

महेन्द्रनगर । दोधारा चाँदनी स्वतन्त्र समूहका अध्यक्ष भीम कुमालले राजनीति दलहरु इमान्दार नभएर सत्ता पलटको अवस्था आएको बताएका छन् । उनले संविधान सभाबाट जारी संविधान पूर्ण रुपमा कार्यान्वयन नहुँदै संविधानमा क्षति हुने अवस्था आउन दुःखद भएको जनाए ।
‘यो आन्दोलन नभएको भए आज यो अवस्था आउने थिएन, दलहरुले पनि वेवास्ता नै गर्थे, यो समयमको माग हो, आवश्यक नै थियो’ दोधारा चाँदनी नगरपालिकाका सभा कक्षमा गरिएको जेन जी आन्दोलनपछि उत्पन्न वर्तमान राजनीतिक अन्यौलता र संवैधानिक जटिलता सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा उनले भने,‘नेताहरुले इमान्दारिता देखाएको भए यस्तो अवस्था आउने थिएन, संविधानको पूर्ण कार्यान्वयन नहुँदै यो अवस्था अयो, यो दुःखद हो ।’



राजनीतिक दल र दलका नेताहरुका हर्किदै गएको नातावावात, कृपावाद र भ्रष्टाचारका कारण नयाँ पुस्ता दलहरुसित वाक्क दिक्क भएर सडकमा आएको कुमालले बताए ।
अध्यक्ष कुमालले संविधान संशोधन गरी स्थानीय तह निर्दलीय हुनु पर्ने र प्रदेशलाई परिमार्जन गरी बलियो बनाउनु पर्नेमा जोड दिए । उनले छिमेकी भारतमा समेत स्थानीय तह स्वतन्त्र व्यक्ति चुनिने गरेको सुनाए ।

प्रदेश खारेज गर्न भन्दा यसलाई परिमार्जन गरी अघि बढ्नु पर्ने कुमालले बताए । उनले विगतमा पाँच विकास क्षेत्रले अपेक्षित विकास हुन नसकेपछि प्रदेश सरकार चाहिएको उल्लेख गर्दै परिमार्जन र सुदृढीकरण गरिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा समूहका उपाध्यक्ष भक्त बहादुर सुनार, बिरमादेबी खत्री, तिलक खत्री, भुरीदेबी चन्द, दिपक आउजी, भरत सर्जन लगायतले आ–आफ्नो विचार राखे ।
कार्यक्रम सञ्चालन श्याम सुनारले गरे । स्वतन्त्र समूहका अध्यक्ष कुमालको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।
