
प्रहरी हेड क्वाटरमा गृह मन्त्री, भने– जेनजी आन्दोलनको उपलब्धि संरक्षणमा प्रहरीले योगदान पुगाउने कुरामा विश्वस्त छु

महेन्द्रनगर । गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन ।
गृहमन्त्री अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरे ।
निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गरे ।
उनले नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतार चढाव, राजनीतिक परिवर्तन र संक्रमणकालमा अविचलित रहँदै देश र जनताको स्वार्थ र आकांक्षालाई केन्द्र बिन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको बताए ।

गृहमन्त्री अर्याललेविगत १० दिनदेखि नेपाली समाजको नवीनतम् र चेतनशील पुस्ता जेन–जी ले गरेको ऐतिहासिक आन्दोलनलाई नेपाल प्रहरीले सम्मान गर्ने र यसका उपलब्धिको संरक्षणका लागि रचनात्मक योगदान पु¥याउने कुरामा आफू र नेपाल सरकार विश्वस्त रहेको बताए ।
सीमित स्रोत साधनहरूको उपलब्धताका बीच नेपाल प्रहरीले पनि हालैको आन्दोलनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनको क्रममा नेपाल प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए संकट अझै बढ्ने र राज्यले अझ ठूलो र अकल्पनीय क्षति व्यहोर्नु पर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको थियो । म यस ऐतिहासिक घडिमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको उच्च कदर र सम्मान गर्दछु । आन्तरिक सुरक्षामा नेपाल प्रहरीको प्रमुख दायित्वनै जनधनको सुरक्षा गर्नु हो । पूर्व सरकारविरूद्धको जनआक्रोशका बीच कानुन कार्यान्वयन र शान्ति सुव्यवस्था कायम गर्ने निकायको रूपमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमतापूर्ण व्यवहारले राज्य, नागरिक र निकायहरूमा हुन सक्ने ठूलो क्षतिलाई न्यूनीकरण गरेको मैले महसुस गरेको छु । यसका लागि नेपाल प्रहरीका कुनै पनि कर्मचारीले ग्लानि महसुस गर्नुपर्ने कुनै कारण छैन । यहाँहरू सदैव जनताको मनमा हुनुहुन्छ, ढुकढुकीमा हुनुहुन्छ र आफ्नो जिम्मेवारीलाई अझ दृढ रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
गृहमन्त्री अर्यालले नेपाल प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आम जनताको दैनिकीमा अत्यन्त ठूलो र नकारात्मक प्रभाव पर्नुका साथै समाजमा अराजकता मौलाउने अवसर प्राप्त हुने उल्लेख गर्दै कानुन बमोजिम कर्तव्य पालनाको क्रममाउच्च मनोबल बनाउनुपर्ने तथा कार्यक्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नु पर्ने बताए ।
प्रहरी सेवाको आवश्यकता र महत्व कति रहेको भन्ने कुरा हालै भएको आगजनी र तोडफोड भएका प्रहरी इकाइहरूको पुनस्र्थापना, प्रहरी कर्मचारीको सम्मान र मनोबल बढाउनका लागि समुदायले लिएको अग्रसरताबाट पुष्टि भएको बताउँदै गृह मन्त्रालयबाट नेपाल प्रहरी संगठनको सुदृढीकरण र प्रहरी कर्मचारीहरूको मनोबल बढाउनुका लागि ठोस प्रयास हुने उल्लेख गरे ।
प्रहरीप्रति राज्य र नागरिकहरूका असीमित अपेक्षा रहेको र प्रहरीले साधनस्रोतहरूको सीमितताबाट नागरिकहरूका असीमित आकांक्षा सम्बोधन गर्दै आइरहेको तथा आगामी दिनमा सांगठनिक सुधारका लागि प्रहरीको नेतृत्व एवम् सबै प्रहरी कर्मचारीहरूको पहलकदमी हुनेछ भन्ने विश्वास व्यक्त गरे ।
