
काँग्रेस संस्थापन इतरको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै पूर्व गृहमन्त्री रमेश लेखकले भने– अधिवेश सर्वसम्मत बनाउन शत प्रतिशत चाहन्छु, प्रतिस्पर्धा गर्नै पर्ने भए मेरो नाम चाहिँ जोडेर ममाथि अपराध नगरि दिनु होला

महेन्द्रनगर । पूर्व गृह मन्त्री रमेश लेखकले काँग्रेस संस्थापन इतर कञ्चनपुर ३ को क्षेत्रीय अधिवेशन सर्वसम्मत हुनु पर्ने आफ्नो शत प्रतिशत चाहना भएको बताएका छन् ।
काँग्रेस पार्टी कार्यालयमा शुक्रबार क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले सर्वसम्मतका लागि गरिएका प्रयास सफल नभएर सर्वसम्मत हुनै नसक्ने भएपछि लोकतान्त्रिक प्रक्रिया जाने र त्यसका लागि स्वस्थ प्रतिस्पर्धा गर्न पर्ने बताए ।
लोकतान्त्रिक प्रक्रिया अनुसार स्वस्थ प्रतिस्पर्धामा जाँदा आफूले कसैलाई पनि समर्थन नगर्ने लेखकले प्रष्ट पारे ।
उनले प्रतिस्पर्धामा आफ्नो नाम जोडेर प्रचार गर्न, मत माग्न र प्यानल बनाई सूची बाँडेर आफूमाथि अपराध नगर्न आग्रह गरे ।
‘अहिले पार्टी अप्ठेरोमा अवस्थामा छ, सबै मिलेर जानु पर्ने आवश्यकता छ, यो अधिवेशन सर्वसम्मत बनाउनु पर्ने छ, त्यसका लागि म त शत प्रतिशत सर्वसम्मतको चाहना राख्छु, यसमा तपाईहरुको सबैको साथ होला भन्नेमा आशा छ’ उनले भने,‘कमथकदाचित सहमति हुनै सकेन भने लोकतान्त्रिक बाटो छ, त्यस अनुसार स्वस्थ प्रतिस्पर्धा गरौ । त्यसो गर्दा मेरो नाम जोडेर, प्रचार गर्ने, कार्ड बाँड्ने अपराध ममाथि नगरि दिनु होला ।’

लेखकले विशेष महाधिवेशपछि पार्टी एकताका लागि गरिएका प्रयास सफल हुन नसकेको र पछिल्लो पटक वडा अधिवेशन रोक्न गरिएको आग्रह वेवास्ता गरिएपछि पार्टी फुट्ने अवस्थामा पुगि सकेको बताए ।
विशेष महाधिवेशनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकाले पार्टी एकताका लागि अदालतको आदेश पर्खन नसकेर अहिलेको अवस्था आएको लेखकले बताए ।
काँग्रेस विधान अनुसार १४ औं महाधिवेशनबाट निर्वाचित समितिको कार्यकाल नसकिँदै विशेष महाधिवेशन हुने भएपछि तत्कालिन पार्टी सभापति शेर बहादुर देउवा र आफूले नेताहरुसित पटक पटक सहमतिका लागि छलफल गरेको लेखकले बताए ।
विरुवाको जरामा पानी हालेर लेखकले क्षेत्रीय अधिवेशन सुरु गरे । क्षेत्रीय अधिवेशन उद्घाटनका लागि लेखक बिहीबार महेन्द्रनगर आएका थिए ।
उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सभा सदस्य मधुदेबी भारती, काँग्रेस सुदूरपश्चिम सह महामन्त्री गोपाल भट्ट, काँग्रेस कञ्चनपुरका सभपाति पदम बोगटी लगायतले शुभ कामना मन्तव्य राखे ।
क्षेत्रीय सभापति केशब चन्दले उद्घाटन कार्यक्रमको अध्यक्षतामा गरेका थिए । उद्घाटनपछि पार्टी कार्यालयमा निर्वाचन कार्यक्रम सुरु भएको छ ।
