ghar sansar

आँखै अगाडि जलि रहेको पसल टुलटुल हेरि रहे सुरेन्द्र, आँशु झार्दै फर्किएका थिए घर

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । भदौ २४ गते विहान सुरेन्द्र सिलाधार सधैंझैं महेन्द्रनगर बजार गल्ली नं. १ स्थित आफ्नो रोयल टेलरिङ्ग सेन्टर पुगेर कामकाज सुरु गरे । दशैं तिहारको सिजन भएकाले कामको दबाव थियो सिलाधरलाई । दिउँसोपछि जेन जी आन्दोलनकारीको हुल पसल अगाडि आयो । पसलभित्र पस्यो । उनले आफू भाडामा लिएर बसेर पसल सञ्चालन गरेको सुनाए । उनीहरु फर्के । माथिल्लो तलमा तोडफोड गर्न थाले । त्यस लगत्तै अर्को समूह आयो । त्यसलाई पनि आग्रह गरी फर्र्काए । त्यसपछि अर्काे समूहले आयो, त्यसले सिलाधारको कुरा सुन्दै सुनेनन् । तोडफोड र आगजनी गरी निस्किए । आँखै अगाडि पसल ध्वस्त भयो । आँखै अगाडि पसल जलेको उनी टुलटुल हेरि रहे ।

जेन जी आन्दोलनकारीको तोडफोड र आगजनीबाट सिलाधरको पसलको सोरुम र कारखना ध्वस्त भएका छन् । कारखनाका ९ मेसिन, त्यहाँ राखिएका ग्राहक कपडा, ¥याक, काउन्टर सबै, सोरुम सबै जलेर खरानी छन् । आँखै अगाडि जलेर खरानी भएको पसलबाट आँशु बगाउँदै घर फकिए । अहिले पनि भदौ २४ गतेको पसल जलेको सम्झँदा उनका आँखाबाट आँशु खस्छन् ।

western public academy

‘हात जोड्दा जोड्दा पनि आँखै अगाडि पसल खरानी भयो, केही बाँकी रहेन, कोसित के भनु, भन्न र बोल्न सक्ने अवस्था छैन’ सिलाधरले भने ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको घर जलाउने पुगेका जेन जी आन्दोलनरीकाले पसलमा आगजनी गरेका हुन् । आगजनीबाट पसल खरानी बनेको छ । अहिले उनी पसलको खरानी पन्छाउन थालेका छन् ।

‘जान त जान्छु, त्यहाँको खरानी हटाई रहेको छु, घरबेटीले मर्मत कार्य गरि रहनु भएको छ’ उनले भने,‘यो अवस्था आउला भनेर कहिल्यै सोचिएको थिएन, यस्तो भो ।’

सिलाधरको पसल मेयर बोहराको घरको भुई तलामा छ । १९ वर्षदेखि उनी त्यहीं घरमा पसल सञ्चालन गर्र्दै आएका हुन् । बैंकिङ्ग ऋण र आफन्तबाट सर सापटी गरी व्यवसाय थालेका उनी पसल ध्वस्त भएपछि घर न घाटको अवस्थामा पुगेको बताउँछन् ।

सिलाधर आगजानीमा जलेका ग्राहकका लत्ता कपडाका कारण सबैभन्दा बढी चिन्तामा छन् । ग्राहकहरु सिलाधरलाई आफ्नो कपडाबारे सोधि रहन्छन् । उनी सबै ग्राहकलाई आगजानीले कपडा जलेको जानकारी गराएर फिर्ता गराउने आश्वासन दिई रहेका छन् ।

‘मेरो त मेसिन जल्यो, अरु समान जले, त्यसमा ग्राहकका लत्ता कपडा जले, त्यसले मलाई निकै चिन्तित बनाएको छ, वहाँहरु फोन गर्नु हुन्छ, म सबै कुरा भन्छु, अनि जसरी पनि वहाँहरुको कपडा फिर्ता गर्ने वाचा गरि रहेको छु’ उनले भने,‘यो भन्दा अरु म के गर्न सक्छु ?’

आगजनी र तोडफोडबाट पसलमा ३० देखि ३३ लाख क्षति भएको सिलाधरले बताए । उनले प्रहरी क्षतिको मुचुल्का गर्न आएपछि सबै जानकारी दिएका छन् । प्रहरीले केही दिन अघि क्षतिको मुचुल्का गरेको थियो ।

पसल आगजनीपछि ८ जना कामदार घरमा बसेका छन् । दुई भारतीय घर फर्कि सकेका छन् । घर बसेका मजदुर साँझ विहानको छाक टार्न समस्या परेको दुखेसो लिएर सिलाधरसित आउन थालेका छन् । आफन्तबाट ऋण काढेर उनीहरुलाई खर्च दिएको उनले बताए ।

‘पसलमा ८ जना कमदार थिए, आगजानीपछि पसल बन्द छ, सबै जना घरमा बसेका छन्, घर बसेपछि वहाँहरुलाई पनि खान समस्या छ’ उनले भने,‘अस्ति त खोजेर दुई तीन हजार दिए, अब त वहाँहरुलाई पनि कहाँ दिने हो केही उपाय नै छैन ।’

जेनजी आन्दोलनकारी गृहमन्त्री रमेश लेखक, काँग्रेस एमाले पार्टी कार्यालय, एमाले पोलिटब्युरो सदस्य निरुदेवी पाल र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरमा आगजनी गरेपछि मेयर बोहराको घरमा पुगेका थिए ।

काँग्रेस कञ्चनपुरका पूर्व सचिव बोहरा २०७७ को निर्वाचनबाट बेदकोट नगरपालिकाको मेयर निर्वाचित भएका हुन् । तोडफोड र आगजनी भएपछि मेयर बोहरा घरबाट सुरक्षित स्थानमा गएका थिए ।

मेयर बोहराको घर उनका स्वर्गिय बुवा धर्मराज बोहराका बुवाले बनाएका हुन् । ब्रह्मदेब बजार विस्तारका क्रममा मेयर बुवाले बनाएको घरमा पछि तला थपिएको थियो ।

मेयर घरमा आगजनीपछि खण्डहर भएको छ । उनको घरका सरसमान सबै लुटपाट गरिएका छन् ।

रोयल टेलरिङ्गका सञ्चालक सिलाधर आन्दोलनको नाममा व्यक्तिगत पसल र घरहरुमा भएको आगजनी दुःखद भएको बताए ।

‘यो जे भयो, जसले ग¥यो, जसरी गरियो, यो एकदमै निकै नराम्रो भयो’ उनले भने,‘अब यस्तो कहिल्यै नहोस, राज्यले हामी गरी व्यवसायीका पीडा बुझेर छिटो भन्दा छिटो व्यवसाय सञ्चालन गर्ने वातावरण बनाई दिनु पर्छ ।’

सिलाधरले पसल आगजनी भएपछि प्रमुख जिल्ला अधिकारीलाई प्रशासन कार्यालयमा भेट गरेका छन् । प्रमुख जिल्ला अधिकारीलाई उनले निवेदन दिए । प्रमुख जिल्ला अधिकारीले प्रहरीले गरेको मुचुल्का केन्द्रमा पठाउने र त्यसका आधारमा राज्यले व्यवस्था गर्ने जानकारी दिए । 

अन्तरिम सकारले व्यवसायीलाई क्षतिपूर्ति दिने निर्णय गरिएको जानकारी सिलाधरले थाह पाएका छन् । ‘सिडिओ सापले राज्यबाट केही त सहयोग होला भन्ने कुरा गर्नु भाको छ, अस्ति सरकारले पनि सहयोग गर्ने कुरा गरेको छ भनेर सुने, त्यो के रहेछ, कहिलेदेखि हुन्छ, त्यो केही भनेको छैन; उनले भने,‘यो सब छिटो भई दिए राम्रो हुन्थ्यो ।’

 

Himal dental
सम्बन्धित
Loading...