ghar sansar

शासकको अहंकारले शून्यमा पुगेको देश

khasi

–लोकेन्द्र विष्ट

शासकको अहंकारले देश शून्यमा पुगेको छ । राष्ट्र प्रमुख र नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेल समेत सुरक्षित रहेनन् । राष्ट्रपति कार्यालय शीतल निवास आन्दोलनकारीको कब्जामा पुगेको छ । शासन सम्हाल्ने एक जना व्यक्तिको अहंका कारण कुनै देश कसरी बर्बाद हुन्छ भन्ने अब अहिलेको पुस्ताले इतिहास पढ्नु परेन । संसारका अन्य कुनै मुलुकका खबर अब हेर्नु देख्नु परेन । आँखै अगाडी हिजो भदौ २३ र आज २४ दुई दिनमा नेपालको सबै शासकीय संरचना ढलेर शून्यमा पुगेको छ । खरानी भएको छ ।

Anant bahu travels

राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचना जलेर नष्ट भएका छन् । नेपालका इतिहासदेखिका शासकीय संरचनाका सबै अभिलेखहरु धुँवा बनेर उडेका छन् । नेपाली समाजले आजसम्म नभोगेको नदेखेको विभत्स घटना भएको छ । जसका कारण सर्वत्र स्तब्ध छ । प्रदर्शनकारीहरूबाट मुख्य रुपमा सरकारी भवन, पार्टीका कार्यालय, नेताका निवास, विवादित व्यापारीका सम्पत्तिदेखि मिडियाका कार्यालयहरुमा समेत आगजनी भएको छ । नेताहरुमाथि भौतिक आक्रमण भएको छ । जुन यसअघि कहिल्यै देखिएको थिएन ।

सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा उत्रिएका युवाहरुले सँगसँगै भ्रष्टाचार र अव्यवस्थाबारे पनि चर्को प्रश्न उठाएका थिए । त्यसको वेवास्ता गर्दै सरकारले दमन गर्दा सोमबार एकै दिन १९ जनाको मृत्यु भएको थियो । अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । मृत्यु भइसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए दम्भ र अहंकार पोख्दै बसिराखेपछि मंगलबार बिहानैबाट स्थिति नियन्त्रण बाहिर गएको थियो । आन्दोलनकारीहरुले नेताका घर र व्यक्ति लक्षित आक्रमण गरेका थिए । ठूलो क्षति राष्ट्रले ब्योहोर्नु परेको छ ।

देशभर सडक र सबै सरकारी निकाय आन्दोनकारीको कब्जामा पुगेको छ । त्यसक्रममा सुरक्षाकर्मीहरुले जोगाउन सक्ने कुनै अवस्था नरहेपछि उनीहरुले आन्दोलनकारी लाई नै छोडिदिएका थिए । नेपाली सेना समेत सुरक्षामा खटिए पनि उसले आन्दोलनकारी रोकेन । स्थिति यति भयावह बनेको छ कि आगो लाग्दा निभाउनका लागि कुनै पनि दमकलहरु जान सकेका छैनन् । घाइतेहरु उठाएर लैजाने एम्बुलेन्सहरु उपलब्ध छैनन् । राजधानीमा मुख्य सरकारी अस्पतालहरुमा विरामी र घाइतेहरु भरिएका छन् । मानवीय र चिकित्सकीय प्रयोजनका लागि अत्यावश्यक सेवा दिन पनि समस्या हुने भन्दै सोमबार नै निजामती अस्पतालले अन्य अस्पतालहरुलाई आह्वान गरेको छ ।

राजधानी बाहिर पनि सबैखालका सरकारी संरचना र नेता तथा पार्टीका कार्यालयहरुमा निशाना बनाए । यसले सबै तहका शासकीय संरचनाहरु आक्रमणको निशानमा परेको देखिएको छ । शासन सञ्चालन गर्ने मुलुकको कार्यकारीको मुख्य कार्यालय सिंहदरबार ध्वस्त भएको छ । यो नेपालको एउटा ऐतिहासिक धरोहर पनि थियो । प्रधानमन्त्रीको बालुवाटारस्थित निवासमा आन्दोलनकारीले आगजनी गरेका छन् । सुरक्षाका लागि ओलीलाई सुरक्षित स्थानमा सेनाले लगेको छ ।

राष्ट्र प्रमुख र नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेल समेत सुरक्षित रहेनन् । राष्ट्रपति कार्यालय शीतल निवास आन्दोलनकारीको कब्जामा पुगेको छ । उक्त भवन ध्वस्त भएको छ । नेपाली सेनाले उनलाई पनि सुरक्षित स्थानमा राखेको छ । शासकीय संरचनामा वर्षौदेखि हाली मुहाली गर्ने नेताहरुलाई आन्दोलनकारी मुख्य निशाना बनाएर आक्रमण गरेका थिए । यसका कारण धेरै नेताहरु घाइते भएका छन् ।

dirghayi clinic

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु देउवालाई उनकै निवास बुढानिलकण्ठमा आन्दोनकारीले भौतिक आक्रमण गरेका छन् । रगतपच्छे हुने गरी आक्रमणमा परेका दुवै जनलाई सुरक्षाकर्मीले घरको पर्खालमा भ¥याङ लगाएका बाहिर निकाकाले थिए । उनीहरुमाथि शासन सञ्चालन गर्दा भएका भनिएका भ्रष्टाचार लगायतका विषयमा आन्‍दोलनकारीले प्रश्न उठाएका छन् ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटार निवासमा तोडफोड भएको छ । उनको चितवन निवासमा आगजनी भएको छ । को नेता, को सुरक्षाकर्मी र को आन्दोनलकारीमाथि कहाँ कसरी कस्तो–कस्तो आक्रमण भएको छ त्यसको एकिकृत अभिलेख समेत पाउने अवस्था छैन ।

कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी चारवटा दलका नेता मुख्‍य निशानामा परेका देखिन्छन् । एमालेका सबै नेताहरु निशानमा छन् । कांग्रेसका महामन्त्री गगन थापा देखि मोहन बस्नेतसम्मका घरमा आगजनी र व्यक्तिगत रुपमा आक्रमण गरेका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित निवासमा आगजनी हुँदा उनीकी श्रीमती रविलक्ष्मी चित्रकार जलेकी छन् ।

आन्दोलनकारीको निशाना भौतिक संरचना केन्द्रित हुँदा विमानस्थलदेखि धार्मिक संरचनाहरु समेत सुरक्षित रहेका छैनन् । भैरहवा विमानस्थलमा आगजनी भएको छ । त्रिभूवन विमानस्थल बन्द छ । विमानस्थल छिर्ने कोसिस पटक पटक भएको छ ।

राज्यको एउटा महत्वपूर्ण अंग सर्वोच्च अदालन, महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालत, विशेष अदालत लगायतमा आक्रमण हुँदा त्यहाँका सबै कागजात ध्वस्त भएका छन् ।

व्यवस्थापिका रहने नयाँ बानेश्वरस्थित संसद् भवनमा आन्दोनकारीले पूर्ण रुपमा कब्जामा लिएर आगजनी गरेका छन् । त्यहाँ प्रदर्शनकारीहरुले दिनभर तोडफोड र आगजनी गरे । अब त्यो संरचना खण्डहर भएको छ । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि आक्रमण भएको छ ।

नेपाली सेना बाहेक अन्य सुरक्षाकर्मीका कार्यालय र प्रहरी बिटहरुमा समेत आन्दोलनकारीले आगजनी गरे । प्रहरीका हतियार खोसेर पड्काए । नख्खु जेल, कैलाली, महोत्तरी, तनहुँ, पोखरा लगायतका स्थानका जेलबाट कैदीहरु बाहिर आएका छन् । कानुनी शासनका कुनै सीमाहरु बाँकी रहेनन् ।

अब कुनै पनि कानुनी प्रबन्धहरुले काम नगर्ने अवस्था बनेको छ । लुटपाट र आगजनीका कारण समाजमा त्रास बढेको छ । २०४६ साल २०६२÷०६३ सालको जनआन्दोलनका समयमा यस्तो स्थिति आउन नदिँन टोलटोलमा सुरक्षा समितिहरु बनेका थिए । त्यसले यो अवस्था हुन रोकेको थियो । तर अहिले कुनै टोलहरुमा आफ्नो सुरक्षाका लागि कोही संगठित भएको छैन । त्यसका कारण क्षतिको मात्रा ठूलो छ ।

Himal dental
सम्बन्धित
Loading...