

महेन्द्रनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पूर्व गृह तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ महेन्द्रनगर पुगेका छन् ।
सोमबार धनगढीबाट पुनर्वास बेलौरी हुँदै उनी महेन्द्रनगर आएका छन् । मन्त्री श्रेष्ठ सोमबार माओवादी केन्द्रले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भए ।
उपाध्यक्ष श्रेष्ठले मङ्गलवार माओवादी केन्द्रको भीमदत्त नगरको दोस्रो नगर सम्मेलन उद्घाटना गर्ने भएका छन् । प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उनी सहभागी भएका छन् ।

सोमबार पत्रकार सम्मेलनपछि उनी दोधारा चाँदनी पुगेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा गरिएको कार्यक्रममा श्रेष्ठ सहभागी भएका छन् ।

श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान कार्यालय पनि उद्घाटन गर्ने कार्यक्रम छ । महेन्द्रनगरको चमनचोकमा प्रतिष्ठान कार्यालय स्थापना गरिएको छ । श्रेष्ठ प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन् ।
माओवादी केन्द्रका नेता शंकर कुँबरले पुनर्वास हुँदै उपाध्यक्ष श्रेष्ठ महेन्द्रनगर आएर विभिन्न कार्यक्रममा सहभागी भएको बताए ।

पुनर्वास, बेलौरी, महेन्द्रनगर लगायतका विभिन्न स्थानमा श्रेष्ठलाई फूलमाला लगाएर स्वागत गरिएको छ ।
माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनका नेताबीच कुटाकुट भएपछि महेन्द्रनगर आउने श्रेष्ठ माओवादी केन्द्रका शीर्ष नेता हुन् ।
माओवादी केन्द्रको पार्टी कार्यालयमा विद्यार्थी संगठनका नेताबीच विवाद भएर कुटाकुट भएपछि केन्द्रीय उप महासचिव एबम् सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्टको टाउको ढुङ्गा प्रहार गरिएको थियो । भट्टको काठमाडौंमा उपचार भई रहेको छ।
