ghar sansar

चन्दा र राजनीतिक भ्रष्टाचार : लोकतन्त्रको आधारभूत चुनौती

little buddha academy
khasi
dirghayi clinic

ईश्वरी प्रसाद खरेल

राजनीति भन्नाले लोकतन्त्र, नैतिकता र जनताको विश्वासलाई बुझिन्छ । राजनीतिक दलहरूलाई लोकतान्त्रिक प्रणालीको मेरुदण्ड मानिन्छ, किनकि दलहरू नै चुनावमार्फत नेतृत्व निर्माण गर्छन्, नीति बनाउँछन् र राज्य सञ्चालन गर्छन् । तर नेपालजस्तो मुलुकमा केहि राजनीतिक दलहरूको एउटा गम्भीर कमजोरी भनेको चन्दा असुलीको संस्कृतिले संस्थागत भ्रष्टाचारलाई बढावा दिनु हो ।

दलहरू संगठन सञ्चालन, प्रचार–प्रसार र चुनावी खर्चको नाममा व्यापारी, उद्योगी, निर्माण व्यवसायी तथा कर्मचारीसँग चन्दा उठाउने परम्परा निकै पुरानो भए पनि अहिले यसले खतरनाक रूप लिएको छ । सतहमा सामान्य आर्थिक सहयोगझैँ देखिने यो अभ्यास वास्तवमा अप्रत्यक्ष भ्रष्टाचार को प्रचलन हो, जसले लोकतन्त्रलाई नै कमजोर बनाउँदै लगेको छ ।

–चन्दा असुली र दबाबको राजनीति व्यापारी वा ठेकेदारहरूले राजनीतिक दललाई दिएको चन्दा प्रायः स्वेच्छाले दिइएको हुँदैन। यसको पछाडि राजनीतिक दबाब र भविष्यमा हुने लाभ–हानिको गणना हुन्छ ।  चन्दा नदिए ठेक्का नपाइने, कारोबारमै अवरोध हुने डरले व्यवसायी बाध्य हुन्छन् । कर्मचारीलाई पार्टीमा योगदान गर्न बाध्य पारिन्छ, नत्र जागिरमै संकट आउँछ भन्ने भय हुन्छ । यसरी उठाइने रकम स्वेच्छिक सहयोग नभई आर्थिक शोषण हो। यस्तो चन्दा जबरजस्ती असुलीको रूप लिन्छ र यो प्रवृत्ति नै लोकतान्त्रिक मूल्य विपरीत हुन्छ !

–अवैध असुली र स्रोतको दुरुपयोग

चन्दा संस्कृतिले केवल व्यापारी वा कर्मचारीलाई मात्र होइन, राज्यका संवेदनशील निकायहरूलाई समेत प्रभावित बनाएको छ । भन्सार निकायमा अवैध असुलीः दलसँग नजिक भएका व्यवसायीले चन्दा बुझाएर कर छल्न, अवैध मालसामान पास गर्न वा छुट प्राप्त गर्न सहज वातावरण पाउँछन्। यसरी भन्सारबाट राज्यलाई जाने राजस्व घट्छ र अवैध कारोबार प्रोत्साहन हुन्छ ।

डिजेल–पेट्रोलको अवैध असुलीः   धेरै ठाउँमा दलका नाममा स्व घोषित कथित नेतालेसरकारी कार्यालयमा उपलब्ध हुने पेट्रोल–डिजेल उठाउछ। यसले सरकारी स्रोतलाई निजी स्वार्थमा प्रयोग गरिन्छ । 

सरकारी गाडीको दुरुपयोगः  केही नेताहरूले व्यक्तिगत काम, पार्टीगत गतिविधि वा पारिवारिक प्रयोजनका लागि सरकारी गाडी प्रयोग गर्ने गरेका छन्। यो प्रष्टतःनेपाली जनता माथि गरिएको अन्याय हो ।

यी कार्यहरू सबै ठाडो भ्रष्टाचारका उदाहरणहरू हुन्, जसलाई चन्दा संस्कृतिले नै प्रश्रय दिएको छ ।
–स्व घोषीत नेताहरूको कारणले र दल को बदनामी र अस्वस्थता बढेको हो । उनीहरू संगठनलाई आफ्नै स्वार्थ पूरा गर्ने माध्यम ठान्छन् । चन्दा असुलीलाई व्यक्तिगत समृद्धिको स्रोत बनाउँछन् । सरकारी स्रोत दुरुपयोग गरेर पार्टी वा समूहगत हित साध्छन् ।

यस्ता व्यक्तिहरूको स्वार्थी व्यवहारले पार्टीहरूलाई नै अफ्ट्यारो र बदनाम बनाइरहेको छ। दलभित्र केहीको गतिविधिले गर्दा सम्पूर्ण संगठन र त्यसका हजारौँ इमानदार कार्यकर्ताको छवि नष्ट हुन्छ ।

जनताले सम्पूर्ण दललाई नै भ्रष्ट, स्वार्थी र अविश्वसनीय ठान्न थाल्छन्, जसले लोकतान्त्रिक प्रणालीप्रति नै निराशा र असन्तोष फैलाउँछ ।

–स्वस्थ प्रतिस्पर्धामा असर

जब कुनै ठेकेदार वा व्यापारीले ठूलो चन्दा दिन्छन्, उनीहरूलाई सरकारी ठेक्का वा विशेष सुविधा पाउने सम्भावना बढ्छ ।  यो प्रतिस्पर्धामा असमानता ल्याउँछ ।  इमानदार र सक्षम व्यवसायी पछि पर्छन्, जबकि चन्दा बुझाउनेले लाभ लिन्छन् । नीतिगत भ्रष्टाचार बढ्छ, किनकि नीति र कानुन चन्दा दिने शक्तिशाली समूहहरूको हितअनुसार बन्न थाल्छ।
यसरी, चन्दा संस्कृतिले स्वस्थ आर्थिक प्रतिस्पर्धा र सुशासन दुवैलाई कमजोर पार्छ ।

–जनताको करको दुरुपयोग

राजनीतिक दलका कार्यकर्ता वा नेताले राज्यका स्रोतहरूलाई व्यक्तिगत वा दलगत प्रयोजनमा प्रयोग गर्नु अर्को गम्भीर समस्या हो । जनताले तिरेको करबाट जम्मा भएको पैसा पार्टीगत गतिविधिमा खर्च हुन्छ ।

सार्वजनिक गाडी, इन्धन, कार्यालयका साधन–स्रोत सबै पार्टीगत प्रयोगमा दुरुपयोग हुन्छ ।
यसले जनतामा असन्तोष बढाउँछ, किनकि उनीहरूले बुझ्ने गर्छन्—राज्यका स्रोतहरू विकास र सेवामा नभई नेताको व्यक्तिगत फाइदामा खर्च भएका छन् ।

– चन्दा दिनेले पाउने अप्रत्यक्ष फाइदा

चन्दा दिनेहरू सबै केवल दबाबकै कारण मात्र चन्दा बुझाउँदैनन्। धेरैले यसबाट अप्रत्यक्ष फाइदा पनि खोज्छन्।
ठेक्का र परियोजना पाउने सुविधा ः ठूला ठेक्का वा सरकारी योजना हासिल गर्न चन्दा बुझाउनेहरूलाई प्राथमिकता दिइन्छ।

कानुनी उन्मुक्ति : कर छल्ने वा गुणस्तरहीन काम गर्ने व्यवसायीले राजनीतिक संरक्षण पाउँछन्।
प्रशासनिक सजिलो :  भन्सार, कर कार्यालय वा अन्य सेवामा छिटो काम हुन्छ।
नीतिगत प्रभाव : उनीहरूको हितअनुसार नीति बनाउन दबाब दिन सजिलो हुन्छ।
सुरक्षा कवच : चन्दा दिने व्यवसायी वा उद्योगीलाई राजनीतिक संरक्षण मिल्छ, जसले गर्दा उनीहरू सजिलै धरपकड वा कारबाहीमा पर्दैनन् ।
यसरी, चन्दा दिनेले पनि आफ्नो अवैध गतिविधि लुकाउने, गैर–प्रतिस्पर्धी लाभ लिने र राज्य प्रणालीलाई आफ्नो पक्षमा मोड्ने अवसर पाउँछन् ।
व्यापारी, उद्योगी, कर्मचारीसँग जबरजस्ती वा दबाबका आधारमा उठाइने चन्दा, भन्सारमा हुने अवैध असुली, सरकारी इन्धन र गाडीको दुरुपयोग—यी सबै अप्रत्यक्ष मात्र होइन, प्रत्यक्ष भ्रष्टाचारका स्पष्ट उदाहरणहरू हुन् ।

यस्ता गतिविधिले केही नेताहरूलाई व्यक्तिगत रूपमा फाइदा पु¥याए पनि सम्पूर्ण दललाई अफ्ट्यारोमा पार्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ। जनताले दलप्रति विश्वास गुमाउँछन् र समग्र राजनीतिक प्रणाली नै प्रश्नचिह्नमा पर्छ ।

अर्कोतर्फ, चन्दा दिनेहरूले पनि यसबाट अप्रत्यक्ष फाइदा लिन्छन्—ठेक्का, कर छुट, कानुनी उन्मुक्ति, प्रशासनिक सजिलो र राजनीतिक संरक्षण । यसैले यो अभ्यासलाई दुईपक्षीय भ्रष्टाचार भन्न सकिन्छ, जसमा उठाउने र बुझाउने दुवै पक्ष लाभान्वित भए पनि देश र जनताले घाटा बेहोर्नु पर्छ ।

अब समय आएको छ—राजनीतिक दलहरूले आफैँलाई शुद्ध पारेर पारदर्शी, उत्तरदायी र जनमुखी बन्ने। नत्र, चन्दा संस्कृतिले दलहरूको छवि मात्र होइन, लोकतन्त्रको भविष्यलाई समेत अँध्यारोमा धकेल्नेछ ।

(लेखक एमले केन्द्रीय लेखा आयोग सचिवालय सदस्य हुन् ।)

Himal dental
सम्बन्धित
Loading...