

महेन्द्रनगर । अखिल नेपाल शिक्षक संगठनको आठौँ राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेशको कपिलवस्तु बाणगंगा नगरपालिका–१ स्थित सिद्धार्थ क्याम्पसमा सुरु भएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष लछीराम शर्मा ढकालको अध्यक्षतामा सुुरु महाधिवेशनको उद्घाटन वरिष्ठ अधिवक्ता एकराज भण्डारीले गरेका छन् । उद्घाटन कार्यक्रममा आठ ओटा दीप बालिएको छ ।
संगठनका महासचिव मदनराज जोशीले सञ्चालन गरेको कार्यक्रममा प्रथम शिक्षक सहिद टंक भुषालकी धर्मपत्निज सरस्वती भुषाल विशिष्ठ अतिथि थिइन् ।
संगठनका पूर्व अध्यक्ष एवं सल्लाहकार घनश्याम पाठक सहित विभिन्न शिक्षक तथा कर्मचारीका पेशागत संगठनका नेता, संगठनका केन्द्रीय पदाधिकारी तथा सदस्य सहभागी भएका छन् ।

शिक्षक एकता, पेसागत अधिकार, संगठनात्मक सुदृढीकरण र शैक्षिक रूपारिएतरणको साझा सङ्कल्पसहित आयोजित महाधिवेशनको पहिलो दिनको उद्घाटन समारोह उत्साहपूर्ण भएको संगठनका कञ्चनपुर अध्यक्ष पुष्पमणी जोशीले बताए ।
दुई दिनसम्म सञ्चालन हुने यस राष्ट्रिय महाधिवेशनमा शिक्षकहरूको पेसागत हकहित तथा अधिकारको संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि, संगठनात्मक सुदृढीकरण, शिक्षक एकता र समग्र सार्वजनिक शिक्षाको रूपान्तरणका विषयमा गहन छलफल गर्ने बताइएको छ ।
वर्तमान शैक्षिक नीति, शिक्षकहरूले भोग्दै आएका पेसागत समस्या तथा चुनौती, सेवा–सुविधा, पेसागत सुरक्षा, सम्मानजनक भविष्य निर्माण तथा संगठनको आगामी कार्यदिशाका विषयमा समेत महत्त्वपूर्ण बहस र निर्णय हुने विश्वास गरिएको छ ।
महाधिवेशनको उद्घाटन सम्पन्न हुनु एउटा महत्त्वपूर्ण उपलब्धि हो, तर यसको वास्तविक सार्थकता शिक्षकका समस्या समाधान, पेसागत अधिकारको सुनिश्चितता र सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि तय गरिने ठोस कार्यदिशामा निर्भर रहनेछ ।
देशभरिका शिक्षक प्रतिनिधिहरूको सहभागिताले संगठनात्मक एकता, सामूहिक प्रतिबद्धता र शैक्षिक परिवर्तनप्रतिको विश्वासलाई थप बलियो बनाएको छ ।
भोलिसम्म जारी रहने महाधिवेशनले शिक्षक आन्दोलनलाई नयाँ ऊर्जा, संगठनलाई स्पष्ट दिशा र सार्वजनिक शिक्षा सुधारको अभियानलाई थप गति प्रदान गर्ने अपेक्षा गरिएको छ।
