

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरका निवर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टले सोमबार संघको कार्यकक्षमा नव निर्वाचित अध्यक्ष पुष्पराज अवस्थीलाई पदभार हस्तान्तरण गरे । नव निर्वाचित समितिका पदाधिकारी र सदस्यले पद तथा गोपनियताको शपथ आएपछि निर्वतमान अध्यक्ष भट्टले पदभार हस्तान्तरण गरेका हुन् ।
भदौ २१ गते संघको १५ औं कार्य समिति निर्वाचिनमा भट्टलाई पराजित गरी अवस्थी अध्यक्ष भएका हुन् । यस अघि १४ औं निर्वाचनमा अवस्थीलाई पराजित गरी भट्ट अध्यक्ष भएका थिए ।

निर्माणको नेतृत्वमा दोहोरिन भट्ट यस वर्ष फेरि चुनावी मैदानमा आएका थिए । संघका अधिकाँश अध्यक्षले दोहोरिएर दुई कार्यकाल नेतृत्व गरेका छन् । भट्टमा त्यहीं दोहोरिने इतिहासलाई निरन्तरता दिने चाहना थियो ।
सोमबार शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष भट्टले ७ मिनेट ५३ सेकेन्ड आफ्नो मन्तव्य राखे । चुनावमा आफूलाई सहयोग गर्ने सबै व्यवसायीहरुलाई धन्यवाद दिएर उनले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि सुनाए ।
निवर्तमान अध्यक्ष भट्टले आफ्नो कार्यकालमा गरिएका तीन कार्यलाई आफ्नो कार्यकालका प्रमुख कार्य भन्दै कार्यक्रममा उल्लेख गरे ।
मझगाउँ विमानस्थल निर्माणको अवरोध खुला नेपाली सेना सहितको सर्बदलीय बैठक, लालझाडी गाउँपालिकाका इन्जिनियर रामदत्त अवस्थीमाथि हातपातपछि पक्राउ गरिएका निर्माण व्यवसायीलाई रिहा र व्यवसायीको रोकिएको भुक्तानीका लागि सरकारी कार्यालयमा तालाबन्दी गरिएको कार्यलाई भट्टले आफ्नो कार्यकालको प्रमुख कार्यका रुपमा जानकारी गराएका हुन् ।
निवर्तमान अध्यक्ष भट्टले मझगाउँ विमानस्थल निर्माणको अवरोध हटाउने संघको सर्बपक्षीय बैठक गरिएकोबाट आफ्नो कार्यकालको उपलब्धि सुनाउन सुरु गरे ।
मझगाउँ विमानस्थलको अवरोध हटाउने कार्यका लागि गरिएको सर्बदलीय बैठकलाई उनले ऐतिहासिक संयोजन उल्लेख गरे ।
‘सर्व प्रथम म निर्वाचित भएपछि मझगाउँ विमानस्थलका लागि सबैभन्दा पहिले सर्बदलीय सर्वपक्षीय, इतिहासमै, यो ऐतिहासिक संयोजन गरेर नेपाली सेनाबाट जुन अतिक्रमण भएको थियो, निर्माण व्यवसायी संघको पहलमा फिर्ता ल्याउने काम भयो’ उनले भने,‘यो कसैले होइन, यो पहिलो प्रयास निर्माण व्यवसायी संघमा भयो ।’
विमानस्थल निर्माणको ठेक्का पाएको कान्छाराम कुमार श्रेष्ठ–उमा एण्ड कम्पनी जेभी मैजुबहाल ७ काठमाडौले निर्माण कार्यमा समस्या भएपछि समाधानका लागि संघलाई अनुरोध गरेको थियो ।
२०८० मंसिरमा संघको निवर्तमान समितिले सरोकारावाल सबैलाई संघमा आमन्त्रण गरी बैठक बसेको थियो ।
बैठकमा राजनीतिक दलका प्रमुख एबम् प्रतिनिधि, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख, नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रतिनिधि, अभियन्ता र अन्य निर्माण व्यवसायी सहभागी भएका थिए ।
सेनाले संकटकालमा विमानस्थलको जग्गा आफ्नो बनाएपछि रत्न वाटिका वन क्षेत्र र सैनिक संरचना निर्माण गरिएका थिए । बैठकले इआइएको कार्य अघि बढाउनु पर्ने निष्कर्ष निकालेको थियो ।
२०८० मंसिरमा लालझाडी गाउँपालिकाका इन्जिनियर राम प्रसाद अवस्थीलाई कुटपिट गरेपछि निर्माण व्यवसायी भीमसेन रानालाई प्रहरीले पक्राउ गरेको थियषे ।
इन्जिनियर अवस्थीले जाहेरी दिएपछि पक्राउ गरिएको थियो । गाउँपालिका–२ कन्जमा रानाको कन्दकला कन्स्ट्रक्सन एन्ड सप्लायर्सले निर्माण गरेको सडक निर्माण गुणस्तरहिन भएको भन्दै अवस्थीले कैफियता देखाएपछि उनीमाथि कुटपिट गरिएको थियो ।
निर्माण व्यवसायी संघको तत्कालिन समितिले निर्माणाधिन सडक अनुगमन, इन्जिनियर अवस्थी र गाउँपालिका अध्यक्ष निर्मला रानासित छलफल गरी व्यवसायी रानालाई छुटाएका थिए ।
संघका निवर्तमान अध्यक्ष भट्टको नेतृत्वमा पदाधिकारी सदस्य सहितको टोली लालझाडी गएको थियो ।
१५ र्औं समितिको शपथ ग्रहण तथा पदभार कार्यक्रममा निवर्तमान अध्यक्ष भट्टले व्यवसायी रानालाई थुनामुक्त गराएको प्रसङ्ग उल्लेख गरे ।
‘लालझाडी गाउँपालिकासित समन्वय गरी थुनामा रहेका निर्माण व्यवसायीलाई थुनामुक्त गराउन सफल भएको थियो’ उनले भने ।
व्यवसायी राना रिहा भएपछि इन्जिनियर अवस्थीले गाउँपालिका छाडेका थिए । उनी काजमा सुदूरपश्चिम प्रदेश मुख्य मन्त्री तथा मन्त्रि परिषद् कार्यालय गएका थिए ।
गाउँपालिकाका दरबन्दीका इन्जिनिजर काजमा प्रदेश सरकारका मन्त्रालयमा छन् । गाउँपालिकाले करार इन्जिनियर राखेर कामकाज गर्दै आएको छ ।
निवर्तमान अध्यक्ष भट्टले भुक्तानी नपाएका व्यवसायीको भुक्तानीका लागि तालाबन्दी गरिएको जानकारी गराए । ‘व्यवसायीहरु काम गरेको भुक्तानी नपाएर समस्यामा थिए, पीडामा थिए, कार्यालयमा तालाबन्दी गरियो’ उनले भने ।
संघको अगुवाईमा अघिल्लो वर्ष साउनमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा तालाबन्दी गरिएको थियो । निवर्तमान अध्यक्ष भट्ट आफैं तालाबन्दी कार्यक्रमको नेतृत्व गरेका थिए ।
तालाबन्दीपछि सरकार दबावमा आएर साउन महिनामै व्यवसायीको भुक्तानी गर्न बाध्य भएको भट्टले बताए । उनले सरकारी कार्यालयको तालाबन्दी पनि ऐतिहासिक भएको दावी गरे ।
भट्टले आफ्नो तीन वर्षे कार्यकाल सबैको साथ सहयोगले सफल भएको बताए । ‘सबैको साथ सहयोगले तीन वर्षे सफल कार्यकाल सम्पन्न गरेको छु’ उनले भने ।
चुनावमा हारजित लोकतान्त्रिक प्रक्रिया भएको र मलाई मत दिने नदिने र मेरो मूल्याङ्कन भए नभएको सबै व्यवसायीहरुलाई जानकारी नभएको भट्टले उल्लेख गरे ।
तीन वर्षे कार्यकालमा आफूले गरेका गल्ती र कमजोरी माफ गरि दिन सबै व्यवसायीतिस मञ्चबाट आग्रह गरेका छन् ।
निवर्तमान अध्यक्ष भट्टले सबै व्यवसायी मिलेर संघलाई जोगाउनु पर्ने र व्यवसायी एकजुट भएर अघि बढनु पर्नेमा जोड दिँदै निर्वाचनको जित सबैको भएको उल्लेख गरे ।
नव निर्वाचित समितिले व्यवसायीका समस्या समाधान गरी अघि बढ्नेमा आफू विश्वस्त भएको निवर्तमान अध्यक्ष भट्टको थियो । उनले १५ औं अधिवेशनबाट निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिए ।
निवर्तमान अध्यक्ष भट्ट संघमा सदस्य, वरिष्ठ उपाध्यक्ष हुँदै १४ र्औ कार्य समिति निर्वाचनबाट अध्यक्ष भएका हुन् । हक्की र प्रष्ट बोल्ने स्वभावका उनी निर्माण व्यवसाय बाहेक सामाजिक सेवामा पनि सक्रिय छन् ।
