

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रमेश प्रसाईंले रास्वपालाई पाँच वर्ष काम गर्ने अवसर दिए देश परिवर्तन गरेर देखाउने दाबी गरेका छन् । कैलालीको धनगढीमा आइतबार बेलुका आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस निर्वाचनमार्फत रास्वपालाई परीक्षण गर्ने अवसर दिन मतदातासँग आग्रह गरे ।
‘एक पटक पाँच वर्षका लागि हामीलाई परीक्षण गर्नुस् । पाँच वर्षसम्म हेर्नुस्, काम गर्न सकेनौँ भने फेरिदिनुस्,’ उनले भने, ‘विभेदरहित समाज र समुन्नत राष्ट्र चाहनुहुन्छ भने रास्वपालाई मत दिनुस् ।’ जेन–जी आन्दोलनका सहिदहरूको सपना साकार पार्न र देश परिवर्तन गर्न रास्वपाको जित आवश्यक रहेको उनको भनाइ थियो ।
रास्वपाले सरकार बनाउने अवसर पाए देशका सबै ठुला भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गरिने प्रसाईंले बताए। ‘४० वर्ष यतिका सबै काण्डको निष्पक्ष छानबिन गराउनुछ। अख्तियार र अदालतजस्ता निकायलाई दलतन्त्रबाट मुक्त गर्नुपर्छ,’ उनले भने। देश परिवर्तनका लागि रास्वपाको पक्षमा देखिएको लहर कसैले रोक्न नसक्ने उनको दाबी थियो।
धनगढी सचेत सहर भएको उल्लेख गर्दै उनले यसपटक यो सहरले परिवर्तन रोज्ने विश्वास व्यक्त गरे। ‘मेरो झापा त जागिसक्यो, झापाका पाँचै क्षेत्रमा घण्टी बज्दै छ,’ उनले भने, ‘गोपी दाइको धनगढी जाग्यो कि जागेन? मेरो झापा परिवर्तनको लडाईंमा हाम फालिसक्यो, गोपी हमालको धनगढी हाम फाल्यो कि फालेन भनेर सोध्न आएको हुँ।’
धनगढी पर्ने कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाबाट आनन्दबहादुर चन्द उम्मेदवार छन्। धनगढीमा कुनै पार्टीले ढुंगा उठाए पनि जित्छ भन्ने भाष्यलाई यहाँका मतदाताले स्थानीय निर्वाचनमै गलत सावित गरिसकेको प्रसाईंको भनाइ थियो।
पुराना दलहरूजस्तो रास्वपाले एउटै मुद्दालाई वर्षौँसम्म चुनावी एजेन्डा नबनाउने उनले बताए । ‘फाप्ला स्टेडियम र गेटा मेडिकल कलेजलाई हामीले उनीहरूजस्तो २९औँ वर्ष भजाउँदैनौँ,’ उनले भने, ‘रास्वपालाई एकपटक परीक्षणका लागि मतदान गर्नुस् ।’
कांग्रेस–एमालेलाई भोट हाल्नु भनेको जेन–जी आन्दोलनमा भएको नरसंहारलाई अनुमोदन गर्नुजस्तै हुने उनको आरोप थियो। आफ्ना एजेन्डा कमजोर भएपछि पुराना दलहरूले रास्वपाविरुद्ध भ्रम फैलाएको उनले दाबी गरे ।

‘हामीलाई विदेशीबाट परिचालित भनिएको छ । यो देशमा एमसिसी कसले पास ग¥यो? एमसिसी पास हुँदैगर्दा विरोध गर्नेहरू अहिले हामीलाई विदेशीबाट परिचालित भन्छन्,’ उनले भने ।
रास्वपाबाट कैलाली–५ का उम्मेदवार आनन्दबहादुर चन्दले पनि देश परिवर्तनका लागि यसपटकको निर्वाचनमा मत परिवर्तन गर्न आग्रह गरे । ‘देशलाई समुन्नत बनाउन, थिति बसाल्न र सुशासन कायम गर्न विवेक प्रयोग गर्न, मन परिवर्तन गर्न, मत परिवर्तन गर्न र नेता परिवर्तन गर्न आवश्यक छ,’ उनले भने ।
केही वर्षमै धनगढी मात्र नभई देशलाई उचाइमा पु¥याउने लक्ष्यसहित आफूहरू चुनावमा आएको चन्दले बताए । ‘नेपालको शिक्षा, रोजगारीलगायत हरेक क्षेत्रमा कहालीलाग्दो अवस्था छ । त्यसैले परिवर्तन अपरिहार्य छ,’ उनले भने ।
हालको निर्वाचनलाई इतिहास बनाउन सक्ने अवसरका रूपमा लिन उनले मतदातालाई आग्रह गरे । ‘यो निर्वाचन सामान्य मात्र होइन, देश परिवर्तन गर्ने इतिहास बन्न सक्छ। त्यसैले आफ्नो र भविष्यका लागि मतदान गरौँ,’ चन्दले भने ।
