

महेन्द्रनगर । ‘यो मेरो हातको समस्याले मलाई यो पढ्न अप्ठेरो भई रहेको छ, यो बाँकी राजनीतिक प्रतिवेदन वाचनका लागि म जिल्ला उपाध्यक्ष जनकराज अवस्थीलाई आग्रह गर्छु’ एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढा आइतबार जिल्ला कमिटि प्रतिनिधि परिषद् बैठकमा मञ्चबाट आग्रह गर्र्दै आशनमा फर्किइन् ।
अध्यक्ष बुढाको आग्रहपछि उपाध्यक्ष अवस्थीले एमाले कञ्चनपुरको राजनीतिक प्रतिवेदन प्रस्तुत गरे ।

एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा गरिएको बैठकमा महासचिव पोखरेलको मन्तव्यपछि राजनीतिक, साँगठनिक र लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम गरिएको हो ।
त्यस अनुसार कार्यक्रमका सञ्चालक जिल्ला सचिव बुढालाई राजनीतिक प्रतिवेदन प्रस्तुतका मञ्चमा आमन्त्रण गरेका हुन् ।

सचिवको आमन्त्रणपछि मञ्चमा पुगेकी अध्यक्ष बुढाले कार्यक्रमका सहभागीलाई सम्बोधन गरी आफ्नो मन्तव्य राखिन् । उनले कञ्चनपुर एमालेको वर्तमान अवस्था, स्थानीय र प्रदेश तथा संघ निर्वाचनमा पार्टीले व्यहोरेको पराजय, एमालेको अवस्था लगायत विषयमा मन्तव्त राखिन् ।
अध्यक्ष बुढा दाँया हातले प्रतिवेदन बोकेर मञ्चमा पुगेकी थिइन् । उनको बाँया हात प्लाष्टर लगाएकाले मञ्चमा उनलाई राजनीतिक प्रतिवेदन समात्न असहज भएको देखिन्थ्यो ।
पाँच महिना अघि अध्यक्ष बुढाको सवारी दुर्घटनामा परी बाँया हात भाँचिएको हो । बुढा सवार सुपप्र ०२००४ प २६९९ स्कुटरलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा बिएई ०२९८ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको थियो ।
कारको ठक्करबाट भाँचिएको हातमा बुढाले प्लाष्टर गरेकी छन् । काठमाडौंमा हातको गरी प्लाष्टर गरेपछि उनी जिल्ला फर्किएककी हुन् । उनको टाउको समेत चोट लागेको थियो ।
बुढा एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएकी हुन् ।
उपाध्यक्ष अवस्थीले प्रस्तुत बुढाको राजनीतिक प्रतिवेदन पारित भएको छ । बुढाको अध्यक्षतामा बैठब गरिएको छ । राजनीतिक प्रतिवेदनमा एमाले कञ्चनपुरको राजनीतिक, साँगठनिक अवस्था, अन्य दल अवस्था, जनमतको अवस्था, कमीकजोरी लगायतका विषय समावेश गरिएका छन् ।

