

–बसन्ती बोहरा
नेपाली समाजमा परम्परागत कालदेखि नै शिक्षकलाई अत्यन्तै सम्मानित र उच्च दर्जाको व्यक्तिका रूममा हेर्ने गरिन्छ । शिक्षालाई समाजको मेरुदण्ड मानिन्छ । एक असल शिक्षकले विद्यार्थीको जीवनमा ज्ञान, प्रेरणा र नैतिकता मूल्यहरूको दीप जलाउँदछ । शिक्षकले केवल किताबी ज्ञान मात्र नभई जीवनका महत्वपूर्ण पाठहरू पनि सिकाउँछन्। विद्यार्थीलाई असफलताबाट डराउनुको सट्टा त्यसलाई सिकाइको अवसर बनाउन पनि एक असल शिक्षकले प्रोत्साहन गर्दछ ।

हाम्रो विश्वविद्यालयको प्राङ्गणमा मैले थुप्रै प्राध्यापकहरुबाट ज्ञान आर्जन गर्ने अवसर पाए तर तीमध्ये केही व्यक्तित्वहरू यस्ता छन् जसले केवल कक्षाकोठाको सिकाइमा मात्र सीमित नरही बरु विद्यार्थीहरूको जीवन र विश्वविद्यालयको शैक्षिक गुणस्तरमा निस्वार्थ भावले लागि पर्छन् ।यसरी विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै विश्वविद्यालयलाई गुणस्तर र उत्कृष्टताको बाटोमा डो¥याउनका लागि अतुलनीय योगदान एक प्रेरणादायी व्यक्ति हुनुहुन्छ दार्चुला बहुमुखी क्याम्पसका प्राध्यापक आदरणीय गुरु डम्मर सिंह साउद सर ।

आदरणीय गुरु डम्मर सिंह साउद सरसँग मेरो पहिलो भेट पहिलो सेमेस्टरको अङ्ग्रेजी विषयको कक्षामा भएको थियो । उहाँले पढाउने शैली, विषयवस्तुप्रतिको गहिरो ज्ञान र त्यसलाई बुझाउने शैलीले म प्रभावित भएकी थिए । उहाँले अङ्ग्रेजी विषयलाई केवल व्याकरण र साहित्यमा सीमित नराखी। त्यसलाई जीवनका विभिन्न आयामसँग जोडेर पढाउनुहुन्थ्यो। जसले गर्दा जटिल लाग्ने अवधारणाहरू पनि सहजैसँग बुझ्न सकिन्थ्यो । उहाँको कक्षा सधैँ रमाइलो ,अन्तरक्रियात्मक र सिकाइले भरिपूर्ण हुन्थ्यो । जसले हामीलाई निष्क्रिय स्रोत मात्र नभई सक्रिय सहभागी बनाउँथ्यो।
उहाँको सबैभन्दा उल्लेखनीय विशेषता भनेको प्रत्येक विद्यार्थीमा लुकेर रहेको प्रतिभा पहिचान गर्ने र त्यसलाई उजागर गर्ने उहाँको असाधारण क्षमता हो। उहाँले विद्यार्थीहरुलाई केवल परीक्षामा कसरी राम्रो अङ्क ल्याउने भन्ने कुरा मात्र न सिकाइ आलोचनात्मक सोचको विकास गर्ने ,प्रश्न गर्ने ,तर्क गर्ने र आफ्नो विचार स्पष्ट रुपमा राख्न सिकाउनु हुन्छ। उहाँले विद्यार्थीका ससाना प्रतिभालाई पनि चिनेर उचित अवसर प्रदान गर्नु हुन्छ । जसले गर्दा धेरै विद्यार्थीहरुले लेख्न ,साहित्य, वादविवाद र नेतृत्व जस्ता विभिन्न क्षेत्रहरुमा आफ्नो क्षमता विकास गर्न सफल भएका छन् । उहाँले कक्षामा हरेक विद्यार्थीलाई बोल्ने, विचार व्यक्त गर्ने र प्रस्तुत गर्ने अवसर दिनु हुन्छ।
उहाँको प्रतिभा केवल कक्षाकोठामा मात्र सीमित छैन। उहाँले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र दार्चुला बहुमुखी क्याम्पसलाई उत्कृष्ट केन्द्र बनाउनका लागि पनि महत्वपूर्ण योगदान प्रदान गर्नु भएको छ ।उहाँले विश्वविद्यालयको शैक्षिक सुधारका लागि विभिन्न लेखहरू लेख्नु हुन्छ। जुन लेखहरूले शैक्षिक नीति निर्माण र कार्यान्वयनमा मार्गदर्शन गर्न मद्दत गरिरहेको छ । उहाँले विद्यार्थीहरूलाई स्वअध्ययन र आजीवन सिकाईका लागि प्रेरित गर्नुहुन्छ। जसले गर्दा हामीलाई पाठ्यक्रमभन्दा बाहिर गएर पनि ज्ञान आर्जन गर्ने सुनौलो अवसर प्रदान हुन्छ।
उहाँ केवल एउटा शिक्षक मात्र नभई मार्गदर्शक र एक कुशल व्यक्तित्व विकासकर्ता पनि हुनुहुन्छ । उहाँले हामीलाई शैक्षिक ज्ञानका साथै नैतिक मूल्यमान्यता , सामाजिक जिम्मेवारी र जीवनउपयोगी सीपहरू पनि सिकाउनु हुन्छ । उहाँले असफलताबाट कसरी सिक्ने, चुनौतीहरूको सामना कसरी गर्ने र सधै सकारात्मक कसरी रहने भन्ने जस्ता महत्त्वपूर्ण पाठहरू पनि सिकाउनु हुन्छ । उहाँको धैर्यता, विद्यार्थी मैत्री व्यवहार र सधै सहयोगका लागि तयार रहने भावनाले उहाँलाई एक असल शिक्षक बनाएको छ ।
उहाँको व्यक्तिगत आचरण र अनुशासनले पनि हामीलाई आदर्श जीवन जिउने प्रेरणा दिन्छ। उहाँ क्याम्पस र समाजका लागि एक अमूल्य सम्पत्ति हुनुहुन्छ। यहाँले शैक्षिक क्षेत्रमा गरेको योगदान अतुलनिय छ। उहाँप्रति हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु ।
( लेखक सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन् ।)
