

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखक कञ्चनपुरका ठूला योजनाको स्थलगत निरीक्षण गरी काठमाडौं फर्र्किएका छन् । पुख्र्यौली जिल्ला बैतडीबाट शनिबार साँझ महेन्द्रनगर आएका गृहमन्त्री लेखकले आइतबार महाकाली नदीमा निर्माणधिन तटबन्ध, गाइडबण्ड, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र मझगाउँ विमानस्थल निरीक्षण गरे ।
गृहमन्त्री लेखकले महाकाली नदीको गाइडबण्ड निर्माणको निरीक्षण गर्दै सरकारले छिटो निर्णय लिएकाले यस पटक ठूलो क्षति हुनबाट जोगिएको बताए । गृहमन्त्री लेखकको पहलमा सरकारले एक महिना अघि विप्द जोखिम क्षेत्र घोषणा गरेपछि नेपाली सेनाले गाइडबण्ड निर्माण गरि रहेको छ ।

गृहमन्त्री रमेश लेखकले आइतबार सो क्षेत्र स्थलगत निरीग्ण गरे । त्यसपछि दोधारा चांदनीस्थित निर्माणाधीन सुख्खा बन्दरगाह र बिमानस्थलको पनि गृहमन्त्रीले निरीक्षण गरेका छन् ।
गृहमन्त्रीसंगै सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, मधुदेबी भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिका प्रमुख पदम बोगटी, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमारलिम्बु , प्रमुख जिल्ला अधिकारी लक्षमण ढकाल लगायत प्रशासनिक तथा सुरक्षा अधिकारी निरीक्षणमा सहभागी भएका छन् ।
निरीक्षण अघि गृहमन्त्री लेखकले होटेल ओपेरामा कार्यकर्ता सहित विभिन्न क्षेत्रका व्यक्तिसित भेटघाट गरेका थिए ।
