
प्रदेश सरकारको निर्देशन लत्याउँदै महाकालीका छात्रबृत्ति करार चिकित्सकले बाहिर काम गर्दै आएको गुनासो, अस्पतालका मेसु भन्छन्– कसैलाई पनि अनुमति दिएको छैन

महेन्द्रनगर । सुदूरपश्चिम सरकारले तीन महिना अघि दिएको निर्देशन विपरित महाकाली प्रादेशिक अस्पतालका छात्रबृत्ति करारका चिकित्सकहरु अस्पताल बाहिर काम गरेको गुनासा आएका छन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत साउन २६ गते सुदूरपश्चिमका सबै जिल्ला अस्पतामा परिपत्र गर्दै सरकारी अस्पतालका छात्रबृत्ति करार चिकित्सकलाई निजी अस्पताल, क्लिनिक, नर्सिङ्ग होम र अन्य निजी स्वास्थ्य संस्थामा काम गर्न रोक्न निर्देशन दिएको थियो ।
मन्त्रालयले छात्रबृत्ति चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७२ अनुसार चिकित्सक वा स्वास्थ्यकर्मीले सरकारी बाहेक अन्यत्र काम गर्न पाउने व्यवस्था नभएकाले मन्त्रालयले अस्पतालहरुमा पाँच बुँदे निर्देशन दिएको थियो ।
महेन्द्रनगरस्थित एक निजी स्वास्थ्य संस्थाका चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा महाकाली अस्पतालका छात्रबृत्ति करारका केही चिकित्सकले निजी संस्थामा काम गरि रहेको बताए ।
‘मन्त्रालयको निर्देशन आएपछि उता धनगढीतिर यो बन्द भएको छ, यता महाकालीका चिकित्सकले काम गरि रहेका छन्,’ उनले भने,‘सात आठ जना जति बाहिर काम गर्छन् भन्ने सुनिन्छ, अस्पतालले हेर्न पर्ने हो नि ।’
महाकाली प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीले अस्पतालमा कार्यरत छात्रबृत्ति करारका कुनै पनि चिकित्सकलाई अस्पताल बाहिर काम गर्ने अनुमति नदिएको बताए ।
‘यो कानुनमा छ, मन्त्रालयको निर्देशन पनि आएको छ, अस्पतालबाट कसैलाई पनि बाहिर काम गर्ने अनुमति दिएको छैन’ उनले भने,‘अनुमति नलिई कसैले काम गरि रहनु भएको छ भने त्यो अस्पताललाई थाह भएन ।’
डा. जोशीले अस्पतालको अनुमति नलिई चिकित्सकलाई काम लगाउने स्वास्थ्य संस्थालाई समेत कारवाही हुने बताए ।
‘स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थालाई अनुमति दिन्छ, स्वास्थ्य संस्था कानुन अनुसार चलेको छ छैन भने अनुगमन गर्ने पर्ने हो’ उनले भने ।
अस्पालका स्थायी सेवाका चार जना चिकित्सकले भने नियम अनुसार बाहिर काम गर्ने अनुमति लिएको डा. जोशीले बताए ।
अस्पतालमा हाल ४५ जना चिकित्सक कार्यरत छन् । उनीहरुमध्ये १० देखि १२ चिकित्सक छात्रबृत्ति करारका छन् ।

छात्रबृत्ति करारमध्ये केही चिकित्सक महेन्द्रनगर बजारका निजी क्लिनिकमा काम गर्ने गरेको गुनासा आएका हुन् ।
‘अस्पताले कानुनले मिल्ने तीन चार जना छन् होला अनुमति लिएर बाहिर काम गर्ने’ अस्पताल प्रमुख जोशीले भने, ‘यदि कसैले अनुमति नलिई काम लगाउँछ भने त्यो राख्नेलाई पनि कार्वाही गर्ने हुन्छ ।’
स्वास्थ्य कार्यालय कञ्चनपुरले अस्पतालका चिकित्सक निजी स्वास्थ्य संस्थामा काम गर्ने नगर्ने जानकारी नभएको बताएको छ ।
‘मन्त्रालयको निर्देशन आएको छ, अस्पतालमा पनि आएको होला, निर्देशन विपरित काम गरेको छ छैन भनेर हामी कहाँ जानकारी आउने गरेको छैन’ कार्यालयका एक अधिकारीले भने ।
अस्पतालका चिकित्सक बाहिर जान नदिई केही समयपछि अस्पतालमा विस्तारित सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।
अस्पतालमा विगतदेखि विस्तारित सेवा सञ्चालनमा थियो । सरकारले कार्यालय समय विहान ९ देखि ५ बजे बनाएपछि अस्पतालको विस्तारित सेवा बन्द हुन पुगेको थियो ।
अहिले फेरि त्यहीं विस्तारित सेवा सञ्चालन गर्ने तयारी गरिएको हो । अस्पतालले साँझ ५ बजेपछि सेवा सुरु गर्ने तयारी गरेको छ ।
‘अहिले ९ देखि ५ बजेसम्म नियमित सेवा हुँदै आएको छ, अब ५ बजेपछि एचएस सेवा सुरु गर्ने तयारीमा छौ’ उनले भने, ‘त्यो सेवा सुरु भएपछि डाक्टरहरु यतै बिजी हुन्छन्, त्यसले पनि बाहिर जान सक्दैनन् ।’
महाकाली अस्पतालमा हाल छाला र मानसिक बाहेक अन्य सबै रोगका चिकित्सक कार्यरत छन् ।
सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षमा बजेट कटौती गरेपछि अस्पतालमा सञ्चालित आमा सुरक्षा लगायतका कार्यक्रम समस्यामा परेका छन् ।

