

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र भीमदत्त नगर कमिटीले भीमदत्त नगरपालिकामा बेथिति बढेको निष्कर्ष निकाल्दै खबरदारी गर्ने भएको छ । माओवादी केन्द्रको नगर कमिटीको भेलाले भीमदत्त नगरपालिकामासबै १९ वडामा नगरपालिका, प्रदेश, संघीय सरकारबाट सञ्चालित योजना गुणस्तरहिन भएको भन्दै खबरदारी गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रकी नेत्रृ माया नेगीले तीनै तहका सरकारबाट संचालन भईरहेका योजना प्रभावकारी जनहितमा नभएको केबल ठेकेदार, बिचौलिया गिरोहमा संचालित भईरहेको भन्दै त्यस बिरुद्ध नगरपालिका सहितका प्रदेश र संघीय सरकारका कार्यालय बिरुद्धमा सशक्त खबरदारी गरिने बताए ।

समान्य बर्षा हुँदा विपदमा परेका जनताको उद्दार गर्न तीनै तहका सरकारले सकृयता नभएको भन्दै पाटीका तर्फबाट भुवन कुँवरको संयोजकत्वमा विपद व्यवस्थापन समिति गठन गरिएको छ । राज्यको बजेट दोहन गर्नका लागि कागजी कार्यक्रम बनाएर बजेट सक्नका लागि मात्रै बन्ने विपद्का कार्यक्रम प्रभावकारी नहुने बताए ।
माओवादी केन्द्रका नेता दशरथ भण्डारीले स्थानीयदेखि प्रदेश र सघीय सरकारका बेथिति बिरुद्धमा नगरबाटै संघर्षको अभियान थालनी गरिने बताए ।
‘अहिले पाटीले संस्थागत रुपमा अनियमितता बिरुद्ध प्रभावकारी निगरानी गर्न नसक्दा सार्वजनिक निकायमा भ्रष्टाचार मौलाएको छ, ‘उनले भने, ‘राज्यका निकायलाई भ्रष्टाचार मुक्त गराउन माओवादी पाटीले संस्थागत संघर्ष गर्नुको विकल्प छैन ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रीय सदस्य जयराज पाण्डेयले भीमदत्त नगरमा हुने हरेकखाले भ्रष्टाचार बिरुद्धमा पाटी पङक्तिले सशक्त भूमिका निर्वाहमा जोड दिए ।
