

महेन्द्रनगर । रेडियन्ट माध्यमिक विद्यालयले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिर पुगेर अवलोकन गरेका छन् । विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी बाहिरी वातावरणसँग घुलमिल गराउने र व्यावहारिक सिकाइको अवसर प्रदान गर्ने उद्देश्यले भ्रमण गराइएको छ ।

भ्रमणका क्रममा मन्दिरका पुजारी भोजराज पन्तले विद्यार्थीहरूलाई सिद्धनाथ मन्दिरको प्राचीन इतिहास, यसको उत्पत्ति, मूल पुजारी र पूर्णागिरीको दर्शनसँग जोडिएको यस क्षेत्रको धार्मिक गरिमाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराए ।

विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर चन्दले “विद्यार्थीहरूमा सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक र सामाजिक चेतनाको विकास हुन जरुरी रहेकाले स्थानीय स्तरमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरूको प्रत्यक्ष जानकारी दिनका लागि स्थलगत भ्रमण गराइएको बताए ।
विद्यालयकी कक्षा १० की छात्रा मेधा थापाले किताबी ज्ञानमा मात्रै सिमित नभई प्रत्यक्ष रूपमा हेर्न र बुझ्न पाउँदा सिकाइ अझ प्रभावकारी र दिगो हुने बताउँदै आगामी दिनमा पनि विद्यालयले यस्ता रचनात्मक क्रियाकलापहरू समय–समयमा आयोजना गर्न पर्नेमा जोड दिइन् ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक लोकेन्द्र भट्ट र शिक्षक रोशन भट्टको नेतृत्वमा सम्पन्न भएको उक्त शैक्षिक तथा धार्मिक अवलोकन भ्रमणमा कक्षा ९ र १० का गरी जम्मा ५० जना विद्यार्थी सहभागी भए ।

