुबैका आ–आफ्ना गुट छन् । २०५१ को मध्यावधि निर्वाचनपछि लेखक र साँउदका गुट बनेका हुन् ।
गृहमन्त्री एबम् केन्द्रीय सदस्य भिजिट भिसा प्रकरणमा मुछिएपछि अप्ठेरोमा परेका बेला लेखकको निर्वाचन क्षेत्रमा आएर साउँदले प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गरेछि कञ्चनपुर काँग्रेसभित्र दुई नेताको शक्ति संघर्षलाई लिएर चर्चा हुन थालेको छ ।
काँग्रेसको साउँद पक्षका नेताहरुले नीति प्रतिष्ठानको कार्यक्रम भएकाले लेखक र साउँदबीच जोड्न नहुने तर्क अघि सारेका छन् । गृहमन्त्री लेखक पक्षका नेताहरुले भने गृहमन्त्री लेखक अप्ठेरोमा फसेका बेला उनको निर्वाचन क्षेत्रमा साउँदलाई बोलाएर कार्यक्रम गर्न समान्य नभएको बताएका छन् ।
‘अहिले गृहमन्त्रीज्यू त्यस्तो आरोपमा फस्नु भएको छ, वहाँको आफ्नै निर्वाचन क्षेत्रमा आएर यसरी कार्यक्रम राखिनु अलि सोचनीय विष्य हो’ गृहमन्त्री निकट एक नेताले भने ।
गृहमन्त्री लेखक २०५६ देखि कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लड्दै आएका छन् । २०७४ को निर्वाचन बाहेक उनी अन्य सबै निर्वाचनमा विजयी भएका छन् ।

२०७९ को निर्वाचनमा उनी फराकिलो मत अन्तरले प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि काँग्रेस संसदीय दलको प्रमुख सचेत हुँदै उनी पछिल्लो पटक गृह मन्त्री भएका हुन् ।
लेखक र साँउद २०५१ को मध्यावधि निर्वाचनपछि राजनीतिक रुपमा प्रतिस्पर्धी भएका हुन् । काँग्रेस सभापति शेर बहादुर देउवाले साउँदले २०५१ मा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ को टिकट दिएका थिए । गृहमन्त्री लेखक टिकटका आकाँक्षी थिए । उनी त्यस बेला कञ्चनपुर काँग्रेसका सचिव थिए ।
निर्वाचनमा साँउद पराजित भएका थिए । त्यसपछि उनले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ छाडेका थिए । मध्यावधि निर्वाचनको हारपछि साउँद र लेखकबीच राजनीतिक सम्बन्ध बिग्रिएको काँग्रेस नेताहरु बताउँछन् ।
अहिले साउँद कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्दै आएका छन् । दुई नेताबीच काँग्रेसका सबै संरचनामा प्रतिस्पर्धा छ । दुबैले आ–आफ्नो निर्वाचन क्षेत्रमा एक अर्काको क्लिन स्विप गर्नसम्म भ्याएका छन् ।
अहिले कञ्चनपुर काँग्रेस सभापति एबम् भीमदत्त नगरपालिका मेयर पदम बोगटी पनि गृह मन्त्री लेखकको समूहमा छन् । सभापति बोगटी लगायतका नेताहरु प्रशिक्षण सहभागी भएका छन् ।
१३ औं महाधिवेशन र २०७४ को स्थानीय तह निर्वाचनमा पराजित भएपछि बोगटी गृहमन्त्री लेखकसित आएका हुन् । त्यस अघि उनी साउँदको समूहमा थिए ।
गृहमन्त्री लेखकसित आएपछि बोगटी पार्टी सभापति र मेयर दुबै भएका हुन् । स्थानीय तह निर्वाचनमा बोगटीलाई जिताउन गृहमन्त्री लेखक आफंले चुनावी घरदैलो गरेका थिए ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनमा साउँदले लोकतन्त्र सुदृढ गर्न विचार, सिद्धान्त र संगठनात्मक अनुशासनप्रति स्पष्टता र यस्ता प्रशिक्षण आवश्यक रहेको बताएका छन् ।
एकपत्र अनलाइनका अनुसार कार्यक्रममा जिल्ला सभापति पदम बोगटी जिल्ला पदाधिकारी, स्थानीय तहका प्रतिनिधि, युवा र महिला सहभागी भएका छन् ।
प्रशिक्षणमा पार्टीको सिद्धान्त, संगठनात्मक संरचना, कार्यपद्धति, समसामयिक राजनीतिक परिप्रेक्ष्य तथा नेतृत्व विकास सम्बन्धी विषयमा विस्तृत प्रशिक्षण दिईको छ ।
