
सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री भाटको गृह नगरको प्रदेश गौरब योजनालाई यतिसम्म हेला
सात महिना अघि तोडिएको थियो ठेक्का, ५० लाख मात्रै आयो बजेट

महेन्द्रनगर । दैजी लिफ्ना सडकको ठेक्का तोडिएपछि फेरि ठेक्का लगाउन यस वर्ष ५० लाख बजेट आएको छ । ठेक्का लिएको लामो समयसम्म निर्माण पूरा हुन नसकेपछि सात महिना अघि ठेक्का तोडिएको थियो ।
सुदूरपश्चिम सरकारले ठेक्का तोडिएपछि नयाँ ठेक्काका लागि ५० लाख बजेट दिएको हो । यो सुदूरपश्चिम सरकारको प्रदेश गौरबको योजना हो ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरले ठेक्का तोडिएपछि ५ करोड बजेट माग गरेको थियो । माग अनुसार न्यून बजेट आएपछि पूर्वाधार विकास कार्यालय अन्यौलमा परेको छ ।
‘ठेक्का तोडिएपछि नयाँ ठेक्का लगाउनु पर्ने हुन्छ, त्यसका लागि माग अनुसार बजेट आएन, अब के गर्ने नगर्ने अहिले केही भन्न सकिँदैन’ पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख पदम मडैले भने ।
दैजी जोगबुडा सडक अन्र्तगत दैजी चोकदेखि लिफ्नासम्म १३ किलोमिटर छ । त्यसमध्ये बेदकोट तालमाथि एक किलोमिटरमा सडक डिभिजनले ठेक्का लगाएर काम सुरु गरि सकेको छ ।
पूर्वाधार विकास कार्यालयका प्राविधिकहरु पहाडी क्षेत्रमा एक किलोमिटर सडक कालोपत्रे गर्न तीन करोडसम्म खर्च लाग्ने बताउँछन् ।
त्यस बाहेक अन्य सडकमा कालोपत्रे, नाली र पर्खाल निर्माणका कार्य गर्न यस वर्ष नयाँ ठेक्का लगाउने तयारी गरिएको थियो ।
२०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण पूरा गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
२०७६ सडक डिभिजनले पूर्वाधार विकास कार्यालयलाई ठेक्का हस्तान्तरण गरेपछि प्रदेश गौरबको योजना घोषणा गरिएको थियो ।
झण्डै १० वर्षसम्म निर्माण पूरा नभए पनि १८ करोड ३६ लाख रकम भुक्तानी भइ सकेको छ ।
२०८२ असार २० गते पाँचौ पटक ठेक्काको म्याद थप भएको थियो । पाँचौ पटक थपिएको म्यादभित्र पनि काम हुन नसकेपछि ठेक्का तोडिएको थियो ।

ठेकेदार कम्पनीका सञ्चालक ईश्वरी भट्टको निधन भएपछि निर्माण कार्यमा झन समस्या देखिएको थियो । पूर्वाधार विकास कार्यालयले दैजी लिफ्ना सहित अलपत्र २५ ठेक्का एकै साथ तोड्न सूचना जारी गरेको थियो ।
सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम ठेक्का अन्त्य गर्न सकिने कानुनी व्यवस्था छन् ।
दैजी जोगबुडा सडकको डडेल्धुरा क्षेत्रमा भने कालोपत्रे काम अघि बढेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट जोगबुडा सहित प्रदेश निर्वाचन क्षेत्रबाट साँसद भएका हुन् ।
भट्ट नेतृत्वको सरकारमा बेदकोट नगरपालिका १० का ओमबिक्रम भाट भौतिक पूर्वाधार विकास मन्त्री छन् । दैजी लिफ्ना सडक बेदकोट ३ र ४ नम्बर वडा भएर डडेल्धुरा सीमा पुगेको छ ।
मन्त्री भाटको निर्वाचन क्षेत्र कञ्चनपुर २ क हो । यसमा कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाका पर्छ । दैजी जोगबुडा सडकलाई सुदूरपश्चिमका पहाडी जिल्ला जोड्न छोटो बाटोका रुपमा समेत हेरिँदै आएको छ ।
ठेक्का सम्झौता भएपछि हालसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्र भएकोमा अधिकाँश भाग भत्किएर क्षतिग्रस्त भएको छ । अघिल्लो आर्थिक वर्षमा काम हुन नसकेपछि एक करोड फ्रिज भएको थियो ।
पञ्चायतकालमा सडक निर्माण सुरु गरिएकोमा हालसम्म कालोपत्रे हुन सकेको छैन ।
‘पञ्चायतकालमा सुरु भएको सडक अहिलेसम्म पनि निर्माण हुन सकेको छैन”, वेदकोट नगरपालिकाका स्थानीय केशव बोहराले भने, “यो सडक निर्माण नहुँदा हामीले धेरै दुःख पाएका छौ , हिउँदमा धुलाम्य हुन्छ बर्सातमा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ ।”
डडेल्धुराको जोगबुढासम्म ३१ किलोमिटर सडक छ । सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा पठान सिह बोहराले डडेल्धुरा खण्डमा कालोपत्रे सुरु गराएका थिए ।
स्थानीयका अनुुसार दैजीदे िखजोगबुडासम्म सडकमा डेढ सय किलोमिटर घुमाउरो बाटा छन् ।
बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले ट्रयाक खुलेको लामो समयदेखि दैजी–जोगबुढा सडक बन्न नसकेको बताए ।
“पञ्चायतको अन्ततिर २०४६ सालतिर ट्रयाक खुलेको हो”, नगर प्रमुख बोहराले भने, “तर सडक निर्माणकै अवस्थामा छ ।” उनले केही वर्षअघि सडक गायतका अन्य संरचना पहिरोले भत्किएको बताए ।
