

महेन्द्रनगर । नेतृत्व परिवर्तन पक्षमा उभिएका स्थायी कमिटी सदस्य कर्ण थापामाथि एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर समर्थक नेताले सार्वजनिक कार्यक्रममा निशाना साँधेका छन् ।
एमाले सम्बद्ध प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा शुक्रबार नेताहरुले स्थायी कमिटी सदस्य थापाको नाम नलिई उनीमाथि विभिन्न लाञ्छना लगाएर व्यङ्ग्यबाण प्रहार गरेका छन् ।

पछिल्लो पटक स्थायी कमिटी सदस्य थापा एमालेमा नेतृत्व परिवर्तनको पक्षमा खुलेर लागेका छन् । उनी पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीलाई एमालेको नेतृत्व दिनु पर्ने लबिङ्ग गरि रहेका छन् ।
थापा पूर्व राष्ट्रपति भण्डारीलाई नेतृत्व दिनु पर्ने पक्षमा उभिएपछि अध्यक्ष ओलीका कट्टर समर्थक मानिने एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट सार्वजनिक कार्यक्रममा थापामाथि थापामाथि आक्षेप लगाएका छन् ।
प्रेस चौतारीको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रममा इन्चार्ज भट्टले थापाको नाम नलिई उनीमाथि अध्यक्ष ओलीलको देबत्वकरण गर्नेहरुले नै उनको विरोध गरेको आक्षेप लगाएका छन् ।
“केपी ओली खराब हुन् कि भन्ने मान्छेहरू खराब हुन् । पहिला देवत्वकरण गर्ने पनि उनै, अहिले दानवीकरण गर्ने पनि उनै । भनेपछि खराब ओली कि विरोध गर्ने भन्ने मान्छे ?“ कार्यक्रममा इन्चार्ज भट्टले भने, “ओलीजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने व्यक्ति नेपालमा छैनन् । ओलीमाथिको समर्थन देवत्वकरण होइन, अहिलेको आवश्यकता हो । ओलीविनाको एमाले र एमालेविनाको देश सम्भव छैन भन्ने वस्तुस्थिति हो ।“

प्रशिक्षण कार्यक्रममा इन्चार्ज भट्टले आफ्नो भाषणको अधिकाँश समय अध्यक्ष ओलीको गुणगान गरे । उनले अध्यक्ष ओली एमाले र एमाले भनेको ओली भएको समेत उल्लेख गरे ।
अध्यक्ष ओलीको राष्ट्रियताका लागि अडिग भएर उभिने स्वभावका कारण उनीमाथि लागतार प्रहार हुने गरेको पनि भट्टको भनाई छ ।
कार्यक्रममा उनी पूर्व राष्ट्रपति विद्यादेबी भण्डारी पार्टीमा फर्किने कुरामा पनि असन्तुष्टि पोखे । ‘पूर्व राष्ट्रपतिलाई सम्मानित भएर बस्न एमालेले सुझाव दिइसकेको छौ, गणतन्त्रको गरिमा र गौरवका रूपमा सम्मान गर्ने निर्णय भइसकेको छ’ उनले भने, ‘केपी शर्मा ओलीको अद्भुत क्षमता बुझ्न समय लाग्छ, महाकाली किनारबाट मेची किनार देख्नुहुन्छ, म नारायणीसम्म देख्छु । कसैले चिसापानीसम्म मात्र देख्छन् । त्यसैले उहाँको दृष्टि र कदम बुझ्न समय लाग्छ ।”
एमालेका अर्का स्थायी कमिटी सदस्य सदस्य एबम् जन संगठन इन्चार्ज भानुभक्त ढकालले पार्टीका आन्तरिक विषय सार्वजनिक रूपमा उठाउने अभ्यास पार्टी अनुशासन विपरीत भएको उल्लेख गरे ।
“केपी ओली विनाको एमाले बनाऊँ भन्न पाइन्छ, म बन्छु, उहाँभन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ“ उनले भने, “तर भन्ने कुरा ठाउँमा भन्नुपर्छ, कुठाउँमा भन्नु हुँदैन ।’
ढकालले पनि अध्यक्ष ओलीको गुणगाणमा आफ्नो प्रशिक्षणको अधिकाँश समय खर्चे । उनले भने, ‘यो निर्णय सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको सोचविचारबाट भएको हो । महाधिवेशनमा लड्न छुट त सबैसँग छ तर विधि र विधान विपरीत हल्ला गर्दै हिँड्नु अनुचित हो ।’
कार्यक्रममा एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पालले ओली विना ओली विनाको एमाले असम्भव रहेको बताइन् ।
‘केपी ओलीविनाको एमाले र एमालेविनाको समृद्ध नेपाल’ असम्भव छ, एमाले केन्द्रीय कमिटीको निर्णय नै विधान महाधिवेशनको सार र सङ्केत हो,यो साथ र समर्थनमा हरेक एमालेजन तयार रहेको र रहने स्पष्ट हुनु पर्छ, अरू धेरै बुझ्न जरुरी छैन’ उनले भनिन् ।

