

महेन्द्रनगर । नदीजन्य प्रर्दाथ उत्खनन र संकलन गर्न प्रारम्भिक वारतावरणीय परिक्षा (आईईई) गर्नुपर्ने कानूनी ब्यवस्था छ । तर, कञ्चनपुरको भिमदत्त नगरपालिकाले कानूनी प्रक्रिया पुरा नै नगरी महाकाली नदीबाट रोयल्टी उठाउँन थालेको छ ।
आईईई संगै वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) समेत नगरी भिमदत्त नगरपालिकाले कर्मचारी खटाएर अमानतमा रोयल्टी संकलन थालेको हो ।

असोज १ गतेदेखि नगरपालिकाका कर्मचारीहरु महाकालीको भुजेला, ऐरी र पिपरिया घाटबाट दैनिक राजश्व संकलन गरी रहेका छन् । रोयल्टी संकलनका लागि यसअघि ठेक्का आवहान गर्दै आएको भिमदत्त नगरपाललिकाले यस आर्थिक वर्षमा ठेक्का लगाउन कुनै चासो नै देखाएको छैन ।
महाकाली नदीमा जेठ मसान्तदेखी असोज १ गतेसम्म नदीजन्य प्रदार्थ उत्खनन र संकलन बन्द गरिन्छ । सबै कानूनी प्रक्रिया पुर्याएर पुन भदौ महिना भित्र ठेक्का सम्झौता गरी असोज पहिलो साताबाट महाकाली नदीको घाट खोल्नु पर्ने हो । तर, चालु आर्थिक वर्षको तीन महिना बितिसक्दा समेत ठेक्का प्रक्रिया अघि बढाएको छैन ।
कर्मचारी परिचालनबाट आर्थिक वर्ष २०७९–०८० मा डेढ करोड राजश्व संकलन भएर नगरपालिकालाई पुगेको हानी नोक्सानी हेरेर पनि नगरपालिकाले ठेक्का अघि बढाउनु पर्ने जनप्रतिनिधिहरुको भनाई छ । गत आर्थिक बर्ष मात्र ठेक्का मार्फत सात करोड बढी राजश्व उठेको थियो ।
‘पहिलो वर्ष यति कम राजश्व संकलन भयो, यो सबैले देखेकै हो, ठेक्का नभएर उतीबेला करोडौ घोटाला भयो’ भीमदत्तका एक कार्यपालिका सदस्यले भने,‘यस वर्ष पनि त्यहीं दोहो¥याउनु कहीं मिलेमतोमा यस्तो हुँदैछ ।’
नगरपालिकाले यस वर्ष जानाजान ठेक्का नलगाई अमानतमा नदीजन्य प्रदार्थ उठाउँन थालेको जनप्रतिनिधिहरुको आरोप छ ।
महाकाली नदीमा भीमदत्त र दोधारा चाँदनी नगरपालिका दुबैले संयुक्त रुपमा ठेक्का लगाउँदै आएका थिए । भीमदत्तले ठेक्का लगाउन आलटाल गरेपछि उता दोधारा चाँदनी नगरपालिकाले पनि अमानतमा रोयल्टी संकलन गर्ने तयारी गरेको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओम बस्नेतले जानकारी दिए ।
भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिह धामीले महाकाली नदीमा ठेक्का प्रक्रिया सुरु गरिएको बताए । ‘असोज १ गतेदेखि नै घाट खुल्छन्, त्यस अनुसार तीन घाट खुलेका छन्, ठेक्का प्रक्रिया पनि सुरु गरिएको छ, तत्काल कर्मचारीबाट उठाउँदैछौ, यसपछि ठेक्का गरी राजश्व संकलन गर्छौ’ उनले भने ।
यस वर्ष ईआईए प्रतिवेदन स्वीकृत नभएको र आईईईको म्याद सकिएकाले ठेक्का लगाउन ढिलो भएको जनाउँदै आएको भीमदत्तले आफैंले नियम कानून मिचेर रोयल्टी संकलन गर्नु गलत भएको एक निर्माण ब्यवसायीले समयसीमासंग बताए । ती ब्यवसायीले भने ‘ब्यक्ति, संघसंस्था सबैका लागि नियम कानून बराबर हो, स्थानीय सरकार आफैंले कानून मिच्न कसरी पाईयो ?’
साभार: समयसीमा
