

महेन्द्रनगर । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले यस्तो जानकारी दिएका हुन् । विश्वकर्माका अनुसार सभापति देउवा र उनकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्यमा सुधार भइरहेको छ।

सुरुमा देउवा दम्पतीको स्वास्थ्य अवस्था देख्दा अतालिएको भए पनि उपचारपछि स्वास्थ्यमा सुधार आउँदै गएको विश्वकर्माले बताए ।
“सभापतिले दिनुभएको जानकारी अनुसार उहाँको टाउको र गर्धनमा गम्भीर चोट लागेको छ । जसमा १२ वटा टाँका लगाइएको छ । गर्धनमा पनि सामान्य चोट छ। अहिले घाँउ निको हुँदै गएको छ उनले भने ।”
उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा गाह्रो हुने भएकाले भिडभाड जाँदा स्वास्थ्य लाभमा बाधा पुग्ने भन्दै चिकित्सकले केही दिन अस्पतालमानै बस्न सुझाव दिएअनुसार सभापति देउवा दम्पती केही दिन अस्पतालमानै आराम गर्ने विश्वकर्माले जानकारी दिए ।
भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीले उनीहरुमाथि आक्रमण गरेका थिए। देउवा निवास बूढानीलकण्ठ पुगेका प्रदर्शनकारीले घरमा आगजनी गरेर कुटपिट गर्दै निकालेका थिए ।
प्रदर्शनकारीले कुटपिट गर्न थालेपछि नेपाली सेनाले सुरक्षित स्थानमा लगेको हो। अहिलेसम्म देउवा दम्पती सेनाको सुरक्षामा उपचाररत छन् ।
