

महेन्द्रनगर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजश्व सङ्कलन वृद्धि भएको छ । कार्यालयका प्रमुख, कर अधिकृत डमरुप्रसाद पराजुलीका अनुसार कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा कार्यालयले दुई अर्ब ३९ करोड चार लाख २२ हजार राजस्व सङ्कलन गरेको थियो। यसपटक आयकरमा १३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

प्रमुख कर अधिकृत पराजुलीका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा ८५ करोड आठ लाख ६५ हजार आयकर सङ्कलन भएको छ। अघिल्लो आर्थिक वर्षमा ७५ करोड एक लाख ७२ हजार आयकर सङ्कलन भएको थियो ।

त्यसैगरी, ब्याजकरमा पनि २२ प्रतिशतले वृद्धि भएको छ। कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा दुई करोड ८९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा दुई करोड ५२ लाख ५० हजार सङ्कलन गरेको थियो। घरबहाल कर १२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ। कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा एक करोड ३७ लाख ८० हजार घरबहाल कर सङ्कलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा एक करोड २२ लाख ७७ हजार घरबहाल कर सङ्कलन गरेकामा कार्यालयले भ्याटमा रु ६० करोड ८८ लाख ६१ हजार र अन्तःशुल्कमा ९० करोड ९१ लख ७१ हजार राजस्व सङ्कलन गरेको छ। “यो आवमा आयकर बढेको छ, भ्याटमा कम छ”, प्रमुख कर अधिकृत पराजुलीले भने, “अन्तशुल्क कर बराबरी छ समग्रमा गत आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ।”
कार्यालयको १३ करोड राजस्व बक्यौता रहेको छ। “भ्याटमा रु नौ करोड र आयकरमा रु चार करोड बक्यौता बाँकी छ”, उनले भने, “बक्यौता रकमका लागि करदातालाई पसलमै गएर, फोनबाट जानकारी गराउने गरेका छौँ।”
बक्यौता रकम नतिर्ने करदातालाई पटक–पटक बक्यौता तिर्न प्रेरित गर्ने र नतिर्ने करदाताको पत्रपत्रिकामा सूचना निकाल्ने गरेको प्रमुख कर अधिकृत पराजुलीले बताए। “पटक–पटक ताकेता गर्दा पनि अटेरी गर्ने करदातालाई पत्रपत्रिकामा सूचना निकाल्ने र समयमै बक्यौता नतिर्नेको बैँक खाता रोक्कासमेत हुनसक्छ”, उनले भने ।

