

महेन्द्रनगर । काठमाडौंको खुला मञ्चमा काँग्रेस महाधिवेशन उद्घाटन भएको छ । काँग्रेस सभापति गगन थापाले अधिवेशन उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकरर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ , पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायत सहभागी भएका छन् ।
महाधिवेशनमा करिब ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुने छन् । कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए।
त्यसबेला प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो । यसपटक भने प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले प्रतिनिधि आउने व्यवस्था गरिएको छ ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा अघिल्लो महाधिवेशनको तुलनामा प्रतिनिधिको संख्या उल्लेख्य रूपमा बढ्ने भएको छ। असोज १९ र २० गते खुलामञ्चमै बन्दसत्र चल्नेछ ।

त्यसपछि निर्वाचन कार्यक्रम अघि बढ्नेछ। असोज २१ र २२ गते निर्वाचन हुनेछ।
निर्वाचनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र केन्द्रीय सदस्य आउनेछन्। निर्वाचनका लागि काठमाडौंका ७ ठाउँमा मतदान केन्द्र तोक्ने तयारी छ। सात प्रदेशका लागि बेग्लाबेग्लै स्थान रहने गरी, एक केन्द्रमा १ हजार मतदाताले मत हाल्न मिल्ने गरी व्यवस्थापन मिलाउने तयारी छ।
विद्युतीय मेसिनबाट मतदान हुने छैन । एक जना महाधिवेशन प्रतिनिधिलाई मत दिन कम्तीमा ५० मिनेट लाग्न सक्ने आकलन छ।
केन्द्रीय समितिमा पछि सभापतिले समावेशी सिद्धान्तका आधारमा ६१ जना मनोनीत गर्नेछन्।
केन्द्रीय सदस्यमध्येबाट एक कोषाध्यक्ष र तीन सहमहामन्त्री मनोनीत गर्ने व्यवस्था छ । नयाँ विधानअनुसार प्रदेश सभापतिहरू पनि स्वतः केन्द्रीय सदस्य रहनेछन् र २३१ सदस्यीय कार्यसमिति बन्नेछ ।
विगतमा १६८ सदस्यीय कार्यसमिति थियो।
