ghar sansar

विश्वविद्यालय : समुदायकै सम्पत्ति, सबल बनाउने दायित्व पनि समुदायकै हो

little buddha academy
khasi

–डा. गम्भीर बहादुर चन्द

विश्वविद्यालय भन्नाले त्यो शैक्षिक थलो हो, जहाँ विविध प्रकारका जनशक्ति उत्पादन हुने गर्दछन् । यस संस्थाले चिकित्सक, इञ्जिनियर, राजनीतिज्ञदेखि लिएर समाजलाई आवश्यक पर्ने सबै प्रकारका दक्ष जनशक्ति उत्पादन गर्ने कार्य गदर्छ । यस्तो विविध क्षेत्रका जनशक्ति उत्पादन गर्ने सस्थामा प्रत्येक क्षेत्रमा विज्ञ व्यक्तिहरू हुनु अत्यावश्यक हुन्छ । विश्वविद्यालयले समाजलाई आवश्यक जनशक्ति उत्पादन गर्छ भने, समाजले ती जनशक्तिको सीप र दक्षताको कदर गर्दै तिनीहरूको प्रयोग मार्फत् समाजको विकासमा योगदान पुर्‍याउँछ । यस दृष्टिले हेर्दा विश्वविद्यालय र समाज एक अर्काका परिपूरक हुन् भन्ने स्पष्ट हुन्छ । यही तथ्यलाई ध्यानमा राख्दै भन्न सकिन्छ कि विश्वविद्यालय त्यहाँ कार्यरत शिक्षक, कर्मचारी र अध्ययनरत विद्यार्थीहरूको मात्रै नभई सम्पूर्ण समाजको अभिन्न अङ्ग हो। यो एक प्रकारको कम्पनी जस्तै हो, जसले समाजलाई आवश्यक विविध प्रकारका जनशक्ति उत्पादन गरेर, ‘समाजले यी जनशक्तिको उपयोग गरोस’भनी सन्देश दिन्छ ।

,orning glory badhai

सुदूरपश्चिम विश्वविद्यालय केवल एक शैक्षिक संस्था मात्र होइन, यो यस क्षेत्रको सामाजिक, शैक्षिक र आर्थिक रूपान्तरणको मेरुदण्ड बन्न सक्ने सम्भावनायुक्त संस्थान हो । तर, पछिल्लो समय समाजका केही वर्गबाट यो विश्वविद्यालयलाई लिएर अनावश्यक आलोचना, निराशावादी टिप्पणी र नकारात्मक भ्रम फैलाउने प्रवृत्ति बढ्दो देखिन्छ । कसैले यसलाई राजनीतिक अखाडा मात्रै भन्छन्, कसैले यहाँका सबै शिक्षक र कर्मचारीलाई अयोग्य ठान्छन् । यस्ता टिप्पणीहरू वस्तुस्थितिमा आधारित नभई व्यक्तिगत असन्तुष्टि र पूर्वाग्रहबाट प्रेरित देखिन्छन्। सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएदेखि यस क्षेत्रका जनसमुदायलाई बहुआयामिक लाभ पुगेको छ । सबभन्दा पहिला कुरा गरौं विद्यार्थीको पक्षमा—अहिले विद्यार्थीहरू काठमाडौँ, पोखरा वा अन्य सहर जानु नपरी आफ्नै जिल्लामा सर्वसुलभ शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्न पाएका छन्। यस्तै, स्थानीय अभिभावकहरूको आर्थिक भार कम भएको छ, किनभने अब बसोबास, यातायात र खानपानको थप खर्च तिर्नुपर्दैन। विश्वविद्यालयका कारण यहाँका घरधनीहरूले घर भाडामा दिएका छन्, होटेल व्यवसाय फस्टाएका छन्, किताब पसल, ट्युसन सेन्टर, यातायात र साना उद्योगहरू फस्टाइरहेका छन् । यो विश्वविद्यालय यस क्षेत्रको स्थानीय अर्थतन्त्रलाई सजीव बनाउने प्रमुख कारक बनिसकेको छ ।

त्यसैगरी, विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन मात्र गरेको छैन, तिनै जनशक्तिलाई रोजगारीको अवसर पनि दिएको छ। अहिले विश्वविद्यालयमा सयौं शिक्षक, कर्मचारी, प्राविधिक र सहायक कर्मचारीहरू कार्यरत छन् । अप्रत्यक्ष रूपमा क्यान्टिन सञ्चालकदेखि सुरक्षाकर्मी, लेखापाल, सरसफाइकर्मी, अनुसन्धान सहायकलगायत धेरै मानिसले रोजगारी पाएका छन्। यद्यपि, यसको अर्थ समाजका सबै व्यक्तिले यहीँ जागिर पाउनुपर्छ भन्ने होइन। विश्वविद्यालयको आवश्यकता र उपलब्ध जनशक्तिको क्षमता अनुसार मात्र नियुक्ति हुने कुरा स्वाभाविक हो। त्यसैले जागिर नपाएमा विश्वविद्यालयको आलोचना गर्नु न त नैतिक हुन्छ, न त सार्थक ।

dirghayi clinic

समाजले विश्वविद्यालयलाई कसरी हेर्छ भन्ने कुराले पनि यसको दिशा निर्धारण गर्छ।अवश्य, विश्वविद्यालयमा सुधारको खाँचो छ । सबै शिक्षक र कर्मचारी आदर्श हुन सक्दैनन्, तर सबै अयोग्य पनि होइनन्।  यहाँ दक्ष, प्रतिबद्ध र निष्ठावान् शिक्षक–कर्मचारीहरूको संख्या थुप्रै छ, जसले विश्वविद्यालयलाई सही दिशातर्फ डो¥याउने सपना बोकेका छन् । उनीहरूले शैक्षिक गुणस्तरमा जोड दिइरहेका छन्, अनुसन्धानमा संलग्न छन्, विद्यार्थीको भविष्य बनाउने खटनमा जुटिरहेका छन् । त्यसैले, सम्पूर्ण विश्वविद्यालयलाई एउटै रङले रंग्नु अन्याय हो। विश्वविद्यालय केवल कुनै ‘पार्टी विशेष’ का कार्यकर्ताहरूले भरिएको संस्था होइन । यहाँ त जनप्रतिनिधिहरू, समाजका सचेत वर्ग, अभिभावक, विद्यार्थी र शिक्षक–कर्मचारी सबैको सामूहिक उत्तरदायित्वले मात्र समृद्धि सम्भव छ ।

 विश्वविद्यालयमा केही कमजोरी छन् भने त्यसको सुधारको जिम्मा विश्वविद्यालय मात्र होइन, सम्पूर्ण समाजको पनि हो। आलोचना गर्न पाइन्छ, गर्नुपर्छ तर त्यससँगै समाधानका उपाय र सहकार्यको भावनासमेत हुनु आवश्यक छ । यो संस्था कुनै एक राजनीतिक दल विशेषको थलो होइन, न त यहाँ कार्यरत सबै व्यक्ति ‘राजनीतिक भागबण्डा’का भरमा अाएका हुन् । यहाँ धेरैजसो शिक्षक तथा कर्मचारी योग्य, परिश्रमी र निष्ठावान् छन्, जसले विश्वविद्यालयलाई गुणस्तरयुक्त बनाउने लक्ष्य बोकेका छन् ।

विश्वविद्यालय र समुदायबीचको सम्बन्ध केवल प्रयोगकर्ता र प्रदायकको सम्बन्ध होइन, यो साझेदारको सम्बन्ध हो। विश्वविद्यालयले समुदायलाई शिक्षित, दक्ष र सशक्त बनाउँछ भने समुदायले पनि विश्वविद्यालयलाई सुरक्षित, समावेशी र उत्तरदायी बनाउन सघाउनुपर्छ। समाजले विश्वविद्यालयको सफलता मात्र होइन, असफलताको पनि जिम्मा लिन सक्नुपर्छ। विश्वविद्यालय सफल भयो भने त्यसको श्रेय केवल संस्था वा सरकारलाई होइन, सम्पूर्ण समाजलाई जान्छ। असफल भयो भने पनि दोष केवल भित्रका मानिसलाई मात्र होइन, बाहिरका सहयोग नगर्ने समाजलाई पनि जान्छ।

अतः हामी सबै मिलेर यो विश्वविद्यालयलाई सुदूरपश्चिम क्षेत्रकै गौरव र समृद्धिको इन्धन बनाउन सघाउनुपर्छ। आलोचना होइन, सहभागिता चाहिन्छ। नकारात्मकता होइन, सकारात्मक सोच र सुधारको भावना आवश्यक छ। सुदूरपश्चिम विश्वविद्यालयको मजबुती भनेको यस क्षेत्रकै भविष्यको मजबुती हो। यसलाई कमजोर बनाउने होइन, सबैले मिलेर सबल बनाउने जिम्मेवारी लिऔं ।

(लेखक सुदूरपश्चिम विश्वविद्यालय शिक्षाशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक हुन् । )

Himal dental
सम्बन्धित
Loading...