

महेन्द्रनगर । माग पूरा गर्न नाराबाजी गर्दै बेलौरीका जेन जी र समर्थकहरु सडकमा आएका छन् । उनीहरु अहिले बजार क्षेत्रमा माग पूरा गर भन्ने लगायतका नारा लगाउँदै परिक्रमा गर्न थालेका छन् । प्रदर्शनमा सहभागी अधिकाँशले टाउको कालोपट्टी बाँधेका छन् ।
बेलौरीमा जेन जीले भदौ २९ गते विभिन्न ६ बुँदे माग राख्दै बेलौरी नगरपालिका विरुद्ध आन्दोलन सुरु गरेका थिए ।

शुक्रबार उनीहरु सडकमा आएर नाराबाजी गर्न थालेका छन् । बजार परिक्रमापछि उनीहरु नगरपालिका जाने बताइएको छ ।
बुधबार नगरपालिकाका कर्मचारीले जेन जी र समर्थकको भीड र अनावश्यक लाञ्छनाले कामकाज गर्ने वातावरण नभएको भन्दै स्वास्थ्य बाहेकका सबै सेवा बन्द गरेका थिए ।
बिहीबार प्रमुख प्रशासकीय अधिकृतको निर्देशनपछि उनीहरु काममा फर्किएका छन् । कर्मचारी काममा फर्किएपछि जेन जी माग पूरा गर्न माग गर्दै सडकमा आएका छन् ।
बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलको हस्ताक्षर रहेको पत्रमा “सेवाग्राहीलाई पर्न सक्ने समस्या मध्यनजर गर्दै असोज ८ गतेको विज्ञप्तिलाई फिर्ता लिइएको उल्लेख गरेका छन् ।
बेलौरी जेन–जी तथा समर्थक समूहलाई सर्वपक्षीय बैठकमा बोलाएर छलफल गर्ने निर्णय भएको हुँदा सम्पूर्ण कर्मचारीले तत्काल सेवा प्रवाह सुचारु गर्न अनुरोध गरिन्छ” भनेर उल्लेख गरिएको छ ।
नगरपालिकाका सबै कर्मचारीले बुधबार संयुक्त विज्ञप्ति सार्वजनिक गरी स्वास्थ्य सेवा बाहेकका सबै सेवा अनिश्चितकाल बन्द गरेका हुन् । बेलौरीमा भदौ २९ गतेदेअिख जेन जी र समर्थकको नाममा दैनिक कार्यालय भीडभाड भएर काम गर्ने वातावरण नभएको कर्मचारी बताउँछन् ।
जेन जी युवाले नगरपालिकालाई विभिन्न ६ बुँदे माग पत्र बुझाएका थिए । ‘जेन–जी बेलौरी तथा समर्थक’ समूहको नाममा नगर प्रमुख चौधरीलाई माग पत्र बुझाइएको थियो ।
नगरपालिकाले राजनीतिक आधारमा गरिएका सबै नियुक्ति खारेज, अलपत्र विकासका काम तुरुन्त सम्पन्न गर्न लगायतका मागहरु नगर प्रमुखसित राखिएका छन् ।
नगरपालिकाका सबै करार कर्मचारीलाई बर्खास्त गरिनु पर्ने, नगरभित्र अलपत्र परेका सबै सडकको यथाशीघ्र मर्मत–सम्भार, हाट बजारलाई पुनः सञ्चालन, फोहोर तथा ढल निकासको उचित व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र संविधान चोकलाई ‘जेन–जी चोक’ को रूपमा आधिकारिक घोषणा गर्नु पर्ने लगातयतका उनीहरुका माग छन् ।
जेन जी आन्दोलनपछि युवाले संविधान चोकलाई जेन जी चोक नामाकरण गरेका थिए । संविधान दिवसका दिन सबै राजनीतिक दलहरुले जेन जी चोक लेखिएको मेटाएर फेरि संविधान चोक बनाएका छन् ।
दलहरुले संविधान चोक बनाएपछि उनीहरु त्यसलाई फेरि जेन जी चोक बनाउनु पर्ने माग लिएर नगरपालिका पुगेका हुन् ।
