

महेन्द्रनगर । वडा अध्यक्षले घरमै गएर गल्ती भएको स्वीकार गरेपछि दोधारा चाँदनी नगर अस्पताल घट्ना विवाद प्रहरीसम्म नपुगेर सुल्झिएको छ ।
शनिबार राति दोधारा चाँदनी ५ का वडा अध्यक्ष केशव खत्रीले अस्पतालका एचए महेन्द्र विष्टसित विरामीको उपचारमा भएको ढिलाई सम्बन्धि कुराकानी चर्काचर्की र हातपातसम्म पुगेको थियो ।
वडा अध्यक्ष खत्रीले अस्पताल ड्युटीको समयमा हातपात र अभद्र व्यवहार गर्न खोजेको भन्दै उनका आफन्तले आइतबार विहान इलाका प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेका थिए ।
बेदकोट नगरपालिका ३ सामादैजीका विष्ट डेढ वर्षदेखि नगर अस्पतालमा कार्यरत छन् । विष्ट दोधारा चाँदनी ६ स्थित दिदीको घरमा बस्दै आएका छन् ।
विष्टको दिदीको घर परिवारले वडा अध्यक्ष खत्री विरुद्ध प्रहरीमा उजुरी दिन अघि बढेका थिए ।
वडा अध्यक्ष खत्रीले घरमा गएर विरामीको उपचारमा भएको ढिलाई देखेर आफूले आक्रोशमा आएर विष्टलाई हप्काएको र त्यसमा उनको कुनै गल्ती नभएको भन्दै क्षमा मागेका छन् ।

वडा अध्यक्ष खत्री आफैंले पनि सामाजिक सञ्जालबाट मुद्दा मामिला नभएर घट्नाको विवाद हल भएको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
राष्ट्रिय कञ्चनपुरका अध्यक्ष समेत रहेका खत्रीले अस्पतालको आकस्मिक उपचार कक्षबाट विष्टसित भएको चर्काचर्कीलाई सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गरेका थिए ।

त्यस बाहेक उनले अस्पतालका इन्चार्ज देबेन्द्र सिंह नेगीसित गरिएको कुराकानी पनि राति नै लाइभ गरेका थिए ।
आफ्नी बुहारीलाई उपचारका लागि अस्पताल लगेकी खत्रीले आकस्मिक उपचार कक्षमा उपचार भई रहेका बालक देखेपछि एचउ विष्टसित उपचारबारे सोधेका थिए ।
ती विरामी बालकको उपचार सम्बन्धि कुरा हुने क्रममा उनीहरुबीच विवाद भएर चर्किएको थियो ।
एचए विष्टले विस्तारै बोल्न आग्रह गरेपछि वडा अध्यक्ष खत्री आक्रोशित भएका थिए । त्यसपछि उनी एचएए विष्टमाथि हातपात गर्न खोजेको जस्तो आवाज भिडियो सुन्न सकिन्छ ।
वडा अध्यक्ष खत्रीसित भएका अन्यले उनलाई यो राम्रो भाई हो भनेर उनलाई सम्झाइ रहेको पनि भिडियो लाइभमा छ ।
वडा अध्यक्ष खत्रीले विरामीको उपचारमा भएको लापरवाही देखेर विष्टसित विवाद भएको र त्यसपछि आक्रोशित हुन पुगेको सामाजिक सञ्जालमा लेखेका छन् ।
‘हिजो हस्पिटलमा उपचार गराउन जाने क्रम्मा हस्पिटलमा डाक्टर नहुनु र बिरामीलाइ लापरवाही गरेको देख्दा मेरो आक्रोशमा मैले एचलाई सोध्ने क्रममा वादविवाद भएको थियो । तर एचए महेन्द्र बिष्ट आफ्नो डिउटिमा थिए मात्र । वहाँले पनि मसंग किन ठूलो स्वर बोल्नु हुन्छ,भनेकोले मैले पनि आक्रोशमा आएर वहाँलाई हप्काएको हो । कुटपिट गर्न गएको होइन । यसलाई अन्यथा कसैले नलिनु होला । एच महेन्द्र बिष्टको कुनै गल्ती थिएन ।यसै विवादलाई लिएर हामीहरुको बीच कुनै मनमुटाव नरहेको जानकारी गराउँदछु’ उनले भनेका छन् ।
वडा अध्यक्ष खत्रीले आफूले नगर कार्यपालिका र अस्पतालको बैठकमा डाक्टरको लापरवाही सम्बन्धि विषय उठाउने बताएका छन् ।
‘तर अस्पताल प्रसासनको कमीकमजोरीले गर्दा जनतामा छाएको निराशपन र जनप्रतिनिधिप्रति जनताले हेर्ने नजर गलत थियो । त्यही आक्रोशमा मैले बिरामीको अवस्था देखेर डाक्टर नहुनु र इमर्जेन्सीमा डाक्टर नहुनु भनेको ठूलो लापरवाही हो ’ उनले भनेका छन्, ‘तर अब आउने कार्यपालिका र नगर अस्पतालको मिटिङ्गामा सबै कमी कमजोरीलाई नियाल्दै अस्पताललाई र प्रशासनले पनि राम्रो भूमिका खेलेर अस्पतालमा कुनै लापरबाही नहुने गरी जनतालाई लाभ दिने जानकारी गराइन्छ । हामीबीच मुद्दा मामला नभै आपसमा बसेर हिजोको कुरालाइ समाधान गरिएको पनि जानकारी गर्दछु ।’
नगर अस्पताल दोधारा चादनी नगरपालिका मातहत छ । दोधारा प्राथमिक स्वास्थ केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाइएको हो ।
यस अघि अस्पतालका स्टोर शाखा प्रमुखले इन्चार्जको कम्प्युटर पासपोड दुरुपयोग गरी औषधि खरिद गरेको भन्दै बिबादमा परेको थियो ।
कंचनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महताले सामजिक सञ्जालबाट यसको खुलासा गरेका थिए ।
