

महेन्द्रनगर । खाद्य व्यापार तथा कम्पनी लिमिटेडले यस वर्ष दशैं तिहार र छठलाई मध्यनजर गरी सहुलियत खाद्य पसल सञ्चालनमा ल्याएको छ । महेन्द्रनगरस्थित कम्पनी कार्यालयबाट भदौ २९ गतेदेखि सहुलियत दरमा चामल बिक्री सुरु गरिएको छ ।
सहुलिय मूल्य मोटो र मसिनो चामलमा प्रति किलो पाँच रुपैँया छुट सहुलिय दिएर बिक्री थालिएको कार्यालयका सहायक तथा सूचना अधिकारी मनोज चन्दले बताए ।

‘चाडपर्वमा बर्सेनी सहुलियत खाद्य पसल सञ्चालन हुँदै आएको थियो । यो शाखाबाट हामी चामल सहुलियत मूल्यमा बिक्री हुन्छ’ सूचना अधिकारी चन्दले भने ।
कम्पनीले मोटो चामल प्रति किलो ६२ र मसिनो चालम प्रति किलो ८८ रुयैँया मूल्य कायम गरेको छ । अहिले मोटो र मसिनो दुबैमा ५÷५ रुपैँया छुट दिएर बिक्री गर्न थालिएको हो । छुटपछि मोटो चामलको मूल्य प्रतिकिलो ५७ र मसिनो चामल ८३ रुपैँया प्रतिकिलो पुगेको छ ।
हालसम्म २५ किलोको एक बोरा मसिनो चामल सहुलियत दरमा बिक्री भएको छ । ‘दुई चार दिन मात्रै भएको छ, यसको प्रचार पनि गरेका छौ, ग्राहकरु आउँदैछन्, अहिलेसम्म एक बोरा बिक्री भएको छ’ चन्दले भने ।
खाद्य व्यापार तथा कम्पनीको केन्द्रीय कार्यालयले महेन्द्रनगर शाखालाई दशै तिहारमा एक सय क्विन्टल चामल सहुलियत दरमा बिक्री गर्न कोटा दिएको छ ।
कार्तिक १० गतेसम्म सहुलियत दरमा चामल किन्न सकिनेछ छ । कम्पनीको कार्यालयमा गएर रकम जम्मा गरेपछि गोदामबाट चामल दिने गरिएको छ ।
कार्यालयका सूचना अधिकारी चन्दले चाड पर्वमा जनतालाई सुविधा र मूल्य नियन्त्रणका लागि सहुलियत मूल्यका पसल सञ्चालन गरिएको बताए ।
‘हिमाल, पहाड तराई सबै ठाउँमा यस्ता पसल सञ्चालन हुन्छन्, पहाडमा यस्ता पसल निकै प्रभावकारी छन्, जनतलाई सुविधा पुग्छ’ उनले भने ।
अहिले सहुलियत दरमा बिक्री गर्न लागिएको चामल कम्पनीले किसानबाट खरिद गरेको धानबाट उत्पादन गरी गोदामा राखिएका चामल हो । कम्पनीले गत वर्ष तीन हजार तीन सय क्विन्टल धान खरिद गरेको थियो । गत वर्ष १५ हजार धान खरिद गर्ने कम्पनीको लक्ष्य थियो । अघिल्लो वर्ष दुई हजार नौ सय क्विन्टल धान खरिद गरिएको थियो ।
मसिनो चामल भने कम्पनीले अन्यबाट किनेर सहुलियत दरमा बिक्री गर्न लागेको हो । मसिनो धान खरिद नहुने भएकाले बाहिरबाट किनिएको हो । कम्पनीले मोटो र मध्यम धान खरिद गर्दै आएकोमा कञ्चनपुरमा हालसम्म मध्यम धान बिक्री गर्ने किसान आएका छैनन् ।
गत वर्ष महेन्द्रनगरस्थित कार्यालय बाहेक बेदकोट र शुक्लाफाँटा नगरपालिकामा खरिद केन्द्र राखिएको थियो । यस वर्ष दोधारा चाँदनीमा खरिद गर्ने राखिने सूचना अधिकारी चन्दले बताए । ‘महेन्द्रनगर कार्यालय बाहिरबाट आशा गरे अनुसार धान खरिद हुन सकेन’ उनले भने ।
कार्यालयमा पर्याप्त जनशक्ति नभएकाले पनि जिल्लाभर धान खरिद गर्न समस्या भएको सूचना अधिकारी चन्दले बताए । हाल कार्यालयमा कार्यालय प्रमुख, सहायक, दुई जना सहयोगी सहित ६ जना कर्मचारी छन् ।
