

रनि विवश
महेन्द्रनगर । चार दिन अघि जोगबुडा नदी रामपुरे टापुको बाँध भत्काएर नर्सरी हुँदै जर्का टोल पुग्यो । देउरालीघाट हुँदै निस्किने खल्ला पनि भरिँदै गएर वस्तीमा आउन थाल्यो । दुबैतिरको बाढीले विहानै वस्ती डुबानमा प¥यो । घरभित्र पानी भरिएपछि दोधारा चाँदनी नगरपालिका ८ जर्का टोलका राम बहादुर खड्का बाकसबाट नागरिक झिकेर ज्यान जोगाउन परिवार सहित लिएर हिँडे ।

बस्तीका अन्य वासिन्दासित हिँडेर उनी जाज्योति माध्यमिक विद्यालय पुगे । त्यहाँ वस्तीका सबै वासिन्दालाई बसोबासको व्यवस्था गरिएको थियो । तीन दिन जनज्योति बसेर बुधबार खड्का घर फर्किए । जनज्योतिको बसाई राम्रो भएको उनी बताउँछन् ।
‘पानी घरभित्रै घुसेको थियो, नागरिकता लिएर हिँडे, अरु त भोलि पनि बनाउन सकिन्छ, नागरिक जस्तो कुरा बनाउन सकिदैन भनेर त्यो मात्रै लिएर हिँडे’ खड्काले भने ।
घर फर्किएका खड्का अझै घरभित्र ढुक्कसित सुत्न सक्ने अवस्थामा छैनन् । घरका कोठाहरु हिलाम्य छ । बाढीसित आएको माटोको लेदो कोठाभरि छ । बुधबार विहानदेखि खड्काले घरभित्र सफाई गरे । पूरै घर सफा गर्दा पनि बस्न सकिने अवस्था नभएको खड्का बताउँछन् ।
‘घर बस्न लायक छैन्, सफाई गरे पनि बस्नलाई अझै एक हप्ता लाग्छ’ उनले भने ।
खडकाको घरको आँगनमा पनि लेदोले हिलाम्य छ । आँगनमा हिँडडुल गर्न समस्या खड्का परिवारलाई । उनको परिवारमा उनी सहित पाँच जना छन् ।
खडकाले घरभित्र सुत्नलाई इटा र भुस राखेर खटिलाई उचो बनाएर मात्र सुत्न सकिने बताए ।
‘ब्लक र भुसा राखेर अलि उचो बनाएर खाट राखे मात्रै कोठाभित्र सुत्न सकिन्छ,’ उनले भने,‘नत्र छतमा गएर सुत्न बाहेक अरु बाटो नै छैन ।’
खड्का अनुसार वस्तीमा सबै घरभित्र बाढी पसेर बस्न सकिने अवस्था नभएको बताए ।
जोगबुडा नदी किनारको जर्का टोलका ५ घर बाहेक सबै टिनले छाएका कच्ची छन् । ढड्डीको बार लगाएर ती सबै घरलाई माटोको गारो लगाएर बनाइएको छ । बस्तीमा तीन दर्जन घर छन् । टिनको छानो भएका परिवारले हिलो सफा गरेर घरभित्र बस्नको विकल्प नभएको खड्काले बताए ।
‘पक्की घर बनाउन कमाई छैन, कमाई नभएपछि बनाउन सकिएन’ उनले भने,‘अब जसको पक्की घर छ, वहाँहरुलाई त सुत्नलाई छत छ, अरुले त खाटलाई उचो बनाएर त्यसैमा सुत्न पर्छ ।’
बाढीले खडका परिवारको घरभित्र राखिएको गहुँ ड्रममा क्षति पुगाएको छ । सबै वासिन्दाको धान र भटमासमा क्षति पुगेको उनले बताए ।
‘१०÷१५ हजार लगाएर धान लगाए, बाढीले क्षति गरि दियो’ उनले भने,‘सबैको क्षति भएको छ, बर्बाद नै गरि दियो ।’
खड्काले २०८१ पछि खेतमा धान देख्न नपाएको व्यथा पोखे । ‘८१ सालमा बाढी आयो, धान देख्नै पाएनौ’ उनले भने, ‘पूरा एरियामा यस्तै छ, काटन देख्न पाएका छैनौ ।’
सोमबार विहान बाढी पसेपछि वस्तीका सबै वासिन्दा घर छाडेर निस्केको उनले सुनाए ।
‘हामी विद्यालयमा गयौ, कोही आफन्तको घर गए, यो नजिक उचो घर छन्, कोही त्यता पनि गए, ज्यान त जोगाउनु नै परो’ उनले भने ।

जर्का टोलका कर्ण बहादुर सुनार पनि घर फर्केपछि खेत हेरेर चिन्तामा छन् । बाढीले धानबाली क्षति भएको सुनारले बताए ।
‘खेतका धान मकै सबै क्षति भएको छ’ उनले भने, ‘अब कसरी हात मुख जार्ने हो, चिन्ता छ ।’
स्थानीय यम बहादुर थापा मगरले पनि घर फर्किएर सफाई गरेका छन् । घरभित्र पानी पसेर हिलाम्ये भएको उनी बताउँछन् । ‘घरभित्र हिलो भरिएको छ, फर्स त सफा ग¥यो, त्यो हिलो त सफा गरे पनि बस्न जस्तो छैन’ उनले भने ।
थापामगरको पक्की घर छ । घरको आँगनमा भने हिलाम्य भएर हिँडन समस्या भएको उनी बताउँछन् ।
जोगबुडा नदी किनारको जर्का टोल वस्ती २०२६ मा बसेको हो । पहिले यस वस्तीलाई टलटले भनिन्थ्यो । जर्का टोलसित जोडिएको छ रामपुर टापु बस्ती । रामपुरे टापुको नर्सरी भएर आउने बाढीले जर्का टोल डुबानमा पर्ने गरेको हो ।
स्थानीय खड्काले केही वर्षदेखि बस्तीमा बाढी आउने थालेको बताए । खडका अनुसार जोगबुडा नदीको बाढी आएर वस्तीमा डुबान हुने गरेको छ । जोगबुडा नदी रामपुरे टापुको नर्सरी र नर्सरीको क्षेत्रबाट वस्तीमा आउने गर्छ । अर्को रामपुरे टापु भएर आउने देउराली खल्ला भरिएपछि वस्तीमा जान्छ ।
‘देउराली खोला भरिएर आउँछ, जोगबुडा पनि आउँछ, दुबै वस्तीमा फैलिन्छन्, अनि डुबान हुन्छ’ खडकाले भने ।
भारतको जोगबुडा नदीमा पानी छाड्दा हिउँदमा समेत बाढी आउने गरेको स्थानीय बताउँछन् ।
जर्का टोलको बाढी रोक्न बलियो तटबन्ध बनाउनु पर्ने उनले बताए । ‘भारतले यता नदीमा पानी छाडि दिन्छ, त्यति बेला पनि आउँछ, त्यसैले मजबुत तटबन्ध बनि दिओस, हामी यति चाहन्छौ’ उनले भने ।
स्थानीयले बाढीपछि राहत बाँड्ने कार्य बन्द गरी तटबन्ध बनाउनु पर्ने माग गरे ।
टलटले सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष टिका थापामगरले जर्का टोल श्रीलंका भएको बताइन् । ‘यो बाढीको बेलामा आएर राहत बाँड्ने कार्य गर्न भन्दा तटबन्ध बनाई दिनु प¥यो’उनले भनिन् ।
दोधारा चाँदनी नगरपालिकाका अनुसार जोगबुडा नदीको बाढीले पटरा खल्ला, कुतियाकबर, जर्का टोल, सुन्दरनगर, कञ्जभोज र शान्ति टोलमा क्षति पुगाएको छ ।
कुतियाकबरमा डेढ बिगाहा जमिन कटान गरिएको छ । रामपुरे टापु र पटारा खल्लामा बाँध भत्किएर जोगबुडा बस्तीमा पसेको छ ।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बाढीले घर छाडेका सबै वासिन्दा घर फर्किएको बताए ।
‘पटारा खल्ला २२, जर्का टोल ३४घर , रामपुर टापु, शान्ति टोल सबै क्षेत्रबाट सुरक्षित स्थानमा राखिएका सबै आफ्नो घर फर्कि सकेका छन्’ उनले भने ।
नगरपालिका र विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा विस्थापित परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको मेयर लिम्बुले बताए ।
महाकाली नदी र जोगबुडाको बाढी रोक्न तटबन्ध निर्माण बाहेक अन्य विकल्प नभएको मेयर लिम्बुको भनाई छ । ‘स्थानीय सरकार तटबन्ध बनाउन सक्ने अवस्थामा छैन, संघ र प्रदेश सरकारसित आग्रह गर्दै आएका छौ, दबाव दिदै आएका छौ’ उनले भने ।
जर्का टोलका वासिन्दा खड्काले नेताहरु चुनावमा तटबन्ध निर्माण गर्ने आश्वासन दिएर जाने बताए ।
गृहमन्त्री रमेश लेखकले २०७९ को निर्वाचनमा तटबन्ध बनाएर छाड्ने आश्वासन दिएको स्थानीयले बताए । ‘वहाँले त जसरी पनि तटबन्ध बनाउँछु भन्नु भएको थियो, अहिलेसम्म बनेको छैन’ स्थानीयले भने ।
