

महेन्द्रनगर । सुदूरपश्चिमको प्रतिष्ठित सहकारी संस्था उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पूँजी २२ करोड नाघेको छ । गत आर्थिक वर्षमा २० करोड ५८ लाख शेयर पूँजी असार मसान्तसम्म बढेर २२ करोड ६ लाख पुगेको हो । सहकारीले शेयर पूँजी ५० करोड पुगाउने लक्ष्य लिएको छ ।
सहकारीका अनुसार शेयर पूँजीमा ६ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ । सहकारीमा २६ हजार २ सय १८ शेयर सदस्य पुगेका छन् ।

सहकारीको २६ औं वार्षिक साधारण सभामा मंगलबार अध्यक्ष नारा जोशीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा संस्थाप्रति शेयर सदस्यहरुको आकर्षण, विश्वास र सहकारीका सदस्य कर्मचारीहरु सबै मिहिनेतले सहकारीले सफलता पाएको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा सहकारीको निक्षेप दायित्व एक अर्ब ९९ करोड पुगेको छ । यो गत वर्षको तुलनामा १२ दशमवलव १२ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैगरी सहकारीले ऋण प्रवाह ७ दशमलव ४५ प्रतिशत बढेर १ अर्ब ६३ करोड ३० लाख पुगेको छ ।
सहकारीको शुद्ध मुनाफा ३ करोड ७५ लाख ९२ हजार छ । आर्थिक वर्ष २०८१÷०८२ मा २९ करोड ३३ लाख मुनाफा गरेकोमा विभिन्न शीर्षकमा खर्च र कर्जा नोक्सानी कोषमा राखिएपछि शुद्ध नाफा बचेको हो ।
सहकारीले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा सरकारलाई २ करोड १५ लाख २३ हजार कर दाखिला गरेको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले कर्मचारी पारिश्रमिक, ब्याज, घर बहाल, लाभाँश लगायतका शीर्षकमा कर दाखिला गरेको जानकारी दिए । ‘सहकारीले विभिन्न शीर्षकमा कर तिरेका छ, सहकारीले भने राज्यबाट केही पाएको छैन’ उनले भने ।
सहकारीले शेयर सदस्यलाई ७ दशमलव ७५ प्रतिशत लाभाँश वितरण गर्ने जानकारी दिएको छ । यसैगरी संरक्षित पूँजी फिर्ता कोषमा २ दशमलव २५ र ऋण कारोबारका आधारमा १ दशमलव ८० प्रतिशत रकम वितरण गरिएको जानकारी दिइएको छ ।
सहकारीमा ६८ जना कर्मचारी कार्यरत छन् । सहकारीले सुत्केरी महिला, काजक्रिया खर्च, महिला सदस्यलाई पाठेघर अपरेशन खर्च, क्यान्सर, मुटु रोग उपचार र दैबी प्रकोपका लागि ९ लाख २५ हजार सहयोग गरेको छ ।
सहकारीले भीमदत्त नगरपालिका १९ बागफाँटास्थित कृषि प्रवद्र्धन केन्द्र सञ्चालन गरी किसानलाई आधुनिक खेतीका लागि सहयोग गर्दै आएको छ । त्यसका लागि कष्टर हेयरिङ्ग सेन्टर सञ्चालनमा ल्याइएको छ ।
सहकारीले बागफाँटामा बीउ प्रशोधन केन्द्र र राइस मिल सञ्चालन गरेको छ । राइस मिलका लागि किसानहरुबाट धान खरिद गरी चामल बजारमा बिक्री गर्दै आएको छ ।
सहकारीका अध्यक्ष जोशीले सुदूरपश्चिमका ४ जिल्लामा १० सेवा केन्द्र सञ्चालन गरी कारोबार हुँदै आएको जानकारी दिइन् ।
सहकारीले पछिल्लो तीन वर्षदेखि सहकारी पत्रकारिता गर्ने पत्रकारलाई ११ हजार धनराशीको सहकारी पत्रकारिता पुरस्कार दिँदै आएको छ ।
सहकारीले एक घर एक सदस्य बनाउने अभियान निरन्तरता दिने अध्यक्ष जोशीले बताइन् ।
सहकारीका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दको प्रमुख आतिथ्यमा गरिएको साधारण सभाको अध्यक्षता अध्यक्ष जोशीले गरेकी थिइन् । कार्यक्रममा उच्च अदालत बार एसोसिएनका अध्यक्ष भुपेन्द्र विष्ट लगायतले शुभकामना दिए ।
सहकारीका लेखा सुपरिवेक्षण समितिका संयोजक चित्राङ्ग थापाले स्वागत मन्तव्य राखेको कार्यक्रम सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले सञ्चालन गरे ।
सहकारीले विपन्न समुदायका महिलाहरुको आर्थिक अवस्था सुधारका लागि २०६५ सालदेखि लघु बित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
