

–रनि विवश
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १ का स्थानीय मदनराज भट्ट आइतबार विहानै घर नजिक प्रस्तावित सुख्खा बन्दरगाह निर्माण स्थलमा पुगेका थिए । गृहमन्त्री रमेश लेखकले सुख्खा बन्दरगाह निरीक्षणका लागि आउने जानकारी पाएपछि उनी अन्य स्थानीयसंगै निर्माण स्थल पुगेका हुन् ।

गृहमन्त्री लेखक पुग्न अघि उनी मलेरिया नाला पारी निर्माण स्थल पुगेर वारी पक्की सडकमा फर्कि सकेका थिए । भट्ट दोधारा चाँदनी नगरपालिका १ स्थित महाकाली आदर्श माध्यमिक विद्यालयका शिक्षक हुन् । उनी आफ्नै वडामा सुख्खा बन्दरगाह निर्माण हुने भएपछि खुसी छन् ।
भन्छन्,‘यो सुख्खा बन्दरगाह बनेपछि म मात्रै होइन, हामी सबै खुसी नै हुनेछौ ।’
शिक्षक भट्टले सुख्खा बन्दरगाह निर्माण भएपछि स्थानीयलाई हुने प्रमुख तीन फाइदा सुनाए । पहिलो फाइदा स्थानीयले रोजगारी पाउने, दोस्रो स्थानीयको कृषि उत्पादन बिक्री भएर आय आर्जन हुने र तेस्रो भारतीय बजारसम्म सहज पहुँच ।
सुख्खा बन्दरगाह जोड्नका लागि भारत सरकारले वनबासा बजार नजिक जोगबुडा नदीबाट सडक निर्माण अन्तिम चरणमा पुगाएको छ ।
गृहमन्त्री रमेश लेखक आइतबार दिउँसो सुख्खा बन्दरगाह स्थलमा पुगेर फर्किए । गृहमन्त्री लेखकले भारतले सुख्खा बन्दरगाह निर्माण कार्यको ठेक्का गरि सकेकाले छिट्टै निर्माण कार्य अघि बढ्नु पर्ने बताए ।

निरीक्षणका क्रममा गृहमन्त्री लेखकलाई कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले सुख्खा बन्दरगाहर निर्माण कार्य छिटो सुरु गर्नका लागि पहल गरि दिन आग्रह गरे ।
गृहमन्त्री लेखकले सुख्खा बन्दरगाह निर्माणको ठेकेदार कम्पनीका प्रतिनिधिसित सोधपुछ गरी जानकारी लिए ।
दोधारा चाँदनी नगरपालिका ७ को कञ्जभोजमा स्थानीयले जग्गा दिन नमानेपछि १ नम्बर वडामा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढेको हो ।
२०६६ मा तत्कालिन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने घोषणा गरेका थिए ।
तत्कालिन मन्त्री भट्टको घोषणापछि कञ्जभोजमा सुख्खा बन्दरगाह बनाउन लामो समय गरिएका प्रयास सार्थक हुन सकेन । स्थानीयले अन्तिमसम्म सुख्खा बन्दरगाहका लागि जग्गा दिने अडान नछाडेपछि स्थान सारिएको थियो ।
दोधारा चाँदनी नगरपालिका १ मा स्थान सारिएपछि सुख्खा बन्दरगाह निर्माण कार्य प्रक्रिया अघि बढेर ठेक्का भएको छ ।
गृहमन्त्री लेखकले आइतबार निरीक्षणका क्रममा ठेक्का भएकाले सुख्खा बन्दरगाह निर्माण कार्य सुरु हुने विश्वास व्यक्त गरे ।

निरीक्षणपछि गृहमन्त्री लेखकले सुख्खा बन्दरगाहलाई गेम चेन्जर योजना भनेर सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
उनले भनेका छन्,‘ आज महाकाली नदिको बाढी नियन्त्रण र पुल संरक्षण गर्न नेपाली सेनाले गरिरहेको काम, दोधारा चाँदनी स्थित प्रस्तावित सुख्खा बन्दरगाह निर्माणस्थल र मझगाव एयरपोर्ट निर्माणस्थल हेरे । महाकाली नदि नियन्त्रणको कार्य प्रगति राम्रो छ। सुख्खा बन्दरगाहको ठेक्का भईसकेको हुँदा चाडै निर्माण कार्य प्रारम्भ गर्नु पर्छ। सुदुरपश्चिमको आर्थिक प्रगतिको ढोकाको रूपमा रहेका (गेम चेम्बर योजना) देशकै महत्वपूर्ण यी योजना चाडो सम्पन्न गर्नु पर्छ ।’
गृहमन्त्री लेखक कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद हुन् । सुख्खा बन्दरगाह गृहमन्त्री लेखकको निर्वाचन क्षेत्रमा बन्न लागेको हो ।
पाँच वर्ष अघि प्रक्रिया थालिएको सुख्खा बन्दरगाहमा १० महिना अघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जग्गा प्रयोगका लागि दिने अनुमति दिएको थियो ।
मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुख्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेपछि ठेक्का लगायतका प्रक्रिया अघि बढेको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुख्खा बन्दरगाह निर्माण गर्न लागेका हो ।
सुख्खा बन्दरगाहका लागि मायापुरी सामुदायिक वनमा एक हजार पाँच सय ९३ रुख काटिएका छन् । मन्त्रिपरिषद्को निर्णयपछि जग्गाको भोगाधिकार पाएपछि रुख कटान प्रक्रिया अघि बढेको थियो । रुख कटानका लागि ४१ लाखमा ठेक्का दिइएको थियो ।
भारतले ठेक्का दिएपछि तीन वर्षभित्र काम सक्ने सम्झौता छ । पाँच अर्ब ७५ करोड खर्च हुने सुख्खा बन्दरगाह दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेनटाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायत पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिको भनाई छ ।
नेपाल र भारत सरकारबीच सुख्खा बन्दरगाह निर्माणका लागि सन् २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि भारतले दुई अर्ब ५४ करोड ३१ लाख भारतीय रुपैयाँको टेण्डर आह्वान गरेको थियो ।
नेपालले सुक्खा बन्दरगाहसम्म ६ लेन पहुँच मार्ग र महाकाली नदीमा चार लेन निर्माण गरि सकेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको प्राविधिक समितिको सिफारिस अनुसारको क्षेत्रमै आधारित रहेर सुख्खा बन्दरगाह परियोजनाको गुरुयोजना तयार गरिएको थियो ।
गुरुयोजना बनाउन तीन महिना, वातावरणीय प्रभाव मूल्यांकन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न तथा ठेक्का आह्वान गर्न १५ महिना लाग्ने गुरुयोजानामा भनिएको थियो ।
सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने गृहमन्त्री लेखकले बताए ।
उनले सुख्खा बन्दरगाह सञ्चालनमा आए कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने वर्र्षाैदेखिको सपना सार्थकता पाउने विश्वास व्यक्त गरे ।
कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले निर्माण ठेक्का अनुसार छिटो काम सुरु हुने बताए ।
‘ठेक्का भइ सकेको छ, भारतीय ठेकेदार कम्पनीका प्रतिनिधि नै आई सकेका छन्, तर अझै पनि केही अवरोध छन् भन्ने सुनिन्छ, ती अवरोधलाई हटाएर छिटो भन्दा छिटो निर्माण प्रक्रिया अघि बढाउनु पर्छ’ उनले भने ।
एक साता अघि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुख्खा बन्दरगाह निर्माण स्थल निरीक्षण गरेका थिए ।

