

महेन्द्रनगर । जेएनजी आन्दोलनका क्रममा भदौ २४ गते बिहान प्रशासन कार्यालयमा आगजननी र तोडफोड गरियो । सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरेपछि आन्दोलनकारी प्रशासनबाट बाहिरिए ।
प्रशासनबाट बाहिरिपछि आन्दोलनकारीले सरकारी कार्यालय, राजनीतिक दल र नेताहरुका घर निशाना बनाए । पूर्व गृहमन्त्री रमेश लेखकको घरबाट आगजनी र तोडफोड गरियो ।

अश्रुग्याँस प्रहारपछि प्रशासन कार्यालयबाट बाहिरिएका आन्दोलनकारीले ट्राफिक चोकमा पुगेर अन्य स्थानमा आगजनी र तोडफोड गर्न सुरु गरिएको खुलेको छ ।
गृहमन्त्री रमेश लेखकको घरमा आगजनी गरिएपछि भदौ २४ गते दिनभरि उनीहरुले यसलाई निरन्तरता दिए । साँझपख एनसेल सेन्टर, होटेल ओपेरा र सिएमजी क्लब निशाना प¥यो ।
भदौ २४ गते राति १० बजेपछि सेनाले सुरक्षा नेतृत्व लिएर सडकमा आएपछि दिनदेखि आन्दोलन रोकियो । पाँच दिनसम्म कफ्र्यु र निषेधज्ञा लगाइयो । शनिबारदेखि जिल्लाभर कफ्र्यु हटाइएको छ । आइतबार विहान ५ बजेदेखि निषेधाज्ञा पनि हटेको छ ।
अन्तरिम सरकार बनेपछि कफ्र्यु र निषेधाज्ञा हटेर जनजीवन समान्य हुन थालेको छ । बजार व्यवसाय खुलेका छन् । सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । सरकारी कार्यालय सञ्चालनमा आएर सेवा दिन थालेका छन् ।
अहिले जेन जी आन्दोलन, अन्तरिम सरकार र जेन जी आन्दोलनको नाममा सरकारी सार्वजनिक, व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गर्ने समूहले चौतर्फी चर्चा पाएका छन् ।
यहीं चर्चामा एक जना राष्ट्र सेवक कर्मचारी पनि थपिएका छन् । उनी हुन् लोक सेवा आयोग महेन्द्रनगर कार्यालयका कम्प्युटर अपरेटर अनिल चन्द । चन्द आन्दोलनमा तोडफोड र आगजनी गरी चर्चा आएको होइनन् ।
आन्दोलनका क्रममा सरकारी कार्यालयलाई आगजनीबाट जोगाउने, आगजनी गरिएका कार्यालय र व्यक्तिगत सम्पत्तिमा आगो निभाउने तथा डुयटीमा खटिएका सुरक्षाकर्मीलाई नास्ता र पानी खुवाए । आन्दोलनकारीसंगै सबै ठाउँमा पुगे । धेरै स्थानमा आन्दोलनकारीलाई सम्झाए । चन्दले सम्झाएपछि धेरै सरकारी कार्यालय क्षति हुनबाट जोगिएका छन् ।
सरकारी सम्पत्ति जनताको करबाट निर्माण भएकाले क्षति नगर्न आफूले आन्दोलनकारीलाई आग्रह गरेको चन्दले बताए । ‘सरकारी सम्पत्ति हामी सबैको हो, भोलि सरकार जसको भए पनि त्यहीं सम्पत्ति चाहिन्छ, ती सम्पत्ति जोगाउन मैले आन्दोलनकारी भाई बहिनीसित हात जोडेर आग्रह गरे’ उनी भन्छन्,‘वहाँहरुले मेरो त्यो आग्रहलाई सुनि दियो, धेरै ठाउँमा क्षति हुनबाट जोगियो ।’
आन्दोलनका क्रममा आन्दोलनरीलाई आग्रह गरी सरकारी सम्पत्ति जोगाएपछि चन्द अहिले वाहीवाही पाइ रहेका छन् । सरकारी अधिकारीहरुले उनलाई बधाई दिइ सकेका छन् । केही सरकारी कार्यालयले चन्दलाई सम्मान गर्ने जानकारी गराएका छन् ।
चन्दको प्रयासले नापी कार्यालय, मालपोत कार्यालय, लोक सेवा आयोग महेन्द्रनगर कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर सम्भावित क्षतिबाट जोगिएका छन् ।
सरकारी कार्यालय बाहेक चन्दले राजनीतिक दलका नेताहरुको घरमा लगाएको आगो समेत निभाएका तस्बिर बाहिर आएका छन् ।
आन्दोलनकारीले पूर्व गृह मन्त्री रमेश लेखक, सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल, सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती, सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका पूर्व मेयर सुरेन्द्र विष्ट, एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पाल लगायतको घरमा आगजनी तथा तोडफोड गरेका छन् ।
लोक सेवा आयोगका कर्मचारी चन्दले आगजानी गरिएका ती स्थानमा समेत पुगेर पानी हालेर आगो नियन्त्रण प्रयास गरेका छन् । ‘त्यहाँ मैले अलिकति नि प्रयास नगरेको भए बस्तीहरुमा आगो दन्किन सक्थ्यो, ज्यान जोखिममा राखेर त्यहाँ म अघि सरे’ उनले भने ।
चन्दले आफूले व्यक्तिगत रुपमा ड्युटीमा परिचालन गरिएका सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई खाजा नास्ता र पानी खुवाएर सहयोग गरेका छन् ।
बैतडीको मेलौली नगरपालिका ४ तितावै पुख्र्यौलीका चन्द हाल भीमदत्त नगरपालिका १८ बस्दै आएका छन् । लोक सेवा आयोग कार्यालय महेन्द्रनगर आउन अघि उनी बैतडी मालपोत कार्यालयमा कार्यरत थिए ।
तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पस अध्ययनका क्रममा समाज सेवामा लागेका चन्द बैतडी मालपोतबाट सरकारी जागिर सुरु गरेका हुन् । हक्की र प्रष्ट बोल्ने स्वभावका उनी जेन जी आन्दोलनपछि एकाएक फेरि चर्चामा आएका हुन् ।
